coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

ऐतिहासिक पदक विजेतालाई जनही तीन लाख

काठमाडौं – नेपाली भलिबलमा ऐतिहासिक अन्तर्राष्ट्रिय सफलता हात पारेको नेपाली महिला टोलीलाई स्वागत गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले शुक्रबार जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।

बंगलादेशको ढाकामा सम्पन्न पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप विजेता नेपाली टोलीका सदस्यलाई सदस्यसचिव सिलवालले प्रोत्साहान स्वरूपमा नगद तीन लाख रुपैयाँको घोषणा गरेका हुन्। आयोजक बंगलादेशसहित अफगानिस्तान, किर्गिस्तान, माल्दिभ्स र नेपालको सहभागिता रहेको प्रतियोगितामा अपराजित रहँदै नेपाल उपाधि जित्न सफल भएको हो।

यो उपाधि महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा हात पारेको सबैभन्दा ठूलो सफलतासमेत हो। उपाधिसहित नेपाल फर्किएको नेपाली टोलीलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेपका सदस्यसचिव सिलवालसहित नेपाल भलिबल संघका पदाधिकारी स्वागत गर्न पुगेका थिए। स्वागत गर्नका लागि पूर्वखेलकुद मन्त्री दलजित श्रीपाइलीसहित समर्थक पनि पुगेका थिए।

महिला भबिलमा पहिलो अन्तर्राट्रिय उपाधि दिलाएका प्रशिक्षक जगदीश भट्टले सेन्ट्रल जोन जानुअघि थाइल्यान्डमा भएको प्रशिक्षणले उपाधि जित्न सहयोग पु-याएको बताए। ‘करिब एकमहिने थाइल्यान्ड प्रशिक्षणले हामीलाई सेन्ट्रल जोनमा प्रतिद्वन्द्वीविरुद्ध उचो मनोबल राखेर खेल्न सहयोग पु-यायो,’ प्रशिक्षक भट्टले भने, ‘टोलीमा आपसी तालमेलसमेत राम्रो बन्यो। सबैले एकअर्कालाई राम्रोसँग बुझ्न पनि पाए। त्यसैले प्रतियोगिता अवधिभर प्रतिद्वन्द्वीलाई दबाबमा राखेर खेल देखाउन पायौं। कमभन्दा कम स्कोरमा हराउने रणनीति पनि सफल भयो।’ प्रशिक्षक भट्टले दक्षिण एसियाली खेलकुद बाहेक अन्य ठूला प्रतियोगितामा सफलता पाउनका लागि टोलीले सुधार गर्नुपर्ने ठाँउ धेरै रहेको प्रतिक्रिया दिए।

‘सागको स्वर्णमा मात्र सीमिति हुन चाहन्नौं। सागभन्दा पनि माथि पुग्ने हाम्रो लक्ष्य हो,’ टोलीमा अझै राम्रो गर्ने ठाँउ रहेको भन्दै प्रशिक्षक भट्टले थपे, ‘केही खेलाडीमा अनुभवको कमी पनि देखिएको छ। उपाधि जिते पनि केही खेलाडीको प्रदर्शन सुधारमा निखारता दिनु छ।’पहिलोपटका राष्ट्रिय टोलीको कप्तानी सम्हालेकी अरुणा शाहीले समग्र टोलीको मिहिनतले सफलता मिलेको बताइन्।

‘सबै खेलाडीले मिहिनतका साथ खेल्यौं। प्रतिद्वन्द्वीले अपनाउने रणनीतिलाई केलाउँदै खेल्ने रणनीति सफल भयो,’ कप्तान अरुणाले भनिन्, ‘थाइल्यान्ड प्रशिक्षणमा हामीले कमीकमजोरीलाई सुधार गरेका थियौं। विशेषता रिसिभमा हामीले राम्रो ग¥यौं। तालमेल र रिसिभ राम्रो भएपछि हामीलाई खेल सहज भयो।’ सेन्ट्रल जोनको उपाधि जितेको आफ्नो टोलीले सागमा पनि उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्ने लक्ष्य रहेको कप्तान अरुणाको विश्वास छ।

‘सागमा पनि उत्कृष्ट खेल्दै स्वर्ण पदक जित्ने लक्ष्य छ। तर, केही चुनौती पनि छन्। भारत र श्रीलंकाजस्ता बलिया प्रतिद्वन्द्वी छन्,’ कप्तान अरुणाले थपिन्, ‘टोलीमा रहेका केही कमीकमजोरीलाई केलाउँदै अभ्यास गर्नुपर्छ। घरेलु कोर्ट भएकाले हामी बलिया प्रतिद्वन्द्वीलाई हराउन सक्छौं। त्यसका लागि मिहिनत र सुधार गर्ने ठाँउ धेरै छन्।’
पाँच राष्ट्रले सहभागिता जनाएको सेन्ट्रल जोन प्रतियोगितामा नेपाली टोलीकी स्पाइकर प्रतिभा माली उत्कृष्ट स्पाइकर घोषित भएकी थिइन्।

नेपाली महिला टोलीले सन् २०१४ मा घरेलु मैदानमै सम्पन्न दक्षिण एसियाली आमन्त्रण भलिबल च्याम्पियनसिपमा रजत पदक जितेको थियो। नेपालको महिला भलिबल टोलीले सागमा पनि तीन कांस्य जितेको छ। नेपालले सन् १९९९, २००६ र २०१६ को सागमा कांस्य पदक जितेको हो।

बंगलादेशको ढाकामा सम्पन्न पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको विजेता नेपाली टोलीका सदस्यलाई राखेप सदस्यसचिव सिलवालले प्रोत्साहान स्वरूपमा जनही नगद तीन लाख रुपैयाँको घोषणा गरेका छन्।

प्रकाशित: ३० कार्तिक २०७६ ०२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App