८ वैशाख २०८१ शनिबार
समाज

अनियमितताको नमुना, सडकमा भत्केको कालोपत्रे झिकेर मर्मत सुरु

निर्माणलगत्तै भत्केको लहान–भगवान्पुर–ठाढी सडकको भत्केको भाग झिकेर मर्मत गरिँदै। तस्बिर ः मिथिलेश/नागरिक

लहान - निर्माण कार्य नसकिँदै भत्कन सुरु भएको लहान–भगवान्पुर–ठाढी सडकको कालोपत्रे उप्काएर मर्मतको काम सुरु भएको छ। भत्केको सडकको भाग झिकेर ठेकेदारएभ्च्४४लदकउसनयाँ बेससहितको कालोपत्रे लगाउने काम सुरु गरेको छ।

लहान–भगवान्पुर–ठाढी सडक निर्माणमा भएको अनियमितताका कारण निर्माणलगत्तै कालोपत्रे उप्किन थालेको थियो भने ठाउँठाउँमा सडक भासिएको थियो। यो सडक निर्माणमा भएको अनियमितताबारे नागरिक दैनिकमा निरन्तर सामाचार प्रकाशित भएको थियो।

सम्झौताअनुसार सोे सडकको काम कात्तिक १ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने थियो तर अझसम्म काम पूरा हुनसकेको छैन। सम्झौताअनुसार नै ठेकेदार कम्पनीले भत्केका ठाउँमा सडक मर्मतको काम सुरु गरेको सडक डिभिजन कार्यालय लहानका इन्जिनियर बेचन भण्डारीले बताए।

ठेकेदार कम्पनीका प्रतिनिधि उदय श्रेष्ठका अनुसार बिग्रेको ठाउँमा बेसदेखि नै नयाँ निर्माण गरिनेछ। यस सडकमा ग्राभेललगायत निर्माण सामग्री क्षमताभन्दा बढी बोकेर हुइँकिने टिपरका कारण सडकमा खराबी आएको ठेकेदार कम्पनीको जिकिर छ। ‘हामीले लहान ट्राफिकलाई यस सडकमा अधिक भार बोकेका सवारीको आवागमन नियन्त्रण गर्न गुहार गरेका छौं,’ उनले भने ‘निर्माणको क्रममा कमजोरी भएकै छैन भन्दिनँ। भएका कमजोरीलाई हामी करेक्सन गर्छौं, गरिरहेका छौं।’

निर्माण नसकिँदै भत्किन सुरु गरेको सडक मर्मतका लागि अनुरोध गर्न जाँदा सुरुमा सडकका इन्जिनियरले स्थानीयलाई हप्काएर फर्काएका थिए। सो अनियमितताको घटनाले मिडियामा प्राथमिकता पाएपछि भने सडक मर्मत गर्न ठेकेदार बाध्य भए।

कमजोर बेसमाथि गरिएको कालोपत्रेका कारण निर्माण सम्पन्न नहुँदै सो सडकखण्ड भत्किन थालेको तथ्य छताछुल्ल भएपछि सडक कार्यालयले ठेकेदारलाई भत्किएको सडक मर्मत गराउन दबाब दिएका थिए। भत्किएको सडक मर्मतको काम सुरु भए पनि ठेकेदारले प्राविधिकलाई मिलाएर कतिसम्म गुणस्तरहीन काम गर्दारहेछन् भन्ने प्रष्ट भएको भगवान्पुरका स्थानीय वीरेन्द्र साहले बताए। ‘सुरुमा हामीले सडकका इन्जिनियरलाई गुहार्दा हप्काएर फर्काएका थिए,’ साहले भने, ‘अहिले सो अनियमितताको घटनाले मिडियामा प्राथमिकता पाएपछि सडक मर्मत गर्न ठेकेदार बाध्य भए।’

भगवान्पुर माध्यमिक विद्यालयदेखि स्वास्थ्य केन्द्रसम्म करिब पाँच सय मिटर कालोपत्रे सडकमा भत्किएका दर्जनौं स्थानको मर्मत काम भइरहेको छ। भासिएर धाजा फाटेको सडकलाई भत्काएर बेसबाटै निर्माण तथा मर्मत सुरु गरिएको छ।

खुकुलो र कमजोर बेसका कारण उप्किएको कालोपत्रेको भत्केको भाग झिकेर मर्मत गरिएपछि पनि सडक टिकाउ नहुने हो कि भनेर स्थानीय निराश छन्। कारण हो अधिक भार बोकेर गुड्ने टिपरहरू।

सात किलोमिटर चार सय ५० मिटर लम्बाइ रहेको सो सडक एपेक्स–उदय जेभीले पाँच करोड ३५ लाख ४७ हजार रुपैयाँमा कालोपत्रे गर्ने भन्दै सडक डिभिजन कार्यालयसँग २०७५ जेठ २ गते ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०७६ कात्तिक १ सम्म काम सकिसक्नुपर्ने हो। तर म्याद सकिए पनि सम्झौताअनुरूपको झन्डै एक किलोमिटर कालोपत्रे गर्न बाँकी छ। सडक कार्यालय लहानका सूचना अधिकारी इन्जिनियर भण्डारीका अनुसार ठेकेदार कम्पनीले अहिलेसम्म चार करोड तीन लाख रकम भुक्तानी लिइसकेको छ।

बन्दै गरेको सडकको महेशबारी चोकदेखि भगवान्पुरसम्म ठाउँठाउँमा कालोपत्रे उप्किएर गहिरो खाल्डो परेका छन्। इन्जिनियर भण्डारीका अनुसार उप्किएको ती ठाउँमा मर्मत हुनेछ। सो सडकखण्डको ठेक्का निर्माण कम्पनीले निर्धारित ठेक्का रकमको करिब ४० प्रतिशत कम रकममा साकार गरेको सडक कार्यालयले जनाएको छ।

लहान र सीमावर्ती भारतीय सहर लौकाहासँग सम्पर्क स्थापित गर्ने यो सडक वर्षौदेखि बेवास्ताको सिकार बन्दा जीर्ण भइसकेको थियो। १० वर्षअघि जिल्ला विकास समिति मातहतमा ल्याइएको यो सडक कालोपत्रे गर्न सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत जिल्ला विकास समितिले लगानी गर्दै आएको थियो। तर तराई–मधेसमा त्यो बेला जनतान्त्रिक तराई मुक्ति मोर्चाका नामबाट भएको हिंसात्मक गतिविधिमा परी यो परियोजनामा काम गर्ने इन्जिनियर नवराज विष्ट मारिएका थिए। त्यसपछि सडक निर्माण बीचमै रोकिएको थियो।

पाँच नम्बर सडक डिभिजन कार्यालय लहानको मातहतमा आएपछि यो सडक कालोपत्रेको काम अगाडि बढेको हो। २०७३ देखि लहान–भगवान्पुर–ठाढी सडकको काम सुुरु भई अहिलेसम्म करिब १५ किलोमिटर कालोपत्रे भइसकेको छ। अगाडि बन्दै र पछाडि भत्किँदै गएको १८ किलोमिटर दूरीको यो सडक तीन वर्षअघि निर्माण भएको लहानदेखि पाँच किलोमिटर दक्षिण कालोपत्रेको अवशेषमात्र बाँकी छ।

प्रकाशित: ३० कार्तिक २०७६ ०१:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App