coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सागको तयारी अझै अपूर्ण, खेल सामाग्री पनि बाटोमै

काठमाडौं - घरेलु मैदानमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना नजिकिँदै गर्दा पनि आयोजक नेपाल आफ्नो सम्पूर्ण तयारी पूरा भएको सन्देश दिन असफल भएको छ।

करिब २० वर्षपछि  सागको १३औं संस्करण आयोजना आँगनमै आइसकेको छ। यद्यपि, आयोजक राष्ट्र नेपालले अझै तयारी पूर्ण गर्न सकिरहेको छैन। आगामी मंसिर १५ देखि २४ गतेसम्म नेपालका तीन सहर काठमाडौं, पोखरा र जनकपुरमा १३औं साग हुँदै छ। जसको उद्घाटन नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला दशरथ रंगशाला हुनेछ।

तर, उक्त रंगशालाको पुनर्निर्माण अभैm पनि सम्पन्न हुन सकेको छैन। भौतिक संरचना मात्र नभई खेल सञ्चालन गर्नका लागि आवश्यक पर्ने सामग्री पनि पूर्ण रूपमा नेपाल आइसकेको छैन। आयोजना हुन १५ दिन मात्र बाँकी रहँदा शनिबार १३औं साग मूल आयोजक समितिले पहिलो पटक पत्रकार सम्मेलन आयोजना ग-यो।

आफ्ना पुनर्निर्माणको काम सम्पन्न नभएकाले पनि होला, १३औं साग मूल आयोजक समितिले पत्रकार सम्मेलनलाई १३औं सागको काउन्ट डाउन (दिन गन्ती) र आधिकारिक वेब साइट (नेपाली र इङ्लिस भाषा) सार्वजनिकमा केन्द्रित गरेको थियो। बृहत् र गौरवशाली खेलकुद महोत्सव आयोजनामा दुई हप्ता मात्र बाँकी छँदा आयोजकले आफ्नो तयारी अन्तिम चरणमा पुगेको यथार्थता प्रस्तुत गर्न सक्नुपर्दथ्यो।

तर, १३औं साग मूल आयोजक समितिका संयोजकसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले संरचना पुनर्निर्माण, खेलस्थल निर्माण सम्पन्न नभइसकेको र आवश्यक खेल सामग्रीको आयात अभैm प्रक्रियामै रहेको तयारी प्रस्तुत गरेका थिए। उपस्थित पत्रकारका अधिकांश प्रश्नलाई ठट्यौली पारामै जबाफ फर्काएका सदस्यसचिव सिलवालले सबै पुनर्निर्माण मंसिर ७ देखि १० गतेभित्र सम्पन्न हुने दाबी गरेका छन्।

यद्यपि, १३औं साग आयोजनाको उद्घाटन स्थल दशरथ रंगशालाको भिआइपी प्यारापिटको छानो हाल्ने र मूल गेट वरपर निर्माण हुन बाँकी छ। साथै पोखरा रंगशाला र सातदोबाटोको पौडी पोखरी र पोखराका केही खेलस्थल अभैm निर्माणकै क्रममा छन्। तथापि राखेप सदस्यसचिव सिलवालले एक हप्ताभित्र निर्माणको अन्तिम तयारीमा पुग्ने दाबी गरे।

‘दशरथ रंगशालाको भिआइपी प्यारापिटको एक हप्ताभित्र छानो हाल्ने काम हुन्छ। पोखरा रंगशालाको पनि मंसिर १० गतेभित्र १० हजार दर्शक क्षमता सम्पन्न गर्ने लक्ष्य राखेका छौं,’ राखेपका सदस्यसचिव सिलावलले भने,‘ट्य्राक र फिल्डका काम पनि अबको सात दिनभित्र सम्पन्न गर्नेछौं। उद्घाटन हुने स्थान र खेल आयोजना स्थलको सरसफाइ र हरियाली बनाउने काम पनि छिट्टै हुनेछ।’

सम्मेलनमा पत्रकारले खेलाडीहरू घरेलु मैदानको खेलस्थल र खेलसामग्रीमा अभ्यस्त हुन नपाएको गुनासा आइरहेको प्रश्न गर्दा सिलवालले ठट्यौली पारा खेलाडीलाई खेल सामग्री नयाँ नहुने पनि दाबी गर्न भ्याए। उनले एक हप्ताभित्र सम्पूर्ण खेलसामग्री आइपुग्ने दाबी गरेका छन्। यस पटक सागमा २७ खेल आयोजना हुने भनिए पनि अन्तिम समयतिर प्याराग्लाइडिङको हुनेमा द्विविधा सिर्जना भएको थियो।

जुन द्विविधा दुई हप्ता बाँकी छँदा पनि यथावत् नै छ। यद्यपि, केही हप्ताअगाडि मात्र सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिल प्राविधिक बैठकमा आयोजक नेपालले प्याराग्लाइडिङमा सहभागी हुँदा लाग्ने हवाई र बसोबास खर्च आफूले बेहोर्ने सहभागी राष्ट्रलाई प्रस्ताव गरेको थियो। उक्त बैठकपश्चात् नेपालले प्याराग्लाइडिङको प्रतिस्पर्धाको बाटो बन्द नभइसकेको प्रस्ट्याएको थियो।

शनिबार भएको पत्रकार सम्मेलनमा पनि नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले केही राष्ट्रलाई सहभागी गराउन पहल भइरहेको र नोभेम्बर २० सम्म त्यसको निर्णय आउन सक्ने बताएका छन्। साथै सागमा क्रिकेटका महारथी पाकिस्तान र भारतको सहभागिता गराउने प्रयास पनि भइरहेको एनओसीका अध्यक्ष श्रेष्ठको भनाइ छ।

शनिबार राखेपका सदस्यसचिव सिलवालले सागको वेभसाइटको उद्घाटन गर्दै  अफिसियल प्रोमोसमेत सार्वजनिक गरेका थिए। प्रोमोमा एउटा परेवाले सातै राष्ट्रका ऐतिहासिक स्थल परिक्रमा गर्दै सन्देश पु¥याएर नेपाल फर्किएको देखाइएको छ। सोही सदस्यसचिव सिलवालले एक सर्वेक्षणमार्फत नेपालले कम्तीमा ५० स्वर्ण जित्ने दाबीसहित आठौं सागको सर्वाधिक ३१ स्वर्णको कीर्तिमान तोड्ने दाबी गरेका छन्।

‘हाम्रो तयारी राम्रो छ। परिणाम राम्रो आउँछ। आठौंमा ३१ स्वर्ण पदक जितेका थियौं,’ राखेपका सदस्यसचिव सिलवालले भने, ‘सर्वेक्षण गर्दा यस पटक न्यूनतम ५० स्वर्ण जित्ने हाम्रो लक्ष्य छ।’ सागको उद्घाटन समारोह ३ घण्टा १४ मिनेटको हुने भएको छ। जसमा १५ हजार मानिसले दशरथ रंगशालामा उद्घाटन समारोह प्रत्यक्ष हेर्न पाउनेछन्। पुरुष फुटबल खेलबाट सागका प्रतिस्पर्धा सुरु हुनेछन्।

सागअन्तर्गत काठमाडौंमा १८ खेल, पोखरामा ९ र जनकपुरमा कुस्तीको प्रतिस्पर्धा हुनेछ। सागको यस संस्करणमा ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ कांस्यसहित कुल १ हजार १ सय ३५ पदकका लागि सात राष्ट्रका ३ हजार २ सय ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। यद्यपि, आगामी नोभेम्बर २० सम्म खेल दर्ताको समय रहेकाले खेलाडी संख्या बढ्ने पनि सक्नेछ।

नेपाल सरकारबाट १३औं साग आयोजनाका लागि करिब साढे ४ अर्ब रुपैयाँको बजेट निकासा भएको छ। जसमा पूर्वाधार निर्माणको निम्ति १ अर्ब ६२ करोड तथा प्रतियोगिता आयोजनाको निम्ति ३ अर्ब ६५ करोड बजेट छ। आवश्यक थप बजेटका निम्ति सरकारले प्रतिबद्वता व्यक्त गरेको पनि बताइएको छ।

आफ्ना पुनर्निर्माणको काम सम्पन्न नभएकाले पनि होला, १३औं साग मूल आयोजक समितिले पत्रकार सम्मेलनलाई १३औं सागको काउन्ट डाउन (दिन गन्ती) र आधिकारिक वेब साइट (नेपाली र इङ्लिस भाषा) सार्वजनिकमा केन्द्रित गरेको थियो।

प्रकाशित: १ मंसिर २०७६ ०४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App