पाल्पा- नेपालको एक ईन्च भूमि पनि मिचिएको सरकार हेरेर बस्न नसक्ने परराष्ट्र मन्त्री ज्ञवालीले बताएका छन्। नेपालको एक-एक इन्च जमीन पनि नेपाल सरकारले रक्षा गर्छ, यसमा कुनै दुविधा हुन नसक्ने परराष्ट्र मन्त्री ज्ञवालीले बताए।
शनिबार पाल्पाको तानसेनमा श्रम र साधना महाकाव्यको लोकार्पण गर्दै मन्त्री ज्ञवालीले नेपाल र भारत बीचको सीमाको समाधानका लागि कुटनीतिक पहल अगाडी बढाएको बताए। ‘नेपालको सीमाना सुगौली सन्धीले निर्धारण गरेको छ। पूर्वमा मेची र पश्चिममा महाकाली हाम्रो सीमाना हो। हामीले त्यो भन्दाबढी केही पनि खोजेका छैनौं, परराष्ट्र मन्त्री ज्ञवालीले भने, हामी पराजीत भएर गर्नु परेको सन्धी हो। त्यो सन्धी भित्र निर्दिष्ट गरेकोे नेपालको भूमीलाई हामी रक्षा गर्न चाहान्छौं।’
'हामी तथ्य, प्रमाणहरु राख्छौ्र। १५ सालमा चुनाव भयो, त्यहाँका मानिसहरुले भोट पनि हाले। ९७ सालमा गौडामा आएर त्यहाँका नागरिकले तिरो तिरेका छन्, हामी भन्न चाहान्छौं, मित्रराष्ट्रलाई, हाम्रो कुनै अन्यथा स्वार्थ छैन। मित्रताको नाममा हामीले आफ्नो अधिकारलाई छोड्ने भन्ने कुरा हुन्न,' मन्त्रीज्ञवालीले भने, 'मित्रता र अधिकार दुबै सँगसँगै हुन्छ। नेपाली जनताको चित्त दुखाएर भारतीय मित्रता मात्र भनेर नेपाल सरकार बस्दैन।'
पाल्पाली श्रम वीर र लुम्बिनीका साधनलाई प्रणय सुत्रमा बाँध्ने श्रम र साधना महाकाव्य कवि निलकण्ठ न्यौपानेले रचना गरेका हुन्। मन्त्री ज्ञवाली शनिबार नै गुल्मी जिल्ला प्रस्थान गरेका छन्।
प्रकाशित: ३० कार्तिक २०७६ ०७:५५ शनिबार