८ वैशाख २०८१ शनिबार
समाज

ठेकेदारको आलटाल, अझै खुलेनन् ग्रामीण सडक

पहिरोका कारण लामो समयदेखि अवरुद्ध लिबाङ–धाङ्सी–जलजला पुग्ने सडक। तस्बिर: दिनेश/नागरिक

रोल्पा - वातावरणीय परीक्षणबिना प्राविधिकको सल्लाहसमेत नलिई खनिएका जिल्लाका अधिकतर सदरमुकाम लिबाङसँग जोडिएको धबाङ पुग्ने सडक असार लागेदेखि नै अवरुद्ध छ। सवारीसाधन नचल्दा गाउँमा दैनिक उपभोग्य सामग्रीको मूल्य महँगिएको छ। लिबाङदेखि धाङ्सी हुँदै जलजला पु-याउने सडक निर्माण सडक डिभिजनमार्फत करिब २५ करोड रुपैयाँ लागतमा ठेकेदार कम्पनीले गर्दै आएको छ। लिबाङदेखि धाङ्सी हुँदै जलजला पुग्ने करिब ३० किलोमिटर ग्रामीण सडक लामो समयदेखि अवरुद्ध हुँदा पनि अवरोध हटाउनेतर्फ सरोकारवालाले ध्यान दिएका छैनन्।

सडक डिभिजन कार्यालयले ठेक्का लगाएको सो लिबाङ, धाङ्सी हुँदै जलजला पुग्ने सडकमा खसेको पहिरो नहटाइदिँदा स्थानीय क्षुब्ध बनेका छन्। यतिबेला रोल्पा नगरपालिका–१० धवाङका स्थानीय परम्परागत शैलीमा डोको बोकेर खाद्यान्य ओसारपसार गरिरहेका छन्। ‘सडक डिभिजन कार्यालयलाई पटकपटक अनुरोध गरिएको छ तर पनि चासो दिएका छैनन्,’ रोल्पा नगरपालिका–१० का वडाध्यक्ष मानबहादुर खत्रीले भने, ‘कतिपय ठाउँमा त पैदल हिँड्नसमेत असजिलो छ।’

ठेक्का लगाएको कार्यालयले गतिलो अनुगमन नगर्नाले योजनाहरू अलपत्र पर्ने गरेका हुन्। ‘जनगुनासो आएको छ। ठेकेदारको आन्तरिक समस्याले काममा असर गरेको देखिएको छ। निर्माण व्यवसायीले आगामी बुधबारसम्मको समय मागेका छन्।’ लिबाङ, धाङ्सी हुँदै जलजला पुग्ने सडकको जिम्मा पाएको सडक डिभिजन कार्यालय प्रमुख धु्रवकुमार श्रेष्ठले भने, ‘पैसाको समस्या छैन। हामीसँग यो सडकका लागि अझै पाँच करोड बाँकी छ। हाम्रो समस्याभन्दा पनि ठेकेदारको समस्याले रोकिएको हो।’ सडक निर्माण तथा मर्मतका सवालमा ठेकेदारबाट हुने गरेको आलटालले कर्मचारीहरूसमेत दिक्क बनेका छन्।

पश्चिम रोल्पाका धेरै गाउँमा सवारीसाधन चल्न सकेका छैनन। वातावरणीय परीक्षण र प्राविधिक हिसाबले ननापी खनिएका ग्रामीण सडकहरू हरेक वर्षात्पछि बन्द रहने गर्दछन्। पूर्वी रोल्पाका धेरै गाउँहरू यतिबेला सडकबाट छुट्टिएका छन्। स्थानीय तहले खनेका हुन् वा सडक डिभिजन कार्यालयले बनाएका हुन्, रोल्पाका सबै सडक अलपत्र छन्।

प्रकाशित: ३० कार्तिक २०७६ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App