७ वैशाख २०८१ शुक्रबार
समाज

चेक कीर्ते आरोपमा प्रहरी जवान पक्राउ

जलेश्वर- जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। प्रहरी जवान द्विवेदीले बिहीबार महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको राष्ट्रिय बाणिज्य बैंक जलेश्वर शाखामा आफ्नै नामको तीन हजारको एउटा र चार हजारको अर्को चेक गरी जम्मा सात हजार रुपैयाँको चेक बैंकमा माथिल्लो कोठाबाट सदर गरी पुनः तीन हजार रुपैयाँका स्थानमा ३० हजार रुपैयाँ र चार हजार रुपैयाँको स्थानमा ४० हजार रुपैयाँ लेखेर सो बैंकबाट सात हजार रुपैयाँको ठाउँमा ७० हजार रुपैयाँ झिकेको बैंकका प्रबन्धक शिवशंकर यादवले बताए।

बैंकमा बिहीबार बेलुका हिसाब मिलान गर्दा हिसाब नमिलेपछि सबै चेकलाई जाँचबुझ गर्दै जाँदा प्रहरी जवान द्विवेदीले आफ्नै दुबै चेकमा केरमेट गरेको भेटिएपछि बैंक प्रबन्धक यादवले राति नै महोत्तरीका प्रहरी उपरीक्षक अधिकारीलाई सो कुराको जानकारी गराएपछि प्रज द्विवेदीलाई प्रहरी कार्यालयमा पक्राउ गरी राखिएको हो।

प्रहरी उपरीक्षक अधिकारीले कीर्ते र ठगी गर्ने व्यक्ति प्रहरी हुनलायक नरहेको बताउदैं प्रहरी जवान द्विवेदीलाई कारवाही स्वरुप निलम्बन गरिने प्रक्रिया अगाडि बढाइएको बताए।

प्रकाशित: २९ कार्तिक २०७६ ०९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App