coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

६ वर्ष बित्यो, बनेन भक्तपुर–नगरकोट सडक

जीर्ण बनेको भक्तपुर–नगरकोट सडक। तस्बिर:नागरिक

काठमाडौं - ठुल्ठुला खाल्डाहरू छन्, कतै निर्माण सामग्री थुपारिएका छन्। धुलोले दिउँसै अन्धकार देखिन्छ। कहिले जाम भएर सवारीको लर्को देखिन्छ। भक्तपुर–नगरकोट सडकको यो दृश्यले सो सडकखण्डमा यात्रा गर्ने जोकोहीले एउटा युद्धको अनुभव गर्नुपर्छ।

स्थानीयले कालोपत्रेको माग राखेर विरोध गर्दै आएको ६ वर्ष बितिसक्यो। तर, अहिलेसम्म पनि कामले तीव्रता पाउन सकेको छैन। सडक निर्माणमा ढिलाइ भएको भन्दै नगरकोट नाल्दुम पर्यटन विकास समिति र स्थानीयले बुधबार ठेकेदार कम्पनी सैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीको फोटोमा कुकुर र बादर जोडेर सवारीसाधनको पछाडि तथा चोकचोकमा टाँगेर विरोध गरेका छन्। अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन्। ठेकेदारको चरम लापरबाहीका कारण सडक विस्तार र कालोपत्रे नहुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलोबाट स्थानीय आक्रान्त छन्।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले समयमा सडक निर्माण नहुँदा सो सडकमा यात्रा गर्न नसकिएको बताए। ‘सडकका विभिन्न ठाउँमा खाल्डैखाल्डा छन्। दिउँसै रात पर्छ,’ अध्यक्ष गुरुङले भने, ‘भक्तपुर–नगरकोट सडकमा यात्रा गर्न सकिँदैन। भक्तपुर स्कुलमा पढ्न जाने बालबालिका यसबाट धेरै सास्ती खेप्न बाध्य छन्। सडक विस्तारको नाममा हाम्रो स्वास्थ्यमाथि खेलवाड गरियो।’ उनले सडक पिचको माग गर्दै पटकपटक आन्दोलन गरे पनि कुनै मागको सुनुवाइ नभएको गुनासो गरे। ‘गत वैशाखको वार्तामा तीन महिनामै सडक कालोपत्रे गर्र्ने आश्वासन दिइएको थियो,’ उनले भने, ‘तर, काम भने हुन सकेन। स्थानीयले धेरै दुःख भोग्दै आएका छौं।

नगरकोट नाल्दुम पर्यटन विकास समिति र स्थानीयले बुधबार ठेकेदार कम्पनी सैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीको फोटोमा कुकुर र बादरसँग जोडेर सवारीसाधनको पछाडि तथा चोकचोकमा टाँगेर विरोध गरेका छन्। अधिकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन्।

छिटो काम सकियोस् भनी दबाब दिन ठेकेदारको फोटो टाँस्नसमेत बाध्य भयौं।’ उनका अनुसार कमलविनायक भत्केको पाटीबाट कृष्णमन्दिरसम्मको करिब दुई किमि सडक मात्र निर्माण गरिएको छ। तर, टिकाउ खालका कालोपत्रे भने गरिएको छैन। कमजोर सडकमा पेटी र वाल लगाइएको छ। त्यसपछि नगरकोटसम्मको सडकखण्ड सबै जीर्ण छ। सो सडक खाल्डैखाल्डा भएकाले स्थानीयले प्रायः अर्कै विकल्प खोजेर ओहोरदोहोर गर्दै आएका छन्।

उनले सडक विस्तार हुन नसक्दा पर्यटन व्यवसायी धराशयी अवस्थामा पुगेको समेत बताए। उनले भने, ‘छिटो सडक पिच गराउन सबै सरकारी निकायलाई ध्यानाकर्षण गरायौं। काम भने हुन सकेन।’ वर्षा सुरु हुनुभन्दा अगाडि नै सबै सडक कालोपत्रे गरिनुपर्ने स्थानीयको माग छ। गुरुङले ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्र्नुपर्नेमा उल्टै म्याद थप गरेर सोही ठेकेदारलाई निर्माणका लागि जिम्मा दिएको बताए।

सैलुङ–अरभाली इन्फ्रापावर जेभीले २०७० र ७१ मा भक्तपुरको भत्केको पाटीदेखि नगरकोटसम्म साढे १५ किलोमिटर सडक विस्तार र कालोपत्रे गर्ने ठेक्का पाएको थियो। सो सडक जेभीले दुई वर्षभित्र काम गर्नेगरी २७ करोड ९० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। तर सो सडकको प्रगति ६ वर्ष बित्दासमेत अहिले ६५ प्रतिशत मात्रै देखिन्छ। सो सडक योजनाकी इन्जिनियर सरला न्यौपाने ठेकेदारकै लापरबाहीले काम ढिलाइ भएको बताउँछिन्। ‘साइड क्लियरेन्स गर्नमै दुई वर्ष लाग्यो,’ उनले भनिन्, ‘ठेकेदारको लापरबाहीले पनि समयमा काम हुन सकेन। अहिले स्टक्चर मर्मतको काम भइरहेको छ।’

ठेकेदारले कामदारलाई पैसा नदिएकाले पनि काम छिटो हुन नसकेको उनले बताइन्। उनले आगामी वैशाख ७ गते सक्ने गरी फेरि म्याद थप गरेको र सो समयमा पनि काम नसके कारबाही गर्ने दाबी गरिन्। उनले भनिन्, ‘सार्वजनिक खरिद नियमावलीको आठौं संशोधनअनुसार सो ठेकेदार कम्पनीलाई थप म्याद बढाउन सडक विभागमा सिफारिस गरिएको हो। म्याद थप गरेको समयमा काम नसकाए कारबाही गरिन्छ। अहिले पनि हर्जना तिराउँदै आएका छौं।’ उनले तीन किमि सडकको फस्ट कोड कालोपत्रे गरेको बताइन्। उनका अनुसार चिसो मौसम लागेकाले अरू काम भए पनि अब पिचको काम हुँदैन। माघ–फागुनमा मात्रै सडक कालोपत्रे गरिनेछ।

अधिकारीको फोटो टाँसेको विषयमा उनले काम ढिलाइ भएपछि जनआक्रोस पोख्नु स्वाभाविक रहेको बताइन्। ‘अहिलेसम्म पनि सडक कालोपत्रे नहुँदा यात्रुले धेरै सास्ती खेप्नु परेकोमा म मनन गर्छु,’ उनले भनिन्, ‘यस्तो समस्या हुँदा स्थानीयले जनआक्रोस पोख्नु स्वाभाविकै हो।’ यस विषयमा कुरा गर्न सैलुङ कन्स्ट्रक्सनका निर्देशक रमेश सुवेदीलाई फोन गर्दा उनले फोन रिसिभ गरेनन्। नेपाल भ्रमण वर्ष २०२० नजिकिए पनि एक पर्यटकीय आकर्षण केन्द्र मानिने भक्तपुर–नगरकोट सडक समयमा बन्ने छाँटकाँट देखिँदैन।

भक्तपुर–नगरकोट सडक मात्रै नभई त्रिपुरेश्वर–कंलकी–नागढुंगा सडक, बालाजु–रानीपौवा सडक, रुग्ण, ढोलाहिटी–सरस्वती कुण्ड सडक– कपन आकाशेधारा सडक, आकाशेधारा–बालुवाखानी सडक निर्माणको काम पनि अपूरै छ। यी सडक लथालिंग छाड्दा पनि राजनीतिक आडमा सैलुङ कन्स्ट्रक्सन प्रालि कालोसूचीमा पर्नबाट जोगिँदै आएका छन्।

प्रकाशित: २९ कार्तिक २०७६ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App