वार्षिक २५ अर्बको मोबाइल बजार ब्यवस्थित हुँदै

बुधबार, २२ मङि्सर २०७३, ११ : ५२ नागरिक

हालै, मोबाइल फोन आयातकर्ताहरूले आफ्नो छाता संगठनको रुपमा मोबाइल फोन इम्पोर्टस् एसोसिएसन गठन गरेका छन्। मोबाइल फोन उपभोक्तालाई राम्रो सुविधा दिन, नेपाल दूरसञ्चार प्राधिकरणसँग सहकार्य गर्न र आफ्नो हकहितलाई ध्यानमा राखेर संघ खोलेको उनीहरूको भनाइ छ। यसै सन्दर्भमा किन संघको आवश्यकता पर्‍यो, मोबाइल आयात, मोबाइल बजार लगायतका विषयमा नागरिकका कुबेर चालिसे र सन्तोष न्यौपानेले एसोसिएसनका नवनियुक्त अध्यक्ष तथा सामसङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसका अध्यक्ष दीपक मल्होत्रासँग गरेको कुराकानी:

तपाईंहरूले मोबाइल आयातकर्ताहरूको संघ गठन गर्नुभएको छ । किन आवश्यक पर्यो संघ ?

खासमा भन्ने हो एसोसिएसन बनाउनु राम्रो कुरा होइन । सबै कुरा कानुनले चल्ने हो । जहाँ कानुनी राज्य हुन्छ भने किन चाहियो एसोसिएसन ? किन चाहियो ट्रेड युनियन ? भन्ने प्रश्न उठ्छ । बिडम्बना यहाँ कानुन कार्यान्वयन हुँदैन । ‘ल एन्ड अर्डर’ छैन । कार्यान्वयन फितलो छ । त्यसैले हरेक क्षेत्रमा एसोसिएसन खोलिएका छन् । जबसम्म राजनीतिक स्थायित्व हुँदैन, कानुनी राज्य हँुदैन तबसम्म यस्तो एसोसिएनसन आवश्यक छ भन्ने लागेर खोल्नुपरेको हो । मोबाइल फोनका यति ठूलो बजार छ तर आयातकर्ताको अहिलेसम्म एसोसिएसन थिएन ।

अर्को कुरा, हामीले हाम्रो समस्यालाई व्यक्तिगत रुपमा लिएर जाँदा त्यसलाई गम्भिर रुपमा नहेरेको देखियो। सामूहिक रुपमा आवाज उठ्दा कामहरू छिटो कार्यान्वयन भएको देखेका छौं । नेपाल दूरसञ्चार प्राधिकरणसँग सहकार्य गर्नका लागि पनि यो संघ आवश्यक परेको हो । एसोसिएसन खोलेको बाहिर आउँदा नै यसको प्रभाव पर्न थालेको छ।

सबै ठाउँमा संघ, संगठन खोलिए र ती ठाउँमा कार्टेलिङ, सिन्डिकेट पनि भए, कतै यो संस्था पनि त्यो बाटोमा जाने त होइन?

विल्कुलै त्यस्तो हुँदैन । कार्टेलिङ भन्ने हामीले सोचेका पनि छैनौं । हाम्रो उद्देश्य उपभोक्तालाई कसरी राम्रो सुविधा दिने, सस्तोभन्दा सस्तो मोबाइल कसरी उपलब्ध गराउने भन्ने छ र अब पनि त्यही रहने छ। छिटोछरितो कसरी गर्ने, बिक्रीपछिको सेवालाई कसरी प्रभावकारी बनाउने, सक्कली सामान बिक्रीवितरण गर्ने भन्ने नै हाम्रो उद्देश्य हो । एसोसिएसन भएको खण्डमा यी सबै विषयलाई एकजुट भएर कार्यान्वयन गर्न सक्छौं भन्ने महसुस भएर पनि यो संघ खोलेका हौं ।

तपाईं नेपालमा मोबाइल हेन्डसेट ल्याउने पुरानो आयातकर्ता हुनुहुन्छ । त्यो बेला नेपालको बजार कस्तो थियो ।

नेपालमा मोबाइल फोन आएको १८ वर्ष भयो । मैले १९९६ बाट नेपालमा मोबाइल हेन्ड सेट आयात गर्न थालेका हुँ । त्यही बेला भारतमा पहिलोपटक मोबाइल सेट सार्वजनिक भएको थियो । त्यो बेला भारतमा भन्सार धेरै महँगो भएकाले नेपालमा आउने पर्यटकले यहाँ मोबाइल किनेर जान्थे । त्यो बेला एरिक्सन, पानासोनिक, नोकिया, मोटोरोला जस्ता ब्रान्डका मोबाइल आयात हुन्थे । २००१ सम्म मैले सबै ब्रान्डका मोबाइल ल्याएँ । २००१ मा सामसङको आधिकारिक बिक्रेता भएपछि अरु ल्याउन छोडिदिएँ ।

त्यस्तै, सर्वप्रथम नेपाल टेलिकमले सन् १९९८ मा जब मोबाइल फोन सुरु ग¥यो । सुरुमा १० हजार मोबाइल सिम वितरण गरेको थियो । त्यो १० हजार सिम सक्न झन्डै २ वर्ष लागेको थियो । त्यो बेला अत्यन्तै महँगो थियो । कल गरेको ८ र रिसिभ गरेको ४ रुपैयाँ हाराहारी थियो ।

त्यसरी सुरु भएको मोबाइल विस्तारै सस्तो हुँदै गयो । रिसिभ कल निःशुल्क भयो । विस्तारै मोबाइल सेटको मार्केट बन्न थाल्यो । २००१ मा पहिलो पटक सामसङ मोबाइल ल्याँउदा वर्षमा ४–५ हजार सेट पनि बिक्री हुँदैनथ्यो ।

नेपालमा कति आयातकर्ता छन् ? कस्ता ब्रान्ड छन् नेपालमा ?

नेपाल अहिले ४०–४५ वटा ब्रान्डका मोबाइल आयात भइरहेका छन् । जसमध्ये २२–२५ वटा अन्तर्राष्ट्रिय स्तरका संसारभर चलेका ब्रान्ड छन् । बाँकी केही ब्रान्ड कुनै देशमा चलेका पनि छन् । ती भनेको एकपटक आउने अर्कोपटक आउँछन् आउँदैनन् निश्चित हँुदैन ।

आयातकर्ता करिब २५ जना जति छन् । त्यसमध्ये १६ जना हाम्रो नयाँ बनेको एसोसिएसनमा हुनुहुन्छ । १–२ जना छुट्नुभएको छ । उहाँहरू पनि आउनु हुन्छ । बाँकी रहेका आयातकर्ता कस्तो भने एकपटक सामान आयो बजारमा पठायो सकियो । त्यसलाई ट्रेडिङ भनिन्छ । अनब्रान्डेड मोबाइलहरू ट्रेडिङका रुपमा आउँछन् ।

सहरका मान्छेले ज्ञान भएकाले ब्रान्डेड मोबाइल किन्नुहुन्छ तर गाउँघरमा अहिले पनि थाहा नभएकाले त्यस्ता अनब्रान्डेड मोबाइल किनिरहनुभएको छ । यो सस्तो पनि हुन्छ ।

अहिले नेपालमा मोबाइल बजार कस्तो छ ?

अहिले कानुनी माध्यमबाट मात्रै मासिक ४ लाख सेट आयात हुन्छ । त्यसमा सामसङ ६०–७० हजार सेट आउँछन् । मूल्यका हिसाबले हेर्ने हो भने कानुनी माध्यमबाट वर्षको जम्मा २५ अर्बको मोबाइल आउँछ । त्यसमा सामसङको हिस्सा झन्डै १२ अर्ब रुपैयाँ रहेको छ ।

कारोबार ठूलो भए पनि नाफाको सिमा २१–२२ प्रतिशत मात्र छ । भन्सार बिन्दुको मूल्य (सिआइएफ) र अधिकतम खुद्रा मूल्य (एमआरपी)को ग्याप भनेको जम्मा २१–२२ प्रतिशत मात्र हो । किन भने डिलरले ५ प्रतिशत उपभोक्तालाई छुट दिएको हुन्छ । मोबाइल फाने भने यस्तो आइटम हो, जहाँ नाफा धेरै कम छ।

अर्को बिडम्बना के छ भनेर संसार कही पनि मोबाइल फोन उधारोमा कारोबार हँुदैन । नेपालमा मात्र यस्तो भइरहेको छ । पैसा उठाउन गाह्रो छ । त्यसैले हामी यो पेसालाई कसरी शुद्ध प्रतिस्पर्धात्मक बनाउने भनेर लागिरहेका छौं ।

अहिलेको प्रमुख समस्या के छ ?

अहिले जसरी नेपाल दूरसञ्चार प्राधिकरणले आइएमइआई नम्बर दर्ता गर्ने भनेको छ यो सिस्टम लागु गर्नु अहिलेको चुनौती हो । यसले चोरी पैठारी, ग्रे मार्केटलाई कम गथ्र्यो भन्ने विश्वास छ । यसले आपराधिक समस्यालाई पनि कम गर्ने थियो । हामीले यो लागू गर्न जोडदार माग गरिरहेका छौं ।

मोबाइल बजारले राज्यलाई कति राजस्व तिर्छ ? चोरी पैठारी रोकियो भने कति प्रतिशतसम्म राजस्व वृद्धि हुन सक्छ ?

अनाधिकृत बजार रोकियो भने झन्डै दोब्बर राजस्व वृद्धि हुने देखिन्छ । किनभने, सरकारले सुरुसुरुमा हामीले तिरेको ६० प्रतिशत कर फिर्ता गथ्र्यो । त्यसपछि ५० र अहिले ४० प्रतिशत छ । अब त्यो ४० पनि नदिने भनिरहेको छ । यस हिसाबले पनि ८० प्रतिशतभन्दा धेरै राजस्व बढ्ने देखियो ।

अहिले सरकारलाई वार्षिक २ अर्बभन्दा धेरै राजस्व तिर्छौं । मोबाइल फोनबाट मात्रै सरकारलाई भ्याटका रुपमा १ अर्ब ७० करोड रुपैयाँ जान्छ । डिस्ट्रिब्युटर, डिलरले पनि भ्यालु एड गर्छन् । त्यसबाट पनि कमाइ हुने भयो ।

आजको दिनमा राजस्व मात्र ठूलो कुरा होइन । मोबाइल फोनका भनेको नभई नहुने वस्तु भयो । यो आवश्यकता र जीवनशैली भयो । जति पनि ठूला अपराध समाधान भइरहेका छन्, मोबाइल फोनबाट भएका छन् । अर्को कुरा अहिले मोबाइल फोनमा नभएको केही छैन । हरेक कुरा मोबाइल एप्सबाट भइरहेको छ ।

एकातिर एसोसिएसन भयो, अर्कोतिर भ्याट फिर्ता भएन पनि भन्नुहुन्छ । यी दुई एक ठाउँमा राखेर हेर्दा उपभोक्ता मर्कामा पर्ने त होइनन् ?

भोलि भ्याट फिर्ता भएन भनेर हामीले हाम्रो नाफाको सीमा बढाउँदैनौं । भोलि यो लागू भएपछि सामानको भाउ अलि माथि जान्छ । ४० प्रतिशत जुन फिर्ता पाउँदैनौं, त्यसपछि सामानको भाउ अलि महँगो त हुन्छ । हामीले सरकारलाई पनि विश्वास दिलाउने प्रयास गर्छौं भ्याट फिर्तालाई यथावत राख्दा उपभोक्तालाई फाइदा हुन्छ भनेर ।

नेपालमा मोबाइल हेन्ड सेट कति होलान ?

नेपालमा सिम कार्डको वितरण लगत लिने हो भने शतप्रतिशतभन्दा धेरै भइसकेको छ । तर त्यसमा कसैले २ सिम वा डेड सिम पनि होलान । अहिले पनि मोबाइल हेन्ड सेटको घनत्व (पेनिट्रेसन) ७० प्रतिशत छ र अझै पनि ३० प्रतिशत बजार खाली नै छ । तर, यसका के कुरा पनि छ भने पहिला फिचर फोन बोक्दा ४–५ वर्ष चल्थ्यो तर अहिले स्मार्टफोन भनेको नेपालमा एभरेजमा २ वर्षभन्दा धेरै उपभोक्ताले बोक्दैनन् । नयाँनयाँ मोबाइल पनि बोक्न चाहन्छन् । अहिले दुई करोड व्यक्तिले मोबाइल हेन्ड सेट बोक्छन् भने वार्षिक १ करोडलाई त नयाँ मोबाइल चाहिन्छ । सेकेन्ड हेन्ड मार्केट छ, केही चोरी पैठारीबाट पनि आएका छन् । यसले गर्दा ठूलो मार्केट छ ।

कहिलेसम्म यो ट्रेन्ड चलिरहन्छ भन्ने कुनै अध्ययन भएको छ ?

विभिन्न समयमा विभिन्न प्रविधि आएका छन् । कुनै समय वाकमेन चल्यो, रेडियो चल्यो, पेजर चल्यो र तिनीहरूको समय गयो । तर, मोबाइल हेन्ड सेट यसरी समाप्त हुन्छ जस्तो लाग्दैन । कुनै नसोचेको आविष्कार भए त अर्कै कुरा नभएर यो सधैंभर चलिरहने वस्तु हो । यत्ति हो नयाँनयाँ फिचर थपिँदै जान्छन् ।

फिचर मोबाइस फोनको मार्केट कस्तो छ ?

अहिले पनि फचर फोन आयात त भइरहेको छ । फिचर फोनलाई स्मार्टले प्रतिस्थापन गरिरहेको छ । नेपालको सन्र्दभमा गाउँघरमा पनि स्मार्टफोन नै चाहिएको छ । उनीहरूलाई पनि विदेश पुगेका आफन्तसँग कुरा गर्न स्मार्टफोन चाहिएको छ । त्यसैले २–३ वर्षभन्दा धेरै समय फिचर फोन मार्केट हुँदैन कि भन्ने देखिन्छ ।

मोबाइल फोनको ‘ग्रे मार्केट’ कुन परिमाणमा होला ?

एभरेजमा कुरा गर्दा १०–१२ प्रतिशत मोबाइल ग्रे मार्केटबाट बिक्री भइरहेका छन् । तर, व्यक्तिगत रुपमा आएका मोबाइल सेटलाई ग्रे मार्केटमा जोड्न मिल्दैन ।

यसको हिसाब निकाल्न गाह्रो छैन । नेपाल जब नयाँ स्मार्टफोन अन गर्छौं । त्यो कम्पनीको सिस्टममा देखाउँछ । जस्तो कि आज नेपालमा यति सामसङ मोबाइल फोन बिक्री वा एक्टिभेट भनेर देखाउँछ । त्यसरी एक्टिभेट हुँदा सामसङले नेपाmलाई कानुनी माध्यमबाट बेचेका कति एक्टिभेट भए र अन्य च्यानलबाट आएका कति एक्टिभेट भए भनेर देखाउँछ । सामसङको मात्रै कुरा गर्दा करिब २०–२२ प्रतिशत हेन्डसेट ग्रे मार्केट वा अन्य च्यानलबाट आइरहेको देखिन्छ ।

यो रेसियो सामसङको धेरै देखिन्छ । अन्य ब्रान्ड पनि फरक फरकका दरले छ । एभरेजमा कुरा गर्दा १०–१२ प्रतिशत मोबाइल ग्रे मार्केटबाट आउँछन् ।

अब मोबाइल फोन सेवा प्रदायक कम्पनीले फोर–जी ल्याउने तयारी गरिरहेका छन् । हाम्रो बजारमा भएका मोबाइल सेटले फोर–जीलाई सपोर्ट गर्ने खालको छ ?

अहिले नेपाली उपभोक्ता ठगिएका छन् । कसरी भने हामीले विक्री गरेको लगभक सबै मोबाइलमा फोरजी सेवा सञ्चालन हुन्छ तर अहिले नेपाली उपभोक्ताले त्यो सेवा सञ्चालन गर्न पाएका छैनन्। फोरजी सेवा सञ्चालन हुने मोबाइल चलाइरहेका छौं तर थ्री–जी सेवा मात्र उपलब्ध छ। फोर–जी सेवा चल्ने मोबाइल अलि महँगो पनि हुन्छ । भारतमा फोर–जी सञ्चालन भइसकेकाले नेपालमा आउने पनि लगभग सबैमा फोर–जी चल्छ। सामसङका सतप्रतिशत मोबाइल हेन्ड सेटमा फोर–जी चल्छ। अन्य धेरै ब्रान्डेड सेटमा फोर–जी चल्ने मोबाइल नेपालमा चलिरहेका छन्। उपभोक्ताका लागि त्यसैले चाँडोभन्दा चाडो फोर–जी सञ्चालन गर्नुपर्छ। नत्र उपभोक्ता ठगिइरहेका छन्।

 

 

 

 

 

 

 

 

 

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad