८ वैशाख २०८१ शनिबार
समाज

स्वास्थ्यकर्मीलाई वडा सचिवको जिम्मेवारी

म्याग्दी- जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ की अनमी बनिका गर्बुजाले दैनिक बिरामीको चेकजाँचसँगै वडा सचिवको जिम्मेवारी पनि निर्वाह गर्छिन्। दैनिक बिरामीको चेकजाँच गर्ने, बिरामीलाई आवश्यकता अनुसार औषधी उपलब्ध गराउने, जटिल समस्या भएकालाई तत्कालै बेनी अस्पतालमा पठाउने बाहेक उनले वडा कार्यालयमा सेवाग्राहीको सिफारिस लगाएत प्रशासनिक काममा समेत व्यस्त हुनु पर्छ।

गर्बुजाजस्तै मालिका गाउँपालिका वडा नं ३ डाँडागाउँका मिलन पुनको जिम्मेवारी पनि उस्तै छ। स्वास्थ्यचौकीमा अहेब पुनले वडा सचिवको भूमिका निभाउँछन्। सोही गाउँपालिकाको वडा नं २ की धनमायाँ पुन बाहेक जिल्लामा वडा सचिव नहुदाँ कार्यसम्पादनमा समस्या देखिएपछि कार्यालय सहयोगीदेखि सव–ईन्जिनियर, अधिकृतले समेत वडा सचिवको जिम्मेवारीमा काम गर्ने गरेका छन्।

स्वास्थ्य र प्राविधिक क्षेत्रमा कार्यरत कर्मचारीसंग प्रशासनिक अनुभव नभएता पनि जनप्रतिनिधिको सहयोगमा धमाधम काम गरिरहेका छन्। ‘एउटा पनि वडा सचिव हुनुहुन्न,‘हामीले बाध्य भएर स्वास्थ्यकर्मीलाई जिम्मेवारी दिनुपरेको छ’ मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले भने। उनले गाउँपालिकामा रहेका ७ वडामध्ये चारवटामा स्वास्थकर्मी, दुईवटा अधिकृत र एउटामा सव-ईन्जिनियरको सहयोगमा कार्यसम्पदान गर्ने गरेको बताए।

वडा सचिव नहुदाँ जनताले जनप्रतिनिधिमाथि आक्रोश पोख्ने गरेका छन्। मंगला गाउँपालिकामा दरबन्दी अनुसार दुईजना मात्रै सचिव छन्। वडा सचिवको अभावमा गाउँपालिकाले कार्यसम्पदानका लागि स्थानीय जनप्रतिनिधिलाई नै सक्रिय बनाउनुका साथै सहयोगीमार्फत काम गरेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए।

घरदैलोमै पुगेर समेत सेवा दिने प्रतिबद्धता जनाए पनि कर्मचारी अभावले समस्या भइरहेको बताए। एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका अधिकांश वडाहरू सचिव विहिन छन्। जिल्लाको सबैभन्दा विकट धवलागिरी गाउँपालिकामा एक स्वास्थ्यकर्मी र दुईवटा सचिवले ७ वडाको जिम्मेबारी लिनुपरेको छ।

गाउँपालिका भित्र एक वडाको एउटा बस्तीबाट अर्को वडामा पुग्न करिव एकदिनसम्म लाग्ने भएपनि कर्मचारीको अभावमा समस्या भएको गाउँपालिकाका प्रशासकीय अधिकृत गोविन्द सुनारले बताए। उनका अनुसार वडा सचिव नहुँदा वडा कार्यालयले कर संकलन, योजना निर्माण, कार्यान्वयन लगाएतमा समेत समस्या भएको बताए।

नियमित काममा बाधा पुग्दा गाउँपालिकामा समेत प्रतिवेदनहरु आउन सकेका छैनन्। स्थानीय तहमा कर्मचारीको अभावका बारेमा जिल्लाबाट प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई समेत पटक-पटक ध्यानाकर्षण गराइएको छ। वडा सचिवको अभावले वडाभित्रका प्रगति देखाउन समेत समस्या सृजना भएको छ।

 

प्रकाशित: ३० कार्तिक २०७६ १२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App