८ वैशाख २०८१ शनिबार
समाज

सहज गर्भपतन सेवा सञ्चालन, पैसा र ज्यानको सुरक्षा

बाजुरा – नचाहेरै गर्भ बस्दा हुने समस्या र जोखिमबाट जिल्लाका महिला मुक्त भएका छन् । गाउँ मै रहेका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालनपछि महिलाहरुलाई सहज सुविधा उपलब्ध भएपछि उनीहरु त्यस्ता जोखिमबाट मुक्त भएका हुन्। यो सेवा जिल्लामा २८ वटा स्वास्थ्य संस्था मध्ये १५ मा सञ्चालनमा छ ।

सबै स्थानीय तहलाई पायक पर्ने गरि सेवा सञ्चालन गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताए। सेवा सञ्चालनपछि अवैध तरिकाले निजी मेडिकलको औषधि सेवन गर्ने र घरेलु विधिबाट ज्यानको जोखिम मोलेर गर्भपतन गराउने क्रम हटेको छ ।

यसअघि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा यो सेवा सञ्चालनमा थियो । २०७४ सालको चैत्रबाट ग्रामीण क्षेत्रमा पनि सेवा विस्तार गरिएको छ । डेढ वर्षको अवधिमा ८ सय ६५ जनाले सुरक्षित गर्भपतन सेवा लिएको तथ्याकं जिल्ला अस्पतालमा छ।

गएको साउनसम्मको तथ्याकं हेर्दा ८ सय ६५ जना देखिएपनि यो वर्ष संख्यामा उल्लेख्य वृद्धि भएको छ । एसपीए तालिम प्राप्त अनमी वा स्टाफ नर्स जनशक्ति भएको स्वास्थ्य संस्थामा तालिम दिएर सेवा विस्तार गरिएको छ । सेवा जिल्ला अस्पताल, आईपास कार्यक्रम र पीसविनको सयूक्त सहकार्यमा सेवा सञ्चालन गरिएको हो ।

उक्त सेवा रुगीन, जुकोट, साप्पाटा, पाण्डुसैन, जुगाडा, दहकोट, आटीचौर, जयवागेश्वरी, कैलाशमाडौं, तोली, देवलसैन, बुढीगंगा र बाजुरा स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी र जिल्ला स्वास्थ्य कार्यालयमा सञ्चालन छ ।

जसमा कोल्टी र जिल्ला स्वास्थ्य कार्यालयमा १२ हप्तासम्मको लागि सेवा प्रवाह हुन्छ भने स्वास्थ्य चौकीमा ९ हप्ताको सेवा मात्र दिइने गरिएको छ । आर्थिक समस्या भएकालाई मात्र सहज नभई मेडिकलबाट अवैध औषधि खाएर गर्भपतन गराउन बाध्य महिलाहरुको ज्यान सुरक्षाका लागि पनि सहज भएको आइपास जिल्ला कार्यक्रम संयोजक महेशराज जैशीले बताए।

अवैध औषधि सेवनले ज्यान जोखिममा हुने, असुरक्षा बढ्ने र खर्च बढी हुने गरेको थियो, घरमै सेवा पाउने भएपछि सहज भएको त्रिवेणी नगरपालिका ७ की हंशी देवी अयडी भन्छन्। अयडीले एकै पटक मार्तडी जाँदा ५ हजार खर्च गर्नु परेको र अवैध रुपमा मेडिकलको औषधि खादाँ लगातार रगत बगेर थप उपचार गर्नु परेको गुनासो सुनाइन् । अयडीले पछिल्लो पटक भने कैलाशमाडौं स्वास्थ्य चौकीमा नै निशुल्क गर्भपतन गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

अछामको बयालगडा गएर गर्भपतन गराउनु पर्ने समस्याबाट मुक्त हुँदा खुसी लागेको कैलाशमाडौंकै रमिता नेपालीले बताइन् । अछामजाँदा धेरै खर्च गर्नु पथ्र्यो, हाल घर नजिकै सेवा पाउँदा पैसासँगै ज्यान पनि सुरक्षित हुने र गोप्य परामर्श आफ्नै चिनजानकासँग लिन पाउने सुविधा पाएकोमा खुसी व्यक्त गरिन् ।

सेवा सञ्चालनपछि महिला तथा किशोरीहरुका लागि सहज भएको छ । महिला स्वास्थ्य कर्मीबाटै निशुल्क सेवा पाइने भएपछि आकर्षण बढेको आइपास कार्यक्रम अधिकृत सरिता थापाले बताइन् । महिला तथा किशोरीका लागि सबैभन्दा सहज र भरपर्दो अनि सुरक्षित सेवा नै भएको थापाको भनाई छ ।

गर्भपतन आफैँमा स्वास्थ्यका लागि फाइदाजनक नभए पनि अपवाद र नचाहेरै हुने गर्भधारणका समस्या हल गर्न सेवाले राम्रो सहयोग पुगेको कैलाशमाडौं स्वास्थ्य चौकी इन्चार्ज प्रकाश बहादुर शाहीले बताएका छन् । महिला तथा किशोरीहरुका लागि सहज मात्र नभइ सुरक्षित सेवा भएको शाहीको भनाइ छ ।

नेपालमा बर्सेनी ७ प्रतिशतको असुरक्षित गर्भपतनकै कारण ज्यान जाने गरेको तथ्यांक छ । गाउँमा रहेका स्वास्थ्य सेवा सञ्चालनमा हुदा मातृ मृत्युदर र असुरक्षित गर्भपतनबाट हुने र जोखिम पनि कम भएको शाहीको भनाइ छ ।

जिल्लामा हाल ५८ जना बढी स्वास्थ्यकर्मी सुरक्षित गर्भपतन सेवा दिन योग्य छन् । गाउँमा सेवा विस्तारसँगै स्वास्थ्यकर्मीको दक्षता पनि वृद्धि भएको छ। जिल्लाकै दुर्गम मानिने हिमाली गाउँपालिका स्थित रुगीन स्वास्थ्य चौकीमा मात्र एक वर्षको अवधिमा ४३ जनाले सेवा लिएका छन् । सेवा नहुँदा कोल्टी पुग्ने त्यो क्षेत्रका महिलाहरुलाई करिब २ दिनको यात्रा गर्नु पथ्र्यो, जुन समस्याका कारण अवैध सेवा लिने र स्थानीय जडिबुटीबाटै असुरक्षित गर्भपतन गराउन बाध्य थिए ।

लाजले असुरक्षित गर्भपतन गराउने र ज्यानलाई जोखिममा राख्ने दर कम हुदै गएको छ । गाउँ स्तरमै स्वास्थ्य संस्थामा ९ हप्तासम्मको गर्भपतन गराउने सुविधापछि सहज भएको स्वयम महिलाहरुले नै बताउने गरेका छन् ।

अवैध रुपमा निजी मेडिकलको औषधि सेवन गर्ने, घरेलु जडिबुटी गर्ने जस्ता गतिविधि बन्द भएको जिल्ला अस्पतालका प्रमुख डाक्टर रुपचन्द्र विकले बताएका छन् । परामर्शकै लागि दैनिक जसो आउने गरेको भन्छन्, बाजुरा स्वास्थ्य चौकी इन्चार्ज दिपक शाह । गर्भपतन राम्रो विषय नभएपनि आवश्यकता भएकोले सेवा गाउँमा सुचारु हुँदा सहज भएको शाहको भनाइ छ ।

प्रकाशित: ३० कार्तिक २०७६ ११:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App