सगरमाथाको उचाइ नाप्ने पूर्वविद्यार्थीलाई सम्मान

आइतबार, ०१ मङि्सर २०७६, ०७ : १९ मधुसुधन गुरागाईं

बनेपा - काठमाडौं विश्वविद्यालय (केयु)को सिभी रमण अडिटोरियम हल जिओम्याटिक्स इन्जिनियरिङका विद्यार्थी, सर्भेयर तालिम लिइरहेका प्रशिक्षार्थी र भूमि व्यवस्थापनका विज्ञले भरिभराउ थियो। केयु सिभिल इन्जिनियरिङ विभाग, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र र जिओम्याटिक इन्जिनियर्स सोसाइटीले आयोजना गरेको ‘नेपाल जिओम्याटिक्स मीट २०१९’ का मुख्य आकर्षण थिए, रविन कार्की।

कार्की उनै हुन्, जसले सगरमाथाको उचाइ मापन गर्ने नेपाली टोलीमा प्रमुख भूमिका निभाएका थिए। बाग्लुङ नगरपालिका–८, सिगानामा जन्मेका उनी केयुमा जिओम्याटिकका सन् २०१४ ब्याचको विद्यार्थी थिए। उनकै मुखबाट त्यो ऐतिहासिक क्षणलाई सुन्नका लागि दर्शक दीर्घामा आतुरता थियो। उद्घोषकले मञ्चमा बोलाएलगत्तै कार्कीले अनुभव सुनाउँदै गए, ‘वास्तवमा सगरमाथा भनेको त्यति सजिलो ठाउँ होइन रहेछ। धेरै तयारीका साथ त्यहाँँ जानु पर्ने रहेछ। जस्तो ः हामी सर्भेमा जाँदा एउटा पेन्सिल छुट्यो भने काम अधुरो हुन्छ। फिल्डमा आसपासमा पेन्सिल खोज्न सकिएला। तर, सगरमाथामा जाँदा एउटा सानो कुराको मिस्टेकले हाम्रो ज्यानै पनि जान सक्छ,’ उनले भने।

एक सय ७० वर्षअघि तत्कालीन सर्बे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८ सय ४८ मिटर भएको निष्कर्ष निकालेको थियो। अरूले नापिदिएको सगरमाथाको उचाइलाई हालसम्म नेपाल सरकारले आधिकारिक मान्दै आएको थियो। त्यसपछि पनि विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरक–फरक उचाइ निकालेका थिए। तर, त्यसले आधिकारिक मान्यता भने पाएको थिएन। २०७२ को विनासकारी भूकम्पपछि सगरमाथाको उचाइ बारेमा अनेकौं टीकाटिप्पणी हुन थालेपछि सरकारले नेपाली सर्भे इन्जिनियरबाटै नाप्न सकिने दृढतासाथ सगरमाथा उचाइ मापन कार्यक्रम सुरू भएको हो।

सगरमाथा मापनका लागि नापी विभागका मुख्य नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालको समूह अन्तर्राष्ट्रिय पर्वतारोहण गाइड छिरिङजङ्बु शेर्पासहित २०७५ चैत २६ गते काठमाडौँबाट प्रस्थान गरेको थियो। सो टोलीले २०७६ जेठ ८ गते बिहान ३ः१५ बजे काम सम्पन्न गरेको थियो। सगरमाथाको चुचुरो चुम्नमा प्रमुख नापी अधिकृत गौतम र अधिकृत कार्की सफल भएका थिए। यस्तै, सर्वेक्षक भण्डारी र अमिन धितालले आधार शिविरमै रहेर चुचरोमा लगिएका उपकरणको कनेक्सन गराउँदै उचाइ मापनमा आवश्यक पर्ने तथ्यांकको संकलनमा जुटेका थिए।

‘एकातिर सगरमाथा चढ्नु नै साह्रै कठिन काम थियो। अर्कातिर सगरमाथाको मापन गर्नु पाउनु राष्ट्रिय गौरवको कुरा पनि थियो। त्यसमा पनि हामीले चुचुरोमा धेरै समय बसेर प्राविधिक काम गर्नु पर्ने थियो,’ कार्कीले सगरमाथाको चुचुरोमा पुगेपछि दुई घण्टा बिताउँदाको क्षण स्मरण गर्दै थपे, ‘सामान्यतया मान्छे सगरमाथा चढ्छन्, त्यसको ‘टप’मा केहीछिन बसेर फोटो खिचाएर फर्कन्छन्। तर, हामीलाई चुनौती भनेकै ‘टप’मा बसेर सर्भे गर्नु थियो, तथ्यांक संकलन गर्नु थियो,’ उनले भने।

यस पटक विभागले भूउपग्रहको संकेतसँग सम्बन्ध स्थापित गर्ने ग्लोबल न्याभिगेसन स्याटलाइट सिस्टम (जीएनएसएस) उपकरणलाई प्रयोगमा ल्याएको उनको भनाई छ, ‘हामीले एक घण्टा १६ मिनेटको जिएनएसएस तथ्यांक लियौं। उपकरण सेटअप गर्न र तथ्यांक लिन करिब २ घण्टा लाग्यो। त्यतिबेला चुचुरोका तापक्रम माइनस ४३ डिग्री सेन्टिग्रेट थियो। त्यो तापक्रममा २ घण्टा बिताउनु भनेको चानचुने कुरा थिएन,’ कार्कीले थपे।

हाल भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक रहेका गणेश भट्ट तत्कालीन नापी विभागको महानिर्देशक एवं सगरमाथा मापन कार्यक्रमको स्टेयरिङ कमिटीका अध्यक्ष थिए। सगरमाथा प्रस्थान गर्ने टोलीलाई उनले पशुपतिनाथको प्रसाद र शिवनामी खादाले बिदाइ गरेका थिए, ‘बिदाइका क्रममा भट्ट सरले पशुपतिनाथको प्रसाद र शिवनामी खादा दिनुभएको थियो। त्यो पनि बोकेरै सगरमाथाको चुचुरो चुम्न सफल भएँ। ‘केयुमा मैले सिकेको ज्ञान र सीपलाई विषम परिस्थिति र अप्ठयारो ठाउँमा समेत कुशलतापूर्वक प्रयोग गर्न सकेँ। एउटा पूर्वविद्यार्थी र हालको राष्ट्रसेवकलाई योभन्दा गौरवको क्षण अर्को के नै होला र ?’ कार्कीले खुसी व्यक्त गर्दै भने।

सगरमाथा मापन टोलीले ल्याएको डेटा र अन्य विवरणको आधारमा सरकारले सगरमाथाको नयाँ उचाइ बारेमा अझैसम्म सार्वजनिक घोषणा गरेको छैन। भट्ट भन्छन्, ‘नापी विभागको टोलीले सगरमाथाको चुचरोदेखि मुलुकको धेरै भूभागहरूबाट संकलन गरेका तथ्यांकको परिशुद्ध संगणनापश्चात अन्तर्राष्ट्रियस्तरबाट समेत मान्य हुने उचाइको घोषणाका लागि अझै केही समय प्रतीक्षा गर्नुपर्ने हुन्छ,’ उनले थपे।

सगरमाथाको उचाइ मापनलगायत भूमि व्यवस्थापनसम्बन्धी जटिल र कठिन काम गर्न सक्षम जनशक्ति यतिखेर नेपालमै तयार हुन थालेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरीबी मन्त्रालय, नापी विभाग र भूमि व्यवस्था प्रशिक्षण केन्द्र तथा काठमाडौं विश्वविद्यालयको सहकार्यमा धुलिखेलमा जियोम्याटिक इन्जिनियरिङमा स्नातक तह, भूमि प्रशासनमा स्नातकोत्तर तहसम्मको पढाइ हुँदै आइरहेको भट्टको भनाइ छ। उनले भने, ‘अब भूमि व्यवस्थापनमा विद्यावारिधिसम्मको पढाइका लागि गृहकार्य गरिरहेका छौं। ताकि यी शैक्षिक जनशक्तिले राष्ट्रिय गौरवका लागि अझ धेरै काम गर्न सक्ने क्षमता राख्न सकून,’ उनले थपे।

केयुका उपकुलपति प्रा. डा. रामकण्ठ माकजु श्रेष्ठले पूर्व विद्यार्थी कार्कीलाई सम्मान गर्दै केयुले अघि सारेको ‘क्याम्पस टु कम्युनिटी’ अवधारणालाई सगरमाथा मापनले प्रमाणित गरिदिएको उल्लेख गरे। उनले भने, ‘हाम्रा विद्यार्थी उच्च शिक्षा पाएलगत्तै विदेश उडिहालून भन्ने हाम्रो चाहना होइन। आफूले सिकेको ज्ञान र सीपलाई समुदायको हितमा प्रयोग गर्नू भनी हामीले दिएको दीक्षाको अत्युत्तम उदाहरण कार्कीले देखाएका छन्। नेपालीले नै नेपालको सगरमाथा मापन गर्न हाम्रो विद्यार्थी सफल भए। योभन्दा ठूलो गुरू दक्षिणा हामीलाई अरू के होला र,’ उनले थपे।








यसमा तपाईको मत

अन्य समाचार

पोर्ट नै नभएको आइफोन आउँदै !

पोर्ट नै नभएको आइफोन आउँदै !

विश्लेषक मिंगसी कुओका अनुसार सन् २०२१ मा रिलिज हुने आइफोनमा कुनै पनि पोर्ट हुने छैन! ...

पल्सर डेयर भेन्चरले भोलि रंगशाला  सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि रंगशाला सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि हुने नेपाल र भुटानबीचको फाइनल खेल समापन पश्चात स्टेडियम सफा गर्ने जनाएको छ। ...

लिखु–एको भूमिगत काम सम्पन्न

लिखु–एको भूमिगत काम सम्पन्न

एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...

मेडिकल एन्ड ल्याब एक्सपो हुने

मेडिकल एन्ड ल्याब एक्सपो हुने

इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

Ncell Footer Ad