coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

टर्की पालनले स्वदेशमै रोजगारी

जुम्ला – चन्दननाथ नगरपालिका ४ का नारायण चौलागाई टर्की पालनले स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने उदाहरणको रुपमा परिचित भएका छन्। उनी टर्की पालनले जीविकोपार्जनमा ठूलो सहयोग मिलेको बताउँछन्। यहाँको जनशक्ति बेरोजगारीका कारण विदेशमा लर्को लाग्छन्।

उनले भने,‘तर रोजगारी सिर्जनका लागि कुनै चासो दिदैँनन्। यो टर्की पालन पनि रोजगारीको एक महत्वपुर्ण आधार हो। बिहान बेलुकीको समय टर्की पालनमै बित्छ। टर्की संगै लौकाट जातको चरा पनि पालेका छन्।

कर्णालीमै पहिलो टर्की फर्म दर्ता गराएर विदेशी जातको चरा जुम्लामा भित्र्याएका उनी अहिले प्रत्येक गाउँमा टर्की चरा र मासु बेचिरहेका छन्।  टर्की मासु र अन्डाको लागि उपयुक्त चरा  हो।  तिला गाउँपालिकाका चन्द्रबहादुर बुढाले पनि टर्की पालन गरेका छन्। उनी टर्की पालन निकै लाभदायक भएको बताउँछन्। पहिलो चरणमा दुइ चारवटा टर्की पालेका उनी पछिल्लो समयमा व्यवसायिक रुपमा टर्की पालनमा लागेका हुन्। यहाँको हावापानीमा हुर्काउन सके जुम्लामा टर्कीले मासुको माग पूरा गर्नेमा दुइमत छैन्। उनले भने,‘जुम्लामा टर्की पालन राम्रो पनि छ, आम्दानीको राम्रो स्रोत पनि छ। टर्कीले मासुको माग पूर्ति गर्छ। ’

कर्णालीमै पहिलो पटक टर्की र लौकाट अस्ट्रेलियन चरा पालन सुरु भइसकेका छन्। यो मासुको लागि पालिन्छ। प्रतिचरा वयस्क हुँदा पोथी ८ र भालेको १२ केजीसम्ममा बिक्री गर्न सकिन्छ। चल्ला जन्मेको ६ महिनापछि मासु खान योग्य हुने टर्की पालक नारायण चौलागाइ बताउँछन्।  लोकमणी बहुपंक्षी पालन टर्की फर्म स्थापना गरेर चितवनको माणिक टर्की फर्मबाट एक सय वटा चल्ला जुम्ला ल्याएर टर्की पालन सुरु गरिएको थियो। तिला २ का काँसे बोहोरा पनि टर्की पालनमा रुची दिन थालेका छन्। उनले दुइचार वटा परिक्षणको लागि टर्की पालन गरिरहेका छन्। पछिल्लो समयमा पालेका टर्की हुर्कदै जाँदा निकै उत्साहित छन्। स्थानीय तहले पनि लक्षित वर्गको रकमले टर्की पालन गर्न हौँस्याइ राखेका छन्।

पहिले प्रति चल्ला ८ सय ५० रूपैयाँमा खरिद गरिएको थियो। प्रति लौकाट चराको एक हजार तीन सय ५० रूपैयाँमा खरिद गरिएको थियो।  यो चरालाई व्यावसायिक रूपमा पालन गर्न सके पर्यटक आकर्षण गर्न पनि सकिने र मासुको माग पुरा गर्न सकिने किसान बताउँछन्।  दानापानी, उपचारे प्रबन्ध मिलाउन सके रोजगारीका लागि विदेशिनु नपर्ने उनीहरुको भनाइ छ।

विदेशकै चरा पालेर स्वदेशमा रोजगारीको वातावरण सिर्जना गर्न सकिनेमा उनीहरु ढुक्क छन्।   टर्की पालनका लागि इच्छाशक्ति र लगानीको खाँचो हुनु पर्ने चन्द्रबहादुर बताउँछन्।  कृषि अनुसन्धान केन्द्र नार्कका अनुसार यी दुवै जातका चरा चिसो र गर्मी दुवै हावापानीमा पाल्न सकिन्छ। १५ वर्षअघि तत्कालीन कार्तिकस्वामी गाविसका दत्तबहादुर शाहीले टर्की पालन गरेका थिए।  उनले गरेको परिक्षणले जुम्लामा टर्की पालन गर्न इच्छा पैदा गरेको हो।  यो चराले स्थानीय कुखुराले खाने सबै प्रकारका दाना खान्छन्। घाँसमा कक्सफुट, लसुन, जौँ का पात र तरकारीजन्य सागपात सबै दानाको रूपमा प्रयोग हुँदै आएको छ। यो चरा जुम्लामा पाल्न निकै सजिलो छ।

यहाँको बजारमा प्रतिकेजी ९ सय ५० रूपैयाँ बिक्री भइरहेको छ। क्यानेडियन नागरिक एन्ड्रो जुम्लामा पिएचडी गर्न आउँदा  टर्की पालनबारे आफ्नो अनुभव सुनाउँथें। ‘मौरीको प्रशिक्षण दिन लामो समय जुम्ला बसेका उहाँले टर्की व्यवसायमा आकर्षित बनाए,‘नारायण चौलागाइले भने,‘ पहिलेदेखि टर्की व्यवसाय अँगाल्ने सोच भएपनि अहिले बल्ल सपना साकार हुँदै आएको छ। यो सपना जुम्ली जनता माझ पुर्याउँछु। ’

टर्की पाल्नुस, म भिसा थपेर भए पनि व्यवसायमा सघाउँछु। चौलागाईले क्यानेडियन नागरिकले भनेको सम्झीदै भने,‘ तर, उनको भिसा थपिएन। ’ टर्की चराको मासु रोस्ट बनाउन उपयुक्त मानिन्छ।   क्यानेडियन नागरिकले टर्की व्यवसाय गर्न सुझाएपछि इन्टरनेटबाट यसबारेका नयाँ तथ्य बुझ्न थालेका छन्। युट्ुबमा टर्की सम्बन्धी भिडियो हेदैै आइराखेको छु। त्यो भिडियो बाट मैले हिउँ पर्ने र सुख्खा क्षेत्रमा पनि टर्की व्यवसाय गर्न सकिन्छ भन्ने थाहा पाए।  त्यसपछि जुम्लामा टर्की पालन गर्ने निधो गरेको गरे। यहाँ ल्याउँदा दुई सय ग्रामका चल्ला बाट टर्की पालन सुरु गरेको अनुभव सुनाए।

यो चराको मासु रोगसंग लड्ने प्रतिरोधी क्षमता बढी  हुन्छ। अहिले टर्की फर्म हेर्नकै लागि दैनिक चार र पाँच जना जाने गरेका छन्। अवलोकनकर्ताले टर्की पालन निकै रुचाउँछन्  र चल्ला अर्डर पनि गर्छन्।  फर्म सञ्चालनक रिता उपाध्याय चौलागाई चराको नाम सुनेर रहर लागेपछि ल्याएर अनुसन्धान गर्न थालेको बताउँछिन्। यो व्यवसायलाई फस्टाउन सके आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास छ।

टर्की पालनलाई व्यावसायिक रूपमा अघि बढाउन सकेमा राम्रै उपलब्धि हासिल हुने देखिएको छ। टर्की फर्ममा जिल्ला स्थित सरकारी अधिकारीको ध्यान केन्द्रित हुन थालेको छ। स्थानीयको चासो टर्की पालनमै देखिएको छ। किसान घरमै पुगेर परामर्श लिने गरेका छन्।  केही वर्ष भित्रमा घर घरमा टर्की जातको चरा पालन गर्न सकिने छ। मालाभीड गाउँको बीचैमा टर्की पालन गरिएकोले गाउँले पनि आकर्षित भइसकेका छन्। पछिल्लो समयमा गाउँवस्तीमा टर्की पालन सुरु गर्न थालिएको छ। पहिले स्थानीय जातको कुखुरा पाल्ने गरेकोमा अहिले टर्की पालन प्राथमिकतामा पर्न थालेको छ।

प्रकाशित: ३० कार्तिक २०७६ ०८:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App