coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

‘नेपाली समाज खुला र स्वतन्त्र हुन आवश्यक’

ललितपुर – फिल्म साउथ एसियाको तेस्रो दिन आयोजित ‘लिवर्टी एन्ड द स्पिरिट अफ साउथ एसिया’ नामक छलफलमा सहभागी वक्ताहरुले दक्षिण एसियामा स्वतन्त्र बहसको निम्ति मानिसहरुको चेतनाको स्तरमा बढ्नुपर्नेमा जोड दिएका छन्। शनिबार पाटनको यलमाया केन्द्रमा आयोजित छलफल कार्यक्रममा सहभागी वक्ताहरुले यस क्षेत्रको विकासमा जोड दिए।

छलफलमा सहभागी समाजशास्त्री हरि शर्माले दक्षिण एसियामा विकासको निम्ति बहसको दायरा फराकिलो हुनुपर्ने बताएका थिए। ‘दक्षिण एसियाका मानिसहरुले विकासको निम्ति बहस गर्नु आवश्यक रहेको छ। यसको निम्ति सबैले खुला रुपमा आ–आफ्नो धारणा राख्नुपर्छ। बहसको दायरा फराकिलो हुनु आवश्यक रहेको छ, ’ उनले भने, ‘काठमाडौं समावेशी र सामाजिक न्यायमाथि बहस गर्ने उदार स्थान बन्न सक्छ। दक्षिण एसियामा नेपाली समाजलाई खुला बनाउनु पर्छ।’

छलफलमा सहभागी अर्की वक्ता पाकिस्तानी फिल्म निर्मात्री आयशा गजदारले दक्षिण एसियाका मानिसको भोगाइ उस्तै भएपनि स्वतन्त्र बहसको निम्ति बोल्न मञ्च अभाव रहेको बताइन्। ‘दक्षिण एसियाका मानिसहरुको भोगाइ उस्तै खालका छन्। तर, उनीहरुको पीडालाई स्वतन्त्र रुपमा व्यक्त गर्ने मञ्च यो क्षेत्रमा अभाव रहेको छ। पाकिस्तानी महिलाहरु स्वतन्त्रता उपभोग गर्ने कल्पना पनि गर्दैनन्। पाकिस्तानका सडक, कार्यालय र सार्वजनिक स्थलहरूमा महिलाहरू भेटिदैनन्। तर, यहाँ महिलाहरु सामान्य रुपमा हिडेको देख्दा आनन्द महसुस हुने रहेछ,’ उनले भनिन्, ‘कराँची र इस्लामावादको तुलनामा काठमाडौं उत्रिएपछि स्वतन्त्र स्थानमा पुगेको महसुस गरेको थिएँ।’ राजनीतिक अवस्थाका कारण भारत र पाकिस्तानका मानिसहरुले छलफलको केन्द्रको रुपमा काठमाडौं वा कोलम्बो रोज्ने परेको तितो अनुभव सुनाएकी थिइन्। फिल्म साउथ एसियामा सहभागी उनी भारत–पाकिस्तानको हवाईमार्गमा बन्देजका कारण ओमान हुँदै नेपाल आउनुपरेको बताइन्।

छलफलमा सहभागी बंगलादेशी वक्ता अका रेजा गालिबले हातेमालोको अभ्यास नगरेसम्म यो क्षेत्रमा विकासको कल्पना गर्नु आवश्यक नरहेको बताए। ‘दक्षिण एसियामा रहेका मानिसहरुको चेतनाको स्तर बढाउन सबैले आत्मीय भावसहित हातेमालोको अभ्यास गर्नुपर्छ,’ उनले भने। सो कार्यक्रममा उनीहरुसहित भारतकी लक्ष्मीमूर्ति र टीका ढकालले बोलेका थिए।

फिल्म साउथ एसियाको तेस्रो दिन नेपाल, पाकिस्तान, भारत, भुटान र अफगानस्तानका डकुमेन्ट्रीहरु प्रदर्शन भएका थिए। सन् १९९७ देखि प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको चार दिने महोत्सव मंसिर १ सम्म चल्नेछ। ‘ह्वेयर द माइन्ड इज फ्रि’ नारासहित सुरु हुने महोत्सवमा ६३ डकुमेन्ट्रीहरु प्रदर्शन भइरहेका छन्। शनिबार अंकिता हस्करको ‘ घोडेको जलेबी खिलाने लया हूं’, ‘ग्रोइङ अफ इन लदाख’, ‘ट्याप्ड इन कतार’ र ‘फेसिङ द ड्राइगन’ लगायत डकुमेन्ट्रीहरु प्रदर्शन भएका थिए।

महोत्सवमा प्रदर्शन भइरहेका डकुमेन्ट्रीहरुले पाँच वटा पुरस्कारका लागि प्रतिस्पर्धा गर्दैछन्। उत्कृष्टले दुई हजार अमेरिकी डलरसहितको रामबहादुर ट्रफी प्राप्त गर्नेछ। रनरअप डकुमेन्ट्रीले एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ भने उत्कृष्ट डेब्यु निर्देशकको डकुमेन्ट्रीले एक हजार अमेरिकी डलरको तारेक मसुद पुरस्कार, बालबालिकाको विषय केन्द्रित उत्कृष्ट डकुमेन्ट्रीले एक हजार अमेरिकी डलरको युनिसेफ पुरस्कार र विद्यार्थीहरूले निर्माण गरेका मध्येको उत्कृष्ट डकुमेन्ट्रीले पाँच सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन्। पत्रकार कुन्द दीक्षित संयोजकत्वमा श्रीलंकाली निर्देशक सुमाथी शिवामोहन र भारतीय कलाकार आयशा अब्राहम सदस्य रहेको निर्णायक समितिले उत्कृष्ट डकुमेन्ट्रीहरू छनोट गर्नेछन्।

प्रकाशित: १ मंसिर २०७६ ०२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App