७ वैशाख २०८१ शुक्रबार
कला

फिल्म साउथ एसिया : वाक् स्वतन्त्रता र सामाजिक यथार्थ कथाको वर्चश्व

ललितपुर – दक्षिण एसियाली डकुमेन्ट्रीहरुलाई समेटिएर ‘फिल्म साउथ एसिया’ नामक फिल्म महोत्सव सुरु भएको छ। नेपाली लोक पप ब्याण्ड नेपथ्यका गायक अमृत गुरुङले बिहीबार ललितपुरको यलमाया केन्द्रमा महोत्सवको उद्घाटन गरेका थिए।

उद्धाटनलगत्तै पाकिस्तानी फिल्ममेकर जावेद सरिफको लोक संगीतमा आधारित ‘इन्दुज्स ब्लुज्स्’ डकुमेन्ट्री प्रदर्शन गरिएको थियो। यो महोत्सवको १२ औं संस्करण हो। सन् १९९७ देखि प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको महोत्सव यलमाया केन्द्रमा चार दिन चल्नेछ।

‘ह्वेयर द माइन्ड इज फ्री’ नारासहित सुरु भएको महोत्सवमा मानवको वाक् स्वतन्त्रता, अधिकार र सामाजिक यथार्थलाई समेटेर प्रस्तुत गरिएका ६३ डकुमेन्ट्री प्रदर्शन भइरहेका छन्। त्यसबाहेक महोत्सवमा फिल्मकर्मीहरुले छलफल गर्नेछन्। ‘फिल्म साउथ एसिया २०१९’ मा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, बंगलादेश, अफगानस्तान र म्यानमारलगायतका देशबाट २५ सयभन्दा बढी डकुमेन्ट्री प्राप्त भएको जानकारी आयोजकले दिएको छ।

महोत्सवको पहिलो दिन विद्यार्थीहरुले बनाएका १२ वटा डकुमेन्टी«मध्ये नेपाल, भारत, पाकिस्तान, तिब्बत र म्यानमारका डकुमेन्ट्री प्रदर्शन भएका थिए। महोत्सवमा प्रदर्शन भएको ‘द विन्टर ट्याप’ डकुमेन्ट्रीमा हिमाली गाउँमा भएको पानीको समस्या र समाधानको उपाय देखाइएको छ। पहाडी भेगमा चिसो मौसममा पानी कसरी घरसम्म लिएर जाने, भनी सरल माध्यमबाट देखाउन खोजिएको छ।

‘मेमोरिज अफ सायरा एन्ड सलिम’ नामक डकुमेन्ट्रीमा निर्दोष नागरिकले बिनाकारण घर परिवार गुमाउनु परेको अवस्थाको बयान गरिएको छ। भारतका फिल्म निर्देशक अनिकेत प्रकाश देवरेले निर्देशन गरेको ‘त्रिकोण’ डकुमेन्ट्रीमा पर्दा पछाडिका साहसिक महिलाहरूको कथा समावेश गरिएको छ। महोत्सवको पहिलो दिन ‘द विन्टर ट्याप’, ‘होटल नाज’, ‘मेमोरिज अफ सायरा एन्ड सलिम’, ‘आकाशवाणी’ र ‘रोशन एन्ड मणि’ लगायत १२ डकुमेन्ट्री देखाइएको थियो।

महोत्सवमा प्रदर्शन हुने डकुमेन्ट्रीहरुले पाँच वटा पुरस्कारका लागि प्रतिस्पर्धा गर्दैछन्। उत्कृष्टले दुई हजार अमेरिकी डलरसहितको रामबहादुर ट्रफी प्राप्त गर्नेछ। रनरअप डकुमेन्ट्रीले एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ भने उत्कृष्ट डेब्यु निर्देशकको डकुमेन्ट्रीले एक हजार अमेरिकी डलरको तारेक मसुद पुरस्कार, बालबालिकाको विषय केन्द्रित उत्कृष्ट डकुमेन्ट्रीले एक हजार अमेरिकी डलरको युनिसेफ पुरस्कार र विद्यार्थीहरूले निर्माण गरेका मध्येको उत्कृष्ट डकुमेन्ट्रीले पाँच सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन्।

महोत्सवका लागि छानिएको ६३ डकुमेन्ट्रीमध्ये विद्यार्थी फिल्मअन्तर्गत १२ वटा फिल्म प्रदर्शन भएका थिए। महोत्सवको आयोजना हिमाल साउथ एसियाले गरिरहेका छ। पत्रकार कुन्द दीक्षित संयोजकत्वमा श्रीलंकाली निर्देशक सुमाथी शिवामोहन र भारतीय कलाकार आयशा अब्राहम सदस्य रहेको निर्णायक समितिले उत्कृष्ट डकुमेन्ट्रीहरू छनोट गर्नेछन्।

दक्षिण एसियाली मानिसका सम–सामयिक मुद्दा र सांस्कृतिक विविधता समेटिएका फिल्महरु महोत्सवमा देखाइने जानकारी आयोजकले गराएको छ। फिल्म साउन एसियाका प्रमुख कनकमणि दीक्षितले महोत्सवमा दक्षिण एसियाली देशको सम–सामाजिक पृष्ठभूमिको प्रतिनिधित्व गर्दै एक अर्काको विचार आदान प्रदान गर्ने फिल्महरु प्रदर्शन भइरहेका छन्।

महोत्सवमा ‘शर्मिला टेगोर’, ‘ट्याप्ड इन कतार’, ‘काबुल, सिटी इन द विन्ड’, ‘बेम्बु स्टोरिज्स्’, ‘आफ्टर सबिन’, ‘अब्बु’, ‘सरोज दत्त एन्ड हिज टाइम्स्’, स्वीमिङ थ्रो द डार्कनेस’ र ‘वि आर विथ डा.केसी’ लगायत फिल्महरु प्रदर्शन भइरहेका छन्। महोत्सव आगामी मंसिर १ सम्म चल्नेछ।

प्रकाशित: २९ कार्तिक २०७६ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App