७ वैशाख २०८१ शुक्रबार
विचार

कस्तो शिक्षा ?

मिरा शर्मा बेडारी
नयाँ प्रविधिको आविष्कारको परिणामस्वरूप घरका प्रत्येक व्यक्तिले आफूलाई एक्ल्याएका छन्। झगडा र मतभेदले गर्दा परिवार, समाज र देशबाटै एकता, प्रेम र शान्ति हराइसकेको छ। यस्ता अशान्तमय अवस्थाबाट हाम्रो समाज गुज्रिँदै गएको सबैले महसुस गरेकै छन्। अब यस्तो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने चुनौती हामीमा आएको छ। त्यसैले हामीले परापूर्वकालदेखि ज्ञानी पुरुषहरूले देखाएको ज्ञानका बाटा अंगाल्नुपर्छ।

सबैको तरिका फरक फरक भएपनि उद्देश्य एउटै छ– मानिस समाजमा खुसी र शान्तिसँग बाँच्न सकून्। यी विभिन्न बाटामध्ये सत्य साइको मानव अम्युदय शिक्षा उल्लेखनीय मानिन्छ। किनभने यसमा शिक्षाको महत्व साइले प्रस्टरूपमा व्याख्या गरेका छन्। उनी भन्छन्– शिक्षा दुई किसिमका हुन्छन्, १) भौतिक शिक्षा (जो आजको समाजमा स्कुल कलेजद्वारा दिइन्छ) र २) आध्यात्मिक शिक्षा। उनी भन्छन्– यो संसारमा खुसी र शान्तिसँग बाँच्नका लागि दुवै किसिमका शिक्षाको आवश्यकता पर्छ। दुवै शिक्षा एकैसाथ दिनुपर्छ। तर आज स्कुलहरूमा भौतिक शिक्षामात्र दिइन्छ तर आध्यात्मिक शिक्षाको नामोनिशान छैन।

शिक्षा यस्तो हुनुपर्छ जसले एउटा व्यक्तिले अर्को व्यक्तिलाई हेर्ने तरिकामा परिवर्तन ल्याओस्। शिक्षा मानिसको मन, हृदय परिवर्तन गर्न सक्ने क्षमता भएको हुनुपर्छ। त्यसैले साइ भन्छन्– मानव अभ्युदय शिक्षाको माध्यमबाट व्यक्ति, परिवार समाज र विश्वमै परिवर्तन ल्याउन सकिन्छ। जाति, धर्म, रंग, वर्ण भेदलाई एकातिर पन्छाएर मानव हातमा हात मिलाएर अघि बढ्न सक्नेछ। यसले हृदयमा रूपान्तरण ल्याउनेछ।

भौतिक शिक्षा भनेको पेट पाल्ने माध्यम हो। बाँच्नका लागि पैसा चाहिन्छ। घर, भोजन, छोराछोरीको शिक्षा दीक्षा इत्यादिका लागि आवश्यक पैसा यो शिक्षाबाट प्राप्त गर्न सकिन्छ। त्यसैले यो शिक्षा आवश्यक छ। साइ भन्छन्– शिक्षा अरुलाई जित्नका लागि हैन। सत्रुलाई जित्न र भाषा र तर्कमा विद्वता प्राप्त गर्नका लागि हैन। शिक्षाले अनेकतामा एकता ल्याओस्। सबैलाई आफू जस्तै सम्झियोस्। जीवनमा आइपर्ने समस्यालाई शान्त मनले बुद्धिमानीपूर्वक समाधान गरोस्। यो मानव अम्युदय शिक्षाले सत्य, धर्म, शान्ति प्रेम र अहिंसालाई अंगालेको छ। त्यसैलाई ध्यानमा राखेर मानिसलाई आफ्नो कर्मगर्न सिकाउँछ।

यो शिक्षाले व्यक्तिमा आत्मविश्वास, आत्मसन्तुष्टि, त्याग र रूपान्तरण ल्याउँछ जसको परिणामस्वरूप आफूलाई चिन्नमा सहयोग पु¥याउँछ। यो शिक्षा सानैदेखि नै सुरु गर्नुपर्छ किनकि साइ भन्छन्– सानो बाङ्गो बिरुवालाई सजिलै सिधा पार्न सकिन्छ, ठूलो रुख भएपछि सकिँदैन। यो शिक्षाले बालबालिकाभित्र भएको दैवत्वलाई प्रस्फुटित गर्छ। यो बच्चाहरूलाई दिइने शिक्षालाई बाल विकासको नाउँले जानिन्छ।

२०१० को तथ्यांकअनुसार भारतबाट दश लाख विद्यार्थी(बालबालिका) ले बालविकास शिक्षाबाट ग्राजुएट गरे। १६६८१ साइ केन्द्रमा १९७३७ गुरु छन्। यस अतिरिक्त विश्वभरि २०३८ साइ केन्द्र छन् र यिनीहरू सबैले बालविकासद्वारा बालबालिकाहरुलाई शिक्षा दिइरहेका छन्। सबैभन्दा धेरै थाइलल्यान्डले ६०००० व्यक्तिलाई गुरु तालिम दिएको छ किनकि यो शिक्षामा गुरुको महŒवपूर्ण भूमिका छ। नेपालका साइ केन्द्रहरूले पनि यो शिक्षा बालबालिकालाई वर्षौँदेखि दिइआएका छन्।

यो शिक्षा ग्रहण गरेका विद्यार्थी नगरेका भन्दा बढी सहनशील, दयालु, अनुशासित, भद्र, मिलनसार, छिटो सुत्न जाने र बिहान चाँडै उठ्ने, टेलिभिजन कम हेर्ने, पढ्नमा ध्यान दिने, खानेकुरा, पैसा, समय र ऊर्जा नष्ट नगर्ने भनेर स्कुलहरूमा चिनिएका छन्।यसरी बालविकासमा व्यक्तित्वको विकास प्रचुर मात्रामा भएका उदाहरण प्रशस्त पाइएको छ।

प्रकाशित: २९ कार्तिक २०७६ ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App