coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चालीस वर्ष पुरानो नयाँपुल बजार खाली गरिदैं

दोलखाको भीमेश्वर नगरपालिका ५ स्थित नयाँपुल बजार। तस्विर: नागरिक

दोलखा - दोलखा जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेर ४० वर्षदेखि बसालिएको एउटा बजारका घरटहरा हटाएर खाली गराउने तयारी थालेको छ। सडक र वनक्षेत्र अतिक्रमण गरेर ४ दशकअघि बसालिएको जिल्लाको भीमेश्वर नगरपालिका ५ स्थित, तामाकोसी नदी किनारको नयाँपुल बजारलाई खाली गराउन प्रशासनले सूचना टाँसदेखि सर्वपक्षिय बैठकमार्फत निर्णय गराउने सम्मका सबै खाले पूर्व तयारी गरेको छ।

लामोसाँघु–जिरी सडक बिस्तार र बजार क्षेत्रमै निर्माण हुन लागेको दोहोरो लेनको पुल बनाउन बजारका घर टहराले अवरोध पु-याएपछि स्थानीय अधिकारीहरुलाई सार्वजनिक जग्गा अतिक्रमण गरेर चार दशक अघिको यो पुरानो बजार खाली गराउन दबाब परेको हो। बिहिबार प्रशासनमा भएको सर्वपक्षिय बैठकपछि मंसिर पहिलो साता भित्र अतिक्रमित क्षेत्र आफैं छोड्न स्थानीयलाई सूचना दिइएको छ।

‘मंसिर पहिलो साता सम्म स्थानीयले आफैं खाली गरेनन, भने कानुन अनुसार बल प्रयोग गरेर हटाउछौं’ बैठकपछि प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भने – ‘खाली हुँदा सिङगै बजार क्षेत्र उठ्नेछ’। उनले यसअघि सडक डिभिजन कार्यालयले पटक पटक सूचना प्रकाशन गर्दा सडक र वन क्षेत्र अतिक्रमण गरेर बनाइएका टहरा नहटाइएको जानकारी दिदैं मंसिर पहिलो साता हटाउन लागिएको सुनाए। सडक डिभिजनले अन्तिम पटक प्रकाशन गरेको सुचनाको म्याद यही कार्तिक मसान्तमा सकिदैछ। स्थानीय जनप्रतिनिधिहरुको आग्रहमा एक साता म्याद थप गरिएको प्रशासनले जनाएको छ। ‘जनप्रतिनिधिहरुले सकेसम्म बल प्रयोग गरेर भन्दा पनि समन्वय गरेर हटाउने अन्तिम कोशिश गर्छौ भन्नुभएकाले मंसिर पहिलो साता सम्मको म्याद दिएका हौं’ रिजालले भने।

२०३४ सालमा स्विस सरकारले अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको खाडीचौर बजारबाट सुरु हुने लामोसाँघु–जिरी सडक खन्न शुरु गरेको दुई वर्षपछि यो बजार रहेको स्थानमा सडक आइपुगेको थियो। जिल्लाका जिरी, मैनापोखरी सहित दक्षिणी र पूर्वी भेग साथै रामेछापको सदरमुकाम मन्थली तर्फ जाने यात्रुहरुको प्रमुख गन्तव्य बनेपछि यहाँ बिस्तारै बजार बस्न शुरु ग¥यो। किरातीछाप, नाम्दु, फस्कु, भिरकोट, पवटी सहित वरपरका मानिसहरु झरेर यहाँ कटेरो हालेर बस्न थाले। छेउमै पुल समेत निर्माण हुँदै गएकाले स्थानीयले यो बजारको नाम नयाँपुल राखेका थिए। ५० को दशक सम्म आइपुग्दा नयाँपुल जिल्लाकै प्रमुख बजारका रुपमा गनिन थाल्यो। तामाकोसी नदीको किनारामा रहेको यो बजार सडक भएर ओहोरदोहोर गर्नेहरुका लागी माछा खाने प्रमुख ‘हब’ का रुपमा परिचित थियो।  

भुइचालो अघिसम्म बजार क्षेत्रमा १ सय २० घरधुरी थिए। स्थानीयका अनुसार भुइचाला पछि आगलागी समेत भएका कारण केहीले बजार छाडेर गए। अहिले ओल्लो र पल्लो बजारमा गरेर ८० धुरी रहेको अनुमान स्थानयीको छ। भारतीय एक्जीम बैंकको ऋण लगानीमा लामोसाँघु–जिरी सडक बिस्तार र बजार क्षेत्रमै निर्माण हुन लागेको तामाकोसी नदीको पुल बनाउन अतिक्रमित संरचनाहरुले अवरोध पु¥याएपछि बजार खाली गराउने निर्णयमा स्थानीय प्रशासन पुगेको हो। सडकमै टसाएर अतिक्रमण गरी बनाइएका संरचनाले सडक बिस्तार र पुललाई समेत अवरोध पु¥याएको डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख धर्मेन्द्र कुमार झाले बताए। ‘यसअघि नै पटक पटक सूचना प्रकाशन गरिसकेका थियौं’ उनले भने।

यो सडक क्षेत्र बाहेक बजारबाट दाहिने मोडिएर जाने नयाँपुल–पवटी–डाडाखर्क सडकलाई समेत ओल्लोदेखि पल्लो बजारसम्म जोडिएका घर टहराले अवरोध पु-याइरहेका छन्। सिताकुण्ड सामुदायिक वनको जग्गामा पर्ने यो क्षेत्र समेत एकै पटक खाली गराउन लागिएको प्रशासनले बताएको छ।

अन्यत्र पनि हटाइदैं
प्रजिअ रिजालका अनुसार प्रशासनले पहिलो चरणमा नयाँपुल बजारसहित लामोसाँङघु जिरी सडक अन्तर्गत दोलखा जिल्लाको सिमानादेखि चरिकोट हुँदै मैनापोखरी र जिरीसम्म सडक अतिक्रमण गरेर बनाइएका टहरा हटाउने छ। पहिलो चरणमा नयाँपुल बजार र लामोसाघु जिरी सडकको अतिक्रमण हटाइनेछ। दोश्रो चरणमा जिल्ला भर सार्वजनिक जग्गा मिचेर ठड्याइएका अतिक्रमण हटाउने तयारी प्रशासनको छ।

प्रकाशित: २९ कार्तिक २०७६ ०३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App