८ वैशाख २०८१ शनिबार
समाज

सोलारको सट्टा विद्युतीय बत्ती

भैरहवा - बेलहिया–बुटवल ६ लेन सडकमा विद्युतीय सडकबत्ती जडान हुँदैछ। सडकका केही भागमा जडान गरिएका सोलार बत्ती प्रभावकारी नभएपछि विद्युतीय बत्ती जडान सुरु भएको हो।

सौर्यबत्तीभन्दा सस्तो र भरपर्दो हुने भएकाले स्थानीय तहसँगको सहकार्यमा विद्युतीय बत्ती जडान सुरु गरिएको बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख जीवेन्द्र मिश्रले बताए। उनका अनुसार सौर्यबत्तीमा निश्चित समयमा ब्याट्री परिवर्तन गर्नुपर्ने, सोलार प्यानल सफा गर्नुपर्नेलगायत गर्नुुपर्छ। सोलार बत्तीको लागत बढी र उज्यालो पनि कम हुने भएकाले विद्युतीय बत्ती जडान गर्न लागिएको जानकारी मिश्रले दिए।

‘६ लेन सडकअन्तर्गत पहिलो चरणमा तिलोत्तमा नगरपालिका क्षेत्रभित्रका सडकमा स्थानीय सरकारले विद्युत् शुल्क तिर्ने गरी बत्ती जडान गर्न लागिएको छ। स्थानीय सरकारले विद्युत महसुल तिर्ने सम्झौता भइसकेको छ। तिलोत्तमा क्षेत्रमा पर्ने सडक ६ महिनाभित्र विद्युतीय बत्ती जडान सक्ने गरी काम भइरहेको छ। सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिकाले पनि सडका विद्युतीय बत्ती जडान गर्न महसुल तिर्ने सम्झौता गरिसकेका छन्। यसका लागि केही दिनभित्रै बोलपत्र आह्वान गर्ने तयारी छ,’ उनले भने।

तिलोत्तमा नगरपालिका क्षेत्रको करिब ९ किलोमिटर सडकमा विद्युतीय बत्ती जडान गर्न भ्याटबाहेक ३ करोड ५९ लाख ९२ हजार ३ सय ८१ रुपैयाँमा टेन्डर आह्वान गरी सम्झौता अनुरूप काम भइरहेको जानकारी इन्जिनियर अरुण खत्रीले दिए। १५ भदौमा सम्झौता भई ६ महिनामा काम सक्ने गरी नरेन्द्र पिएसएस जेभी काठमाडौंले ठेकका पाएको छ। ६ लेन सडकको प्रत्येक ३० मिटर दुरीमा १० मिटर उचाइका वाई आकार पोलमा दुवैतर्फ १ सय ५० वाटका विद्युतीय बत्ती जडान गरिनेछ। सडकका लागि उपयुक्त विशेष किसिमका एलइडी फ्लुड बत्ती मुख्य सडकमा जडान गरिनेछ भने सर्भिस रोडमा पहिले रहेका पोलमा फलामको एंगल लगाएर ४० वाटका साधारण एलइडी बत्ती जडान गरिने इन्जिनियर खत्रीले बताए।

६ लेन सडकका बत्ती ५ वर्षसम्म र सर्भिस रोडका बत्ती २ वर्षसम्म मर्मतसम्भार गर्ने काम निर्माण कम्पनीले नै गर्ने छ। त्यसपछि सडक हस्तान्तरण गर्ने निकायले नै मर्मतसम्भारको जिम्मा पाउने आयोजनाले जनाएको छ। नरेन्द्र पिएसएस जेभी कम्पनीका प्रतिनिधि राजन भट्टका अनुसार अहिले विद्युतीय तार वायरिङका लागि तिलोत्तमा क्षेत्रमा डिभाइडरमा पाइप बिछ्याउने काम भइरहेको छ। विद्युत् पोल राख्न बेसको सामान भारतबाट ल्याइने भएको छ। ‘लाइटको डिजाइन अन्तिम फेजमा छ, चाडपर्वको समय भएर तीव्र गतिमा काम गर्न सकेका छैनौं, तिहार सकिएलगत्तै सबै काम सुरु हुन्छ। हामीलाई दिएको समयभन्दा पहिले नै काम सम्पन्न गर्छौं,’ कम्पनीका प्रतिनिधि भट्टले भने।

करिब ढेड करोड रुपैया ँलागतमा २ वर्षअघि सडकमा जडित सौर्यबत्तीमा विविध समस्या देखिएकाले जडान भएका करिब १ हजार ५ सय स्वचालित सौर्यबत्ती अब मर्मतसम्भार नगरी प्रक्रिया पु¥याएर विद्युतीय बत्तीमा प्रतिस्थापन गर्ने आयोजनाले जनाएको छ। पहिलो चरणको काम सम्पन्न भएपछि जडित सोलार बत्तीको ठाउँमा विद्युतीय बत्ती प्रतिस्थापन गरिनेछ।

प्रकाशित: १ मंसिर २०७६ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App