४ वैशाख २०८१ मंगलबार
राजनीति

समाजवादीले सरकारमै बसेर संघर्ष गर्ने

फाइल तस्बिर

काठमाडाैं - समाजवादी पार्टीले आफूसमेत सहभागी केपी ओली नेतृत्व सरकारको कार्यशैलीप्रति कटाक्ष गरे पनि तत्काल नबाहिरिने भएको छ। पार्टीको बिहीबार सम्पन्न संघीय परिषद्को बैठकमा बोल्दै नेताहरूले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष केपी ओली नेतृत्व सरकारले जनताको हितमा काम गर्न नसकेको ठहर गरेको हो। काम भन्दा कुरा मात्र धेरै गरेको भन्दै उसले भनेको छ, ‘अनेक उखान टुक्का र भ्रामक अवधारणाबाट लोकरिज्याइँ गरेर सत्तामा आएका प्रधानमन्त्रीको कार्यशैली विलकुल गफाडी प्रवृत्तिको छ।’

संविधान संशोधन पहिलो प्राथमिकता भएको भन्दै सो प्रक्रिया अघि नबढे सरकार छाड्ने नेतारूको भनाइ छ। सरकारका उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले संघीयता र व्यवस्था नै खतरामा आइपुगेको दाबी गरे। ऐतिहासिक मधेस आन्दोलन र जनविद्रोहबाट प्राप्त उपलब्धि जोगाउन सरकारमा पार्टीको उपस्थिति रहेको संघीय परिषद् बैठकको समापनलाई सम्बोधन गर्दै यादवले भने, ‘संविधान संशोधन प्रक्रिया अघि बढाउन दबाब दिनुपर्छ।’ सरकारमा बस्ने÷नबस्ने निर्णय संघीय परिषद् र केन्द्रीय समितिको बैठकपछि पदाधिकारी बैठकले गर्ने उनले बताए।

पार्टीका सचिव तथा सहरी विकास मन्त्री इस्तियाक राईले समाजवादी पार्टी सरकारबाट तत्काल नबाहिरिने उल्लेख गर्दै भने, ‘हामीले दुई बुँदै सम्झौता गरी सरकारमा गएका थियांै। सम्झौता कार्यान्वयनका लागि अन्तिम अल्मिेटम दिएपछि मात्र सरकार छाड्नुपर्छ भन्ने हाम्रो निष्कर्ष रह्यो।’

केन्द्रीय सदस्य अशोक यादवले संघीय परिषद्का उपस्थित ९० प्रतिशतभन्दा बढी सदस्यको भावना तत्काल पार्टी सरकारबाट बाहिरिनपर्ने रहेको बताउँदै भने, ‘९० प्रतिशतभन्दा बढी संघीय परिषद्का सदस्यको धारणा पार्टी तत्काल सरकारबाट बाहिरिनुपर्छ भन्ने भए पनि तत्काल बाहिरिने संकेत देखिएन।

राष्ट्रिय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनमा भने उनले सरकारमा पार्टीको संलग्नताबारे गम्भीर समीक्षा गर्नु जरुरी भएको बताएका छन्। प्रतिवेदनमा उनले भनेका छन्, ‘संंविधान संशोधनका लागि प्रक्रिया अगाडि बढाउन पहल गर्ने र त्यसलाई कार्यान्वयन गर्ने प्रक्रिया अगाडि नबढाएमा सरकारबाट बर्हिगमनका लागि पार्टीको कार्यकारिणी समितिले निर्णय गर्ने गरीपार्टी अगाडि बढ्नु पर्दछ।’

दलहरूप्रति आक्रामक

समाजवादी पार्टी प्रमुख राजनीतिक दलहरूप्रति आक्रामक देखिएको छ। नेकपा उठ्न नसक्ने गरी पतनको बटोमा अघि बढेको र कांग्रेस कमजोर प्रतिपक्ष रहेको उसको ठम्याइ छ। राष्ट्रिय परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै राष्ट्रिय परिषद्का अध्यक्ष भट्टराईले नेपालको कम्युनिस्ट आन्दोलन वैचारिक रूपले अध्याँरो सुरुङभित्रको यात्रा गरिरहेको आरोप लगाएका छन्। उनले नेकपा र कांग्रेसको आलोचना गरेका छन भने राष्ट्रिय जनता पार्टीसँग एकीकरणको प्रक्रिया अघि बढिरहेको जनाएका छन्। राजपासँगको एकताको प्रयास भइरहेको र एकताको प्रयास यथासम्भव छिटो तार्किक निष्कर्षमा पु-याउने प्रयत्न गर्नुपर्ने बताउँदै राजपालाई राष्ट्रिय पहिचान र अधिकारको पक्षधर लोकतान्त्रिक दल भनी व्याख्या गरेका छन्।

भट्टराईले सत्ताको नेतृत्व गरेको दल नेकपालाई उठ्नै नसक्नेगरी पतनको दिशामा पुगेको र आउँदा केही वर्ष वा दशकभित्र भविष्यमा फेरि उठ्न नसक्नेगरी पतनको दिशामा नेकपा अभिमुख उनले बताएका छन्। प्रतिवेदनमा उनले भनेका छन्, ‘नेकपाको राजनीतिक व्यवहार र नेकपाले सञ्चालन गरिरहेको सरकारले यही कुरा पुष्टि गर्दैछ। यो पार्टीका ठूल्ठूला नेता भ्रष्टाचार तथा नैतिक पतनका घटनामा लज्जास्पद ढंगले उदागिँदैछन्।’

आर्थिक क्षेत्रमा नेकपाले कांग्रेसको नवउदारवादी नीतिलाई नै निरन्तरता दिइरहेको उनले बताएका छन्। उनले भनेका छन्, ‘सम्पत्ति शुद्धीकरण आयोगलाई निस्क्रिय बनाउने तथा ठूला आयोजना बिनाटेन्डर सिधै सम्झौता गर्न सक्ने प्रकरणको भित्री रहस्य कालो धन र कमिसनतन्त्रस्ँगको साँठगाँठ हो भन्ने कुरामा कुनै शंका छैन।’

उनले भनेका छन्, ‘एकातिर लोकतन्त्रप्रतिको आफ्नो निष्ठामा शंका नगर्न अनुनय विनय गर्दछन् अर्कोतिर ‘कम्युनिस्ट–कम्युनिस्ट’ को नाममा सामिप्यता र आडभरोसा खोज्न पनि छोडेका छैनन्। एकदलीय सर्वहारा राज्य वा कम्युन प्रणालीलाई मौका पर्नेवित्तिकै गौरवीकरण गर्दछन्।’

त्यस्तै भट्टराईद्वारा प्रस्तुत प्रतिवेदनमा कांग्रेसलाई प्रमुख प्रतिपक्षको भूमिकासमेत राम्ररी निभाउन नसक्ने गरी थङथिलो भएको आरोप लगाएका छन्। कांग्रसको आलोचना गर्दै उनले भनेका छन्, ‘सुशासनको सवालमा यो पार्टीको प्रतिबद्वता व्यवहारमा देखिएन। आज कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ।’

‘कांग्रेसको शासनकालमा लाउडा, धमिजा, सुडान जस्ता ठूल्ठूला भ्रष्टाचार काण्ड भए। तर कहिल्लै विश्वासनीय छानबिन भएन, प्रतिवेदनमा उनले भनेका छन, ‘तथापि यो पार्टीको देशभरि फैलिएको संगठन र परम्परागत जनमत छ। वैकल्पिक लोकतान्त्रिक तथा समाजवादी दलको अभावमा राजावादी र साम्यवादी लाई भोट दिन नचाहने जनमतले यो पार्टीलाई भोट दिँदै आएको छ।’

प्रतिवेदनमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टले राजतन्त्र फर्किने हल्ला गर्ने गरेको तर राजतन्त्र फर्कने कुनै सम्भावना नभएको बताएका छन्।

प्रकाशित: २९ कार्तिक २०७६ ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App