६ वैशाख २०८१ बिहीबार
राजनीति

इन्द्रावती–१० मा सबैको चासो

सिन्धुपाल्चोक - उम्मेदवारी मनोनयन दर्तापछि वडाध्यक्षको उपनिर्वाचन हुने इन्द्रावती गाउँपालिका–१० मा जिल्लावासीको चासो बढेको छ। प्रमुख प्रतिस्पर्धी मानिएका नेकपा र कांग्रेसका केन्द्रदेखि जिल्ला नेतृत्व मतदाता रिझाउन यो वडामा केन्द्रित हुन थालेका छन्।

इन्द्रावती नेकपा अध्यक्ष झम्क नेपाल र कांग्रेस सभापति विकास लामाको गृहगाउँ भएकाले वडाध्यक्षको निर्वाचनमा सबैको चासो बढेको हो। कांग्रेसबाट जितेका वडाध्यक्ष धनबहादुर श्रेष्ठको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। कांग्रेस जितलाई निरन्तरता दिन चाहन्छ भने नेकपा यसअघिको हारको बदला लिने दाउमा छ।

नेकपा उसैपनि गाउँपालिकामा अल्पमतमा रहेको कांग्रेसलाई हराएर थप कमजोर बनाउन चाहन्छ। पुनः जित निकालेर थप कमजोर हुनबाट बच्नुपर्ने चुनौती कांग्रेसलाई थपिएको छ। तत्कालीन एमालेका अध्यक्ष नेपाल स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित भएकाले नेकपा वडाध्यक्ष जितेर त्यसको बदला लिने दाउमा छ। उनलाई लामो समय अमेरिका बसेर चुनावअघि फर्किएका कांग्रेस पूर्वजिल्ला सचिव बंशलाल तामाङले हराएका थिए।

त्यसैले वडाध्यक्ष जित्नै पर्ने चर्को दबाब एमालेसामू छ। प्रतिष्ठा जोगाउनका निम्ति पुनः जित निकाल्न कांग्रेसलाई पनि त्यस्तै चर्को दबाब छ। वडाध्यक्षमा मुख्य प्रतिस्पर्धी नेकपा र कांग्रेससहित पाँच जनाको उम्मेदवारी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपाबाट केदारनाथ आचार्य र कांग्रेसका राले (अशोक) तामाङले उम्मेदवारी दर्ता गएका छन्। त्यस्तै संघीय समाजवादी पार्टीबाट प्रकाश श्रेष्ठ, राप्रपाका रणबहादुर तामाङ र राप्रपा (संयुक्त) का ढकबहादुर श्रेष्ठको पनि उम्मेदवारी परेको छ।

प्रमुख दल नेकपा र नेकपाका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। कांग्रेसका स्वर्गीय धनबहादुरले तीन सय ६४ मत ल्याएर वडाध्यक्ष जितेका थिए। निकतटम प्रतिद्वन्द्वी तत्कालीन माआवादीका केदारनाथ आचार्य सात मतले पछाडि पर्दै पराजित भएका थिए। तत्कालीन एमालेका सम्पूर्ण तामाङले २ सय ५१ मत ल्याउँदा राप्रपाका उम्मेदवारले चार मत मात्रै पाएका थिए। त्यतिबेलाका निकटतम प्रतिद्वन्द्वी केदारनाथलाई नै नकपाले अघि सारेको हो।

अंकगणित हेर्दा एमाले र माओवादी एकतापछि नेकपा उम्मेदवारको पल्लाभारि हुने देखिन्छ। गाउँपालिकाको नेतृत्व आफ्नै पार्टीको रहेकाले पूरानो अंकगणितले काम नगर्ने कांग्रेसको दाबी छ। पूरानो साखलाई जोगाउन कांग्रेसले अन्तिमसम्म दुवै राप्रपाका उम्मेदवारको उम्मेदवारी फिर्ता गराएर समर्थन लिने प्रयास थालेको पार्टी स्रोतले बतायो। अघिल्लो चुनावमा कम भोट ल्याए पनि यहाँ राप्रपासँग पनि केही मत रहेको कांग्रेसको बुझाइ छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यो वडामा हजार ४४ मतदाता छन्। मतदातालाई मनोवैज्ञानिक असर पार्न उम्मेदवारी दर्ताका दिन नेकपा र कांग्रेसले ठूलो संख्यामा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेका थिए। नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्णप्रसाद सापकोटा, पूर्वमन्त्री रहेका केन्द्रीय सदस्य शेरबहादुर तामाङ, केन्द्रीय सदस्य माधव सापकोटा, प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत, जिल्ला सभापति विकास लामालागयत नेता उम्मेदवारी दर्ता गराउन बुधबार गाउँपालिका केन्द्र नवलपुर पुगेका थिए। सबै उम्मेदवारले घरदैलो अभियान थाल्दै बिहीबार बिहानैबाट प्रचार थालिसकेका छन्।

 

प्रकाशित: २९ कार्तिक २०७६ ०१:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App