८ वैशाख २०८१ शनिबार
अन्य

पूर्वीय दर्शनको पुनर्व्याख्या : परम्परावादी कि परिवर्तनकारी ?

मेरा विद्वान् मित्र (डा. देवेन्द्रराज पाण्डे)ले फोन गरेर प्रमोद ढकालको पुस्तक ‘पूर्वीय दर्शनको पुनव्र्याख्या’ पढ्न र समालोचना गर्न मलाई उत्प्रेरित गर्नुभयो। बिरलै, त्यो पनि गम्भीर कुरामा मात्रै मलाई फोन गर्ने मित्रले यो पुस्तकको प्रशंसा पनि गर्नुभयो। त्यसरी परिचय पाएको पुस्तकको समालोचक बन्न मैले अनायासै स्विकारेँ। पहिले समालोचक बन्न स्वीकार गरेर पछि पुस्तक पढ्दै जाँदा मलाई प्रसिद्ध अंग्रेजी लोकोक्तिको याद आयो, ‘मूर्खहरू त्यहाँ जान आतुर हुन्छन्, जहाँ बुद्धिमान्हरू टेक्न पनि डराउँछन्।’

अर्थात् मैले जति सहज विषयमा समालोचना गर्छु भनी सोचेको थिएँ, त्योभन्दा गम्भीर प्रकृतिको विषयवस्तु यस पुस्तकमा उठान गरिएको रहेछ। यो पुस्तकमा ऋग्वेददेखि आधुनिककालसम्मको उल्लेख छ, भागवत पुराणसम्मको चर्चा छ, गीता त झन् यत्रतत्र छ। अनि यसलाई अनेकन् पाद टिप्पणी र सन्दर्भसहित आधुनिक प्रणाली अनुकूल लेखिएको छ।

यो पुस्तकको समालोचक बन्दा मलाई यो मानेमा खुसी छ कि यसलाई मैले हाम्रो समाजमा हुर्केको सनातन परम्पराको सुन्दर व्याख्याका रूपमा पाएँ। यसमा उठाइएका विषयवस्तुलाई आम समाजको अध्ययन, चर्चा र विमर्षको विषय बन्न योग्य रहेको पाएँ। आम चिन्तनशील पाठकका लागि पनि यो अत्यन्त पठनीय हुनेछ भन्ने ठहर गरेँ।

यस पुस्तकमा उल्लेखनीय पक्ष के छ भने, यसले आधुनिक विज्ञानको उपलब्धि र हाम्रा उपनिषद्, वेदान्त परम्परामा सामञ्जस्य छ भनेर लगभग प्रामाणिक ढंगले भनेको छ। प्रमात्रा सिद्धान्त अर्थात् क्वान्टम थ्योरीलाई साह्रै सरल ढंगले व्याख्या गरेको छ। त्यही व्याख्याका साथ यसले भनेको छ कि जुन कुरालाई हामीले ब्रह्म भन्थ्यौँ, जुन कुरालाई अल्टिमेट भन्थ्यौँ, त्यसमा पूर्णतावृत्ति हुन्छ। महर्षि कणादले जसलाई पुनः विभाजन हुँदैन भनेर भनेका थिए, त्यसैलाई आधुनिक विज्ञानले विकास गरेको क्वान्टम थ्योरीले आधारभूत कण भन्छ। क्वान्टम थ्योरीको व्याख्या देख्दा लेखकमा विद्वत्ता छ र उहाँको अध्ययनमा गहनता छ भन्ने बुझिन्छ। त्यो विद्वता र गहनतालाई बाहिर ल्याएकामा मैले उहाँको अभ्यर्थना गर्छु, अभिनन्दन गर्छु।

पास्कलले भन्थे कि हृदयका यस्ता आयाम हुन्छन्, जुन तर्कशास्त्रले कहिल्यै जान्दैन र बुझ्दै बुझ्दैन। त्यसैले हामीकहाँ भनिने गरेको सत्य यो हो, करुणा यो हो, मुदिता यो हो भन्ने जुन ठाउँ छ, त्यो ठाउँमा तर्कका बलमा पुग्न सकिँदैन, न त भक्तिका आधारमै पुग्न सकिन्छ। त्यो करुणा, मुदिता जस्ता गुणको पूर्ण विकास हुनका लागि योग र शुद्ध–बुद्ध चित्त नै चाहिन्छ, एउटा तर्कातीत स्थानमा जाने झुकाव चाहिन्छ।

पुस्तकको पहिलो खण्डमा ईश्वरवाद, भौतिकवाद र समन्वयवादको चर्चा छ। मलाई लाग्छ, त्यहाँ अध्यात्मवादको कुनै पक्ष छुटेको छ। त्यो के भने माक्र्स र गान्धी दुवै अध्यात्मवादी हुन्, तर माक्र्सले ईश्वरलाई मानेनन, गान्धीले माने। कुनै पनि अध्यात्मवादी व्यक्ति मानवको दुःख निवारण गर्न आत्मिक खोजमै लागेका हुन्छन्, त्यसको सैद्धान्तिक, व्यावहारिक र दार्शनिक आधारशिला खोज्नमा लागेका हुन्छन्, माक्र्स पनि त्यस्ता एक व्यक्ति हुन्। उनले घर, द्वार, परिवार, सम्पत्ति केही नभनी पुस्तकालयमा बसेर आफ्नो २० वर्ष जीवन बिताए, चिन्तन गरे र लेखे, त्यो पनि आफ्ना लागि नभएर मजदुरको हितका लागि। यो अध्यात्मको एउटा अभिव्यक्ति र एउटा स्वरूप हो। उनले ईश्वर मान्दैनथे, तर उनको अध्यात्ममा कसले शंका गर्छ ? अध्यात्मको कुरा गर्दा यो पक्षलाई पनि हामीले महत्वका साथ उठाउनुपर्छ भन्ने मलाई लाग्छ।

भौतिकवाद जुन आफैँमा शास्त्रका रूपमा स्थापित भएको छ, त्यसमा पनि दुःखको निवारण खोजिएको हुन्छ। तर मानव दुःखको आत्मिक पक्षलाई भन्दा भौतिक पक्षलाई बढी महत्व दिने उसको रुझान हुन्छ र उसले मानव दुःखको भौतिक समाधान निकाल्न सकिने मान्दछ। फलस्वरूप भौतिकवादीहरूले भौतिक सुख प्राप्तिका उपाय अगाडि ल्याउँछन्, आत्मिक पाटोलाई छुटाउँछन्। त्यसैले पुस्तकको पहिलो खण्डले ईश्वरवाद र अनीश्वरवादको, भौतिकवाद र अध्यात्मवादको परिचयलाई अझ बृहत् बनाएर उठाएको भए समन्वयवादको महत्तालाई उठाउने गरी तयार गरिएको दोस्रो खण्डसँग यसले थप तादात्म्य राख्ने थियो।

यसको मतलब यो होइन कि लेखकले अध्यात्मलाई छुटाउनुभएको छ। मूल कुरा, अध्यात्मको विषय वैज्ञानिक व्याख्यासँग कहिले र कतिसम्म मिल्न सक्छ/सक्दैन भन्ने सवाल तथा ‘के अध्यात्मलाई विज्ञानसम्मत भनेर सिद्ध गर्न खाँचो छ ?’ भन्ने सवाल सबैभन्दा उठाउनुपर्ने विषय हुन्। अध्यात्मको सबभन्दा ठूलो शक्ति र चुनौती के हो भने सबै आध्यात्मिक परम्पराले अध्यात्मलाई तर्कातीत मानेका छन्।

पश्चिमी परम्परामा डे–कार्टेस, स्पिनोजा, लेब्निज, कान्ट आदिलाई तर्कवादी मानिन्छ। पश्चिममै एकजना पास्कल भन्ने महान् गणितज्ञ थिए, जसलाई तर्कवादी चिन्तनका एक प्रमुख आलोचक भनेर मानिन्छ। पास्कलले भन्थे कि हृदयका यस्ता आयाम हुन्छन्, जुन तर्कशास्त्रले कहिल्यै जान्दैन र बुझ्दै बुझ्दैन। त्यसैले हामीकहाँ भनिने गरेको सत्य यो हो, करुणा यो हो, मुदिता यो हो भन्ने जुन ठाउँ छ, त्यो ठाउँमा तर्कका बलमा पुग्न सकिँदैन, न त भक्तिका आधारमै पुग्न सकिन्छ। त्यो करुणा, मुदिता जस्ता गुणको पूर्ण विकास हुनका लागि योग र शुद्ध–बुद्ध चित्त नै चाहिन्छ, एउटा तर्कातीत स्थानमा जाने झुकाव चाहिन्छ।

त्यहाँ अध्यात्मवादको कुनै पक्ष छुटेको छ। त्यो के भने माक्र्स र गान्धी दुवै अध्यात्मवादी हुन्, तर माक्र्सले ईश्वरलाई मानेनन, गान्धीले माने। कुनै पनि अध्यात्मवादी व्यक्ति मानवको दुःख निवारण गर्न आत्मिक खोजमै लागेका हुन्छन्, त्यसको सैद्धान्तिक, व्यावहारिक र दार्शनिक आधारशिला खोज्नमा लागेका हुन्छन्, माक्र्स पनि त्यस्ता एक व्यक्ति हुन्।

तर्कवादीहरूको मान्यता हुन्छ– तर्क नै ज्ञानको उत्पादक र उत्पादित ज्ञानको प्रमाणीकरणको प्रमुख साधन हो। तर योग, वेदान्त आदिमा पाइने वा पास्कलले उठाएको एउटा दार्शनिक धारले भन्छ कि मान्छेको व्यवहार बडो लहडबाजीपूर्ण छ र यसलाई तर्कले व्याख्या गर्न कठिन छ। पास्कलले भन्ने गर्थे, धर्म–सम्प्रदायको विश्वासको औचित्यलाई वा ईश्वरको विश्वासलाई कुनै तार्किक ज्ञानद्वारा साबित गर्न वा नकार्न सकिँदैन। किनकि तर्क र प्रमाणको दुनियाँमा यो बडो असंगत वा हास्यास्पद समेत लाग्न सक्छ। त्यसैले दिमागले र तर्कले प्राप्त गर्ने सत्य र हृदयले प्राप्त गर्ने सत्यलाई पृथक् रूपमा बुझ्नुपर्छ भन्ने उनको मत थियो।

उनको विचारमा हृदयले दिने स्वाभाविक, प्राकृतिक र आधारभूत तथ्यहरू हुन् भने तर्कले दिने उच्च स्तरीय निष्कर्षहरू हुन्। त्यसैले हृदय प्रथम आधार हो र तर्क उच्च स्थिति। त्यसैले हामीले धर्म–सम्प्रदायको सहारा लिने भनेकै त्यो प्रथम आधारका लागि हो न कि तर्कको विकासका लागि। वास्तवमा एउटा सन्देहवादीलाई जितेर आफ्नो बनाउन उसको तर्कलाई जित्नुपर्दैन र तर्कले जितेर पनि पुग्दैन, तर उसको हृदयलाई जित्नुपर्छ र उसको हृदयलाई जित्नु पर्याप्त पनि हुन्छ। यही नै धर्म–सम्प्रदायको अस्तित्व बनाउने र अध्यात्ममा आस्था दिलाउने प्रमुख कारण हो। हृदय नै अध्यात्मतर्फ आकर्षित गर्ने साधन हो, यसमा तर्क प्रमुख होइन।

हुन त अध्यात्मको सन्दर्भमा यो पनि मनन गर्नुपर्छ कि यसको सूक्ष्म व्याख्या गर्न सकिँदैन होला, किनकि यो आफैँले आफूलाई बुझ्नु हो भनेर सबैले भनेका छन्। सिंगो उपनिषद् र वेदले पनि त्यही भनेको छ। तर, यो पुस्तकमा के कुरा जोडदार रूपमा आउनुपर्छ भने हाम्रो सनातन परम्पराले, ऋग्वेद, वेदान्तदेखि भागवतसम्मको परम्पराले, आफ्ना आस्थाका लागि, विश्वासका लागि र भक्तिका लागि महत्वपूर्ण स्थान दिएको छ र प्रमाणका आधारमा भक्ति र आस्था हुन्छ भनेर भनेको छैन। प्रमाणको स्थान भौतिक जगत्को व्याख्यामा धेरै सान्दर्भिक मानिएको छ र आत्मिक जगत्मा त्यसलाई खासै महत्व दिइएको छैन। यो कुरा दोस्रो खण्डमा त आएको छ तर यो पुस्तकको पहिलो खण्डमै यो कुरा खुलेर आउनुपर्छ। पहिलो खण्डमा जति शक्ति प्रमात्रा सिद्धान्तसँग तादात्म्य राख्ने प्रामाणिक ज्ञानको क्षेत्रमा खर्चिएको छ, त्यही अनुपातमा आध्यात्मिक अर्थात् तर्कातीत, क्षेत्रमा पनि खर्चिंदा राम्रो हुने देखिन्छ। सके त यसले आफ्नै एउटा अध्याय पाउनु उचित हुन्छ। साथै हामीले यो पनि ख्याल गर्नुपर्छ कि क्वान्टम थ्योरीसँग वेदान्तको सिद्धान्त मिल्छ भने ब्रह्मको सिद्धान्त मिल्छ भने, त्यो मिल्दैमा वेदान्तको महिमा ज्यादा हुँदैन। फेरि मिल्दैन भने त्यसबाट वेदान्तको महिमा कम हुँदैन।

हाम्रो सभ्यतामा विद्वता र त्यागको सधैँ पृथक् महत्व रहँदै आएको छ। आधुनिक युगमा पनि कोही यस्ता मान्छे आए, जो धेरै पढे–लेखेका थिएनन् तर ती वेदान्तका प्रतिमूर्ति थिए, धर्मका प्रतिमूर्ति थिए। यसमा रामकृष्ण परमहंस र रमण भट्ट दुईवटाका नाम लिन सकिन्छ। उनीहरूको जीवनलाई हेर्दा लाग्छ, धर्मलाई यदि कसैले रक्षा ग-या छ भने त्यो जीवनशैलीले रक्षा ग-या छ, त्यागले रक्षा ग-या छ, शास्त्रले रक्षा ग-या छैन। मलाई लाग्दैन कि बुद्धलाई धेरै शास्त्रीय ज्ञान थियो तर उनलाई नै करुणा अवतार भनियो।

पुस्तकमा एउटा प्रस्तावना छ, एब्स्ट्र्याक्ट छ। त्यो एब्स्ट्र्याक्टलाई यो पुस्तकको भाव मान्न सकिन्छ। त्यसपछि यसको प्रथम अध्याय छ, जहाँ प्रमोदजीले उहाँ कसरी पश्चिमी शैक्षिक वातावरणबाट प्रभावित हुनुभयो, कसरी पूर्वीय परम्परा हीन लाग्न थाल्यो, कसरी हामीलाई हीनत्व बोध प्राप्त भयो, किन उहाँ यो अध्ययनमा लाग्नुभयो, कसरी क्यानाडामा गएर वैज्ञानिक अध्ययन गर्दा त्यहाँ उपयोगमा ल्याइएको खोजको प्रक्रिया पूर्वको शास्त्रीय परम्पराभित्र पनि विद्यमान रहेछ भन्ने निष्कर्षमा पुग्नुभयो भनेर बताउनुभएको छ। पूर्वीय दर्शनबारे बडो आत्मविश्वासका साथ उहाँले आफ्नो व्याख्या प्रस्तुत गर्नुभएको छ, यसका लागि उहाँलाई म बधाई दिन्छु। म आफूले भन्ने गरेको सनातन परम्पराका लागि उहाँले स्पृहणीय र प्रशंसनीय कार्य गर्नुभएको छ। उहाँले नेपाली भाषाको र नेपाली मात्रको गौरव बढाउनुभएको छ। यसको लोकार्पणमा ‘अध्यात्मवाद र भौतिकवादका मिहीन कुरा असाध्यै कसिलोसँग प्रस्तुत गरेको यति राम्रो किताब अहिलेसम्म नेपालीमा लेखिएको छैन’ भनेर मोदनाथ प्रश्रितजीले जुन प्रशंसाले भरिएको उद्गार व्यक्त गर्नुभएको थियो, त्यसमा मेरो पनि पूर्ण समर्थन छ।

सनातन परम्पराको सन्दर्भ आउँदा यो भन्नुपर्छ कि वर्ण–व्यवस्थाका बारेमा र जाति प्रथाका बारेमा हाम्रो परम्परामा प्रशस्त समस्या छन्। शास्त्रकै कुरा गर्दा त्यसको समर्थन वा विरोधमा थुप्रो किताब उद्धरण गर्न सकिन्छ। एउटै गीतामा एकातिर मानिस, गाई, हात्ती, कुकुर आदिमा पनि ईश्वर देख्न खोजेको छ र ती समान हुन् भनेको भेटिन्छ भने अर्कोतर्फ ब्राह्मण मुखबाट र शूद्र खुट्टाबाट जन्मेका हुन् भनेर लेखेको भेटिन्छ। ऋग्वेदमा पनि ‘ब्राह्मणोऽस्य मुखमासिद् बाहु राजन्यः कृतः। ऊरु तदस्य यद्वैश्यः पाद्भ्यां शूद्रो अजायत।’ अर्थात्, ब्राह्मण मुखबाट, क्षेत्री पाखुराबाट, वैश्य पेटबाट र शूद्र खुट्टाबाट पैदा भएका हुन् भनेको छ। फेरि पहिले यो व्यक्तिको व्यावसायिक विभाजन थियो र पछि सामाजिक विभाजनमा परिणत भयो भन्ने पनि छ। कुकुर, बिरालो, मान्छे, गाई, पीपलमा पनि ईश्वर देख्ने सिद्धान्त र कुकुर भान्सामा पस्दा केही नहुने तर दलित भान्सामा पस्दा अर्कै धारणा हुने व्यवहारका बीच विरोधाभास छ। यो सबैमा ठूलो प्रश्न छ। आज वेदान्त, हिन्दुत्वका अगाडि सबैभन्दा ठूलो चुनौती यो नै छ। रामायणमा एउटा कथा छ, जहाँ शम्बुुक भन्ने कुनै शूद्रले वेद पढ्दा अनिकाल प-यो अरे, अल्पायुमा छोरा म-यो अरे। यस्ता व्यवहार र प्रचलनलाई चिरफार गरेर सर्वमान्य जवाफ पस्कनु वेदान्त र हिन्दुत्वका लागि अत्यन्त महत्वपूर्ण हो।

महाभारत वनपर्व (अध्याय १७८–८१) मा एउटा कथा छ। त्यहाँ एउटा नहुष नामको राजा ऋषिको श्रापले गर्दा अजिंगर सर्प बनेको थियो, जुन सर्पले एक दिन पाण्डवका पाँच भाइमध्येका सबैभन्दा बलवान् भीमसेनलाई बेरेर खान लागेको हुन्छ। युधिष्ठिरले आफ्नो भाइलाई त्यो अवस्थामा देखेपछि सर्पसँग भन्छन् कि तिमीलाई म अन्य भोजन दिन्छु मेरो भाइलाई छोडिदेउ। तर सर्पले मान्दैन। नमाने पछि उनले भन्छन्, ‘भन तिमीलाई मैले के कुराले खुसी बनाउन सक्छु र तिमीले मेरो भाइलाई छोड्न सक्छौ ?’ सर्पले भन्छ, ‘यदि मैले सोधेका प्रश्नको तत्काल उत्तर दिए तिम्रो भाइलाई छाडुँला।’ युधिष्ठिरले यो सर्त स्वीकारे।

सर्पले भन्छ, ‘ब्राह्मण को हो र उसका लागि जान्न योग्य तत्व के हो ?’ त्यसको उत्तरमा युधिष्ठिरले भन्छन्, ‘जसमा सत्य, दान, क्षमा, सुशीलता, क्रूरताको अभाव, तपस्या र दया यी सात गुण देखिन्छन्, त्यही ब्राह्मण हो। अनि ब्राह्मणले जान्न योग्य तत्व परम ब्रह्म हो, जुन दुःख र सुखबाट पर छ र जसलाई जानेर मानिस शोक मुक्त हुन्छ।’ फेरि सर्पले भन्छ, ‘ती सात गुण शूद्रमा पनि हुन्छन्। अनि दुःख र सुखभन्दा पर मैले कुनै वस्तुको सत्ता देख्दिनँ।’ फेरि युधिष्ठिर भन्छन्, ‘यदि शूद्रमा सत्य आदि सात लक्षण छन् भने ऊ शूद्र होइन र यदि कसैलाई ब्राह्मण मानिएको छ, तर उसमा ती सात लक्षणको अभाव छ भने ब्राह्मण होइन। साथै सुख–दुःखरहित त पदार्थ छैन, तर एक यस्तो पद पनि छ जहाँ जसरी बरफमा गर्मी र आगोमा शीतलता हुँदैन, त्यसरी एउटा त्यस्तो वेद्य–पद छ, जुन वास्तवमै सुख–दुःखरहित छ।’

फेरि सर्प भन्छ, ‘आचारले हुने भए त जाति व्यर्थ हुनुपर्ने !’ तब युधिष्ठिर भन्छन्, ‘मानिसमा जातिको परीक्षा गर्न बडो कठिन छ, त्यसैले तत्वदर्शी विद्वान् ले शीललाई प्रधान मान्छन्। जसमा संस्कारका साथै सदाचार पनि उपलब्ध छ, उही ब्राह्मण हो।’ यो सुनेपछि सर्पले भीमसेनलाई छोडिदियो।

युधिष्ठिर–नहुष संवादका अनुसार जन्मँदैमा कोही ब्राह्मण हुँदैन। जो शीलवान, दयालु र विद्या परायण छ, त्यसको जन्म तथाकथित शूद्र कुलमा भए पनि ऊ ब्राह्मण हुन्छ। यसका आधारमा हामीले यो बुझ्नुपर्छ कि ब्राह्मण जातीय आधारमा भनिएको होइन। कोही व्यक्ति असहिष्णु छ भने त्यो ब्राह्मण हुँदैन। तर यस्तो व्याख्या नमान्नेले पनि शास्त्रीय प्रमाण नै पस्केका छन्। त्यसैले यो सन्दर्भमा हामीले यो कुरालाई हृदयंगम गर्नुपर्छ कि नेपाल एउटा ठूलो परिवर्तनको संघारमा छ, यसका बारेमा बहस र विमर्ष हुन असाध्यै जरुरी छ। लेखक प्रमोद ढकालले यो जटिल विषयलाई महत्वका साथ उठाउनुभएकामा म उहाँलाई धन्यवाद दिन्छु।

सनातन परम्पराभित्र अनेकौँ धारा छन्। त्यो हुँदाहुँदै पनि सनातन धर्मका एक विद्वान्ले भनेका छन् कि यहाँ मुख्यतः दुईवटा परम्परा छन्। एक ब्राह्मण परम्परा र अर्को श्रवण परम्परा। यीमध्येको जुन ब्राह्मणवादी धारा छ, त्यसले शास्त्रीय ज्ञानलाई उच्च महत्व दिन्छ। अनि जुन श्रवणवादी धार छ, त्यसले शास्त्रलाई भन्दा सत्य, न्याय, दया, करुणा आदिलाई बढी महत्व दिन्छ। त्यो श्रवण परम्परा पनि वेदान्तकै परम्परा हो। हाम्रै परम्परा हो। श्रवण परम्पराले कहिले बुद्धका रूपमा, कहिले महावीरका रूपमा, कहिले शंकराचार्यका रूपमा, मध्वाचार्यका रूपमा समाजका उत्पीडित, पिछडिएका र दलित वर्गलाई अंकमाल गर्न खोजेको हुन्छ। लाग्छ, शास्त्रीय अध्ययन र विश्लेषणमा सक्षम रहेको यो पुस्तकले श्रवण परम्परालाई पर्याप्त मात्रामा उठाउन सकेको छैन।

खासगरी हामी बुद्ध जन्मिएको देश भनेर गौरव गर्ने मानिसले बुद्धले गरेको सामाजिक विद्रोह, जातीय अन्तको परम्परालाई र उनले लोकभाष्यलाई दिएको मूल्यलाई अगाडि ल्याउनुपर्छ। त्यसका बारेमा लेखकले समयका अभावले, पृष्ठभूमिका अभावले, पुस्तकका अभावले, अर्को पुस्तक लेख्नका लागि, वा पाठकउपर दया गरेर छोडिदिनुभएको हुन सक्छ। जे भए पनि यदि हामीले धर्मकीर्तिलाई पढ्यौँ भने जाति प्रथाका विरुद्ध, शास्त्रीय ज्ञानका विरुद्धमा एउटा अवधारणा पाइन्छ। महाभारत, रामायण, वेद, गीतामा यस्तो अवधारणा छैन भनेको होइन, तर समस्या यो छ कि तिनका जुन प्रचलित भाष्य छन्, ती यथास्थितिवादीले लेखेका छन्। यो छुटेको पक्षलाई पनि लेखकले अगाडि ल्याएको खण्डमा उहाँको पुस्तक सामाजिक परिवर्तनको एउटा प्रबल हतियार बन्नेछ।

यो जुन धर्म हो, यो जुन लाइफ हो, जसलाई हामीले १८औँ शताब्दीसम्म सनातन परम्परा भन्थ्यौँ, त्यसका थुप्रै हाँगाबिँगा र बाटा थिए। फलस्वरूप, हामीले गौतम बुद्धलाई पनि भगवान्का अवतार मान्ने गरेका थियौँ। तर १९औँ शताब्दीबाट हामीले जब यसलाई हिन्दू भन्न थाल्यौँ, त्यससँगै अनेकानेक चिन्तन आए। यस सनातन धर्मका चिन्तकले एकातिर विशाल हीनत्व–बोध प्राप्त गरे भने, अर्कातिर उसका शास्त्रहरू हराएर गए। यसको मूल स्पिरिट हराएर गयो। त्यसैले, ‘त्यसको मूल स्पिरिट के हो ?’ भनेर हामीले फेरि खोज्नुपर्ने भएको छ। मलाई त लाग्छ कि यस परम्पराको मूल स्पिरिट भनेको त्यस्तो जीवनशैली हो, जसले विद्वतालाई भन्दा त्यागलाई बढी महत्व दिन्छ।

हाम्रो सभ्यतामा विद्वता र त्यागको सधैँ पृथक् महत्व रहँदै आएको छ। आधुनिक युगमा पनि कोही यस्ता मान्छे आए, जो धेरै पढे–लेखेका थिएनन् तर ती वेदान्तका प्रतिमूर्ति थिए, धर्मका प्रतिमूर्ति थिए। यसमा रामकृष्ण परमहंस र रमण भट्ट दुईवटाका नाम लिन सकिन्छ। उनीहरूको जीवनलाई हेर्दा लाग्छ, धर्मलाई यदि कसैले रक्षा ग-या छ भने त्यो जीवनशैलीले रक्षा ग-या छ, त्यागले रक्षा ग-या छ, शास्त्रले रक्षा ग-या छैन। मलाई लाग्दैन कि बुद्धलाई धेरै शास्त्रीय ज्ञान थियो तर उनलाई नै करुणा अवतार भनियो। उता तत्कालीन ब्राह्मण जो भए उनीहरू वेद–वेदान्त कण्ठ पारेर बसेका ब्राह्मण भए। तर, गौतम बुद्धले जीवनशैलीमा आधारित भएर शास्त्रमा पार पाए। सारा शास्त्र, शस्त्र र सत्तालाई चुनौती दिए।

ब्राह्मण परम्परा र श्रवण परम्परामध्ये ब्राह्मण परम्परा बडो बलियो हुन्छ। धेरैजसो यसै परम्पराले राज्यशक्ति प्राप्त गरेको हुन्छ। यसैले शासन गर्छ। तर अर्को कोही बौलाहा बनेर आउँछ, जो घरद्वार छोडेर हिँड्छ। के के भनेर हिँड्छ। अन्ततः ऊ नै करुणा अवतार हुन्छ। त्यो परम्परा आज पनि हाम्रा बीचमा छ। उसको त्यागले विद्वताले भन्दा ठूलो परिणाम ल्याउँछ। उदाहरणका लागि, गान्धी कुनै विद्वान् थिएनन्। गान्धीजीको गीता पढ्नुभयो भने त तपाईं मजाक मान्नुहुन्छ, ‘कस्तो व्याख्या लेख्या होला यसले’ भन्नुहुन्छ। तर उनी हिन्दुत्व, रामनामको कुरा गर्थे। उनले त्यतिवेलाका महान्–महान् ब्यारिस्टरलाई, गीताको रहस्य लेख्ने बाल गंगाधर तिलकलाई, गीताको सबैभन्दा दुर्बोध्य व्याख्या लेख्ने श्री अरविन्दोलाई लिएर हिँड्न सफल भए। गान्धीको ओज भावनाबाट प्रस्फुरित थियो, त्यागबाट प्रस्फुरित थियो, ज्ञानबाट होइन। गान्धीले गीता त बाँचेका र अपनाएका मात्र हुन्। तुलसीदासले ‘परहित सरिस धर्म नहिं भाई, परपीड़ा सम नहिं अधमाई’, अर्थात् परहितसरि कुनै धर्म छैन र परपीडा सरी कुनै अधर्म छैन’, भनेका थिए, गान्धी त्यसैका प्रतिमूर्ति थिए। तर त्यस्तो भन्ने हाम्रो समाज आज विचलित भएको छ। यस्ता कुरालाई आज सनातन धर्मले व्याख्या गर्नुप-या छ। यो हाम्रो चुनौती हो। यसलाई सामना गर्नका लागि प्रमोदजीले समाजलाई घचघच्याउनुभएको छ।

प्रमोदजीको जीवन हेर्दा मैले उहाँमा खोज गर्ने साधक व्यक्ति पाएको छु। उहाँको यस पक्षलाई म स्वागत गर्छु। उहाँले पुस्तकको भूमिकामै लेख्नुभएको छ, ‘म को हुँ ? म कहाँबाट आएँ ? यो विश्व के हो ? यो विश्वका निर्माता को हुन् ?’ हो, यी प्रश्न प्रत्येक संवेदनशील मानिसले आफूलाई गर्छ। म यो कुरालाई मान्दछु। मानिसको जीवनका दुइटा पहलु छन्– अर्थको खोज र सुखको प्राप्ति। यो पुस्तकमा प्रमोदजी लेख्नुहुन्छ कि व्यक्तिको जीवन एक–आयामिक हुन सके पनि समाजको जीवनमा बहुआयामिकता हुनैपर्छ।

यहाँ प्रमोदजीले गर्नुभएको सकारात्मक कुराका पक्षमा एउटा थप कुरा गर्न मन लाग्यो। यो नेपालमा, मैले पक्षपात ग-या होइन होला, बिपी कोइरालाभन्दा ठूलो चिन्तक पाँच–सात सय वर्षमा अर्को भएन होला। कमसेकम मलाई त्यस्तो लाग्छ। तीनवटा उपन्यास (मोदि आइन्, सुम्निमा, हिटलर र यहुदी)मा उहाँले गीता र वेदान्तप्रति आफ्नो अब्सेसन (तीव्र लगाव) देखाउनुभएको छ। बिपी जस्तो सर्जकले, माक्र्सवादीले, प्रजातन्त्रका भाष्यकारले पनि गीता र वेदान्तले गर्न खोजेको तर्कलाई ठीक तवरले उपस्थित गर्नुभएको छैन। यस्तो परिवेशमा वेदान्तका बारेमा, गीताका बारेमा प्रमोदजीले एउटा उत्तम व्याख्या ल्याउनुभएको छ। यसको मैले एकदमै स्वागत गर्छु। उहाँले भनेको कुरा सही हो कि विगतको एक सय डेढसय वर्ष पश्चिमको आँधी चल्यो। त्यो आँधीमा हामीले हाम्रो जुन राम्रो थियो, त्यसलाई पनि त्याग्यौँ र त्यो त्यागेको हीनताबोध, पराजयबोध र त्याग्नुपरेको पीडामा हाम्रा अप्रिय कुरालाई पनि हामीले फेरि साँच्न खोज्यौँ। संरक्षणवादी बन्न खोज्यौँ। यो हाम्रो कमजोरी हो, जसलाई हामीले माझ्नुपर्नेछ।

हाम्रो परम्परामा प्रकृष्ट रहेको एउटा कालिदास रचित भजन छ। त्यसमा भनिएको छ, ‘पुरानो छ भन्दैमा सबै त्याज्य हुँदैन, नयाँ छ भन्दैमा सबै राम्रो हुँदैन।’ वास्तवमा यही आधारमा हामीले किताब लेख्नुपर्छ, मलाई लाग्छ, त्यो बाटोमा हिँड्न यो पुस्तकलाई सफलता मिलेको छ। यहाँ मूर्तिको अपूर्व व्याख्या छ। यहाँ एक–एक शब्दको नयाँ परिभाषा छ। यो यति सुन्दर छ कि मेरो मनमा एउटा भावना उत्पन्न भयो– यदि मलाई चित्त बुझेन भनौँ भने त्यसका लागि जवाफ दिने मसँग तर्क छैन, शास्त्रका प्रमाण छैनन्। कुनै कुरा उहाँले कुनै शास्त्रबाट लेख्नुभएको छ भने त्यसको खण्डनका लगि त मैले अर्को शास्त्र पल्टाउनुपर्छ।

जमानादेखि, मानव आएदेखि, भौतिक, आर्थिक र सामाजिक संघर्ष भइरहेको छ। त्यस संघर्षमा पहिले धर्मले वा सम्प्रदायले नै आइडिओलजीको काम गथ्र्यो। पश्चिमी सभ्यतामा क्याथलिक, अर्थोडक्स र प्रोटेस्टेन्ट इसाई तथा इस्लाम बाहेकको कुरा हामीलाई थाहा छैन। एकाएक १८औँ शताब्दीपछि मात्र क्यापिटालिजम्, सोसलिजम्, कम्युनिजम्, लिवरलिजम् आदि देखापरे। अब अहिले ती क्यापिटालिजम्, सोसलिजम्, कम्युनिजम्, लिबरलिजम् पनि उपहासका विषय भएका छन्। कोही भन्छन् कि आइडिअलजी नै चाहिएको छैन। कोही भन्छन् कि मार्केटले सबथोक गर्छ। कोही भन्छन् कुनै मूल्य र मान्यता नै चाहिएको छैन। प्रकारान्तरले आज पनि आइडिअलजी र मूल्य–मान्यताको जरुरत छ भनेर देखाउने सकारात्मक कदम हो, प्रमोद ढकालको यो पुस्तक। आज पनि आइडिअलजीको जरुरत छ भन्नेमा मलाई विश्वास छ र उहाँ पनि त्रिमूर्ति दर्शन भनेर यहीँ आइरहनुभएको छ। उहाँ भन्नुहुन्छ कि त्रिमूर्ति दर्शनमा सांख्यको प्रतीक ब्रह्मा, भक्तिको प्रतीक विष्णु र योगको प्रतीक शिव हो। लगभग उहाँको भनाइ त के छ भने यो त्रिमूर्ति दर्शनले नेपालीको त के दुनियाँकै कल्याण गर्छ, यो धारणा मलाई अनौठो लाग्यो, विचारणीय लाग्यो।

फेरि आइडिअलजी, यसको पक्षधरताको कुरा गर्दा सोच्नुपर्ने छ। कुनै पनि आइडिअलजीले मनुष्य र मानवतालाई केन्द्रमा राखेर काम ग-या छैन। आइडिअलजी राजनीतिक हतियार भएको छ। आज पनि यही हालत छ। हाम्रो पार्टीले डेमोक्र्याटिक सोसलिजम्को नाम लिन्छ, तर डेमोक्र्याटिक सोसलिजम्का बारेमा गम्भीर वार्ता गर्दैन। सात सालदेखिका कम्युनिस्ट पार्टी र हाल सत्तासीन कम्युनिस्ट पार्टीका तीनवटा जनवाद छन्– बहुदलीय जनवाद, २१औँ शताब्दीको जनवाद र नौलो जनवाद। तर, कसैलाई फुर्सद छैन कि त्यसबारे टिप्पणी गर्ने, स्पष्टीकरण दिने। त्यसैले भन्न सकिन्छ कि यी सबै मुख्य नाराहरू सत्ताका लागि बुनिएका हुन्। त्यसैले केवल शब्द मात्र नभएर विश्वासप्रद व्याख्या सहितको र उन्नत आइडिअलजीको खाँचो जहिले पनि रहेकै देखिन्छ।

यस बेलामा एउटा क्यानडामा पढेर विद्यावारिधि गरेको व्यक्तिले यत्रो समय र शक्ति लगाएर एउटा अल्टरनेटिभ विचारलाई उठान गर्नु एउटा सराहनीय कार्य हो र यसका लागि म लेखकलाई बधाई दिन्छु। जुन विचार लिएर उहाँले यात्रा गर्दै हुनुहुन्छ र भाष्य लेख्दै हुनुहुन्छ, त्यो हाम्रा लागि खुसीको कुरा हो। यसै पनि सनातन धर्ममा भाष्य नै लेख्ने परम्परा छ, मूल लेखेको खासै देखिँदैन। यो भाष्यका बारेमा मलाई के भन्नु छ भने त्रिमूर्ति भाष्यमा नपरेका धाराहरूको पनि उत्तिकै गम्भीरतापूर्वक खोज र चर्चा गर्नेतर्फ यो कार्य अग्रसर हुनुपर्छ। खासगरी बुद्ध जन्मिएको देशका हामीले बुद्धको परम्परालाई, उनले गरेको सामाजिक विद्रोहको परम्परालाई, उनले गरेको जातीय अन्तको परम्परालाई र उनले लोकभाष्यलाई दिएको मूल्यलाई विशेष महत्वका साथ अगाडि ल्याउनुपर्छ। ऋग्वेददेखि र भागवत महापुराणसम्म आउँदा थुप्रा परिवर्तन भएका छन् र तिनका जुन क्रान्तिकारी आयामहरू छन्, तिनलाई प्रकाशमा ल्याउनुपर्छ। हामी शासक वर्गले, शासक जातिले यस्तो न्यारेटिभ बनाएका हुन्छौँ र यस्तो विमर्ष बनाएका हुन्छौँ कि त्यसले अर्को पक्षलाई अलिकति निषेध (निगेट) गरिरहेको हुन्छ, जुन निषेधलाई हामीले तोड्नुपर्छ। हामीले त्यसो गर्न जरुरी किन छ भने आज हामीलाई अरू कुनै पनि कुरा भन्दा सामाजिक परिवर्तन गर्न आवश्यक परेको छ। यो काम त्यो आवश्यकताप्रति सजग भएर अगाडि बढोस्। त्यही सजगताका कारण यो पुस्तक सामाजिक परिवर्तनको सशक्त हतियार बन्नेछ। शासक वर्गद्वारा पक्षपोषण गरिँदै आएको निषेध (निगेसन) लाई चिरेर सामाजिक रूपान्तरणलाई मलजल गर्नमा यो खोज र लेखनको यात्रा सफल रहोस् भन्ने मेरो शुभकामना छ।

प्रकाशित: ३० कार्तिक २०७६ ०४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App