coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धौलागिरिबाट लाइसेन्स वितरण हुने

संगम घर्ती मगर

बाग्लुङ-चार वर्षदेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया  सुरु हुने भएको छ। यातायात व्यवस्था विभागले नीति परिमार्जन गरेसँगै धौलागिरिमा रोकिएको लाइसेन्स वितरण सुरु गर्ने तयारी भएको धौलागिरि अञ्चल यातायात व्यवस्था कार्यालय बाग्लुङले जनाएको छ।

 बाग्लुङ नगरपालिका–१ को खनियाघाटमा नयाँ मापदण्डअनुसार प्रयोगात्मक परीक्षा लिने भौतिक पूर्वाधार निर्माण गरिएको छ । पहिलो चरणमा मोटर साइकल र स्कुटरको लाइसेन्स वितरण गरिने धौलागिरि अञ्चल यातायात व्यवस्था कार्यालय प्रमुख राजेन्द्र घिमिरेले बताए ।

‘ठाउँ साँघुरो भएकाले अहिले मोटरसाइकल र स्कुटरको लाइसेन्स वितरण सुरु गर्ने तयारीमा छौँ,’ घिमिरेले भने, ‘अन्य सवारीसाधनका लागि व्यवस्था मिलाउने कोसिस गरिरहेका छौं ।’ लाइसेन्स वितरणका लागि ट्रायल लिने भौतिक पूर्वाधार निर्माण गर्ने स्थान अभाव भएपछि कार्यालयले निजी जग्गा भाडामा लिएर पूर्वाधार खडा गरेको छ । कार्यालयको स्वामित्वमा जग्गा नभएकाले वार्षिक दुई लाख ५० हजार रुपैयाँ भाडा तिर्नेगरी निजी जग्गामा पूर्वाधार निर्माण गरिएको छ ।  यसअघि कार्यालयले बाग्लुङ नगरपालिका–१ मा रहेको रामरेखा सामुदायिक वनको जग्गामा प्रयोगात्मक परीक्षा लिँदै आएकामा यातायात विभागले नियम परिवर्तन गरेपछि रोकिएको थियो ।

‘लाइसेन्स वितरण सुरु गर्न अनुमति मागेका छौँ,’ घिमिरेले भने, ‘विभागबाट स्वीकृति पाउनेबित्तिकै प्रयोगात्मक परीक्षा लिएर प्रक्रिया सुरु गर्छौं ।’

विभागको नयाँ नीतिमा व्यक्तिगत सवारी प्रयोग गरेर ट्रायल दिन नपाइने व्यवस्था भएकाले सवारी उपलब्ध गराउन टेन्डर आह्वान गरिएको कार्यालयले जनाएको छ । विभागको नयाँ नीतिअनुसार पूर्वाधार अभाव भएपछि मोटरसाइकल, कार, जिप, भ्यान, बससहित साना, मझौला तथा ठूलासहित सबै प्रकारका सवारीको चालक अनुमतिपत्र वितरणमा ०६९ यता रोक लगाइएको थियो । सवारीचालक अनुमतिपत्र वितरण रोकिएपछि विशेषगरी ड्राइभिङ भिसामा विदेश जाने युवा समस्यामा परेका थिए ।

नयाँ निर्देशिकाबमोजिम लाइसेन्सको ट्रायल परीक्षा लिन मोटरसाइकलका लागि ५० मिटर लम्बाइ र १६ मिटर चौडाइसहितको जग्गा आवश्यक पर्ने धौलागिरि अञ्चल यातायात व्यवस्था कार्यालय बाग्लुङका लाइसेन्स वितरण फाँटका प्रमुख रामप्रसाद उपाध्यायले बताए । त्यसबाहेक तीन सय मिटर दूरीमा मोटरसाइकल गुडाउनुपर्छ । ठूला सवारीका लागि ५७ मिटर लम्बाइ र २५ मिटर चौडाइसहित ६ सय मिटर दूरीमा चलाउनुपर्ने उनले उनको भनाइ छ ।

वितरण रोकिएपछि धौलागिरिका युवा लाइसेन्सका लागि पोखरा, बुटवल र काठमाडौंसम्म जाने गरेका थिए। सेवाग्राहीले छिटो लाइसेन्स वितरण सुचारु गर्न माग गर्दै आएका थिए । यातायात व्यवस्था कार्यालय बाग्लुङले मासिक आठ सय लाइसेन्स वितरण गर्दै आएको थियो । लाइसेन्स वितरण रोकिँदा राज्यलाई लाखौँ  राजस्व घाटा भएको छ। लाखौँ लगानी गरेर खुलेका ड्राइभिङ स्कुल समेत समस्यामा परेका छन्। लाइसेन्स वितरण रोकिँदा सर्वसाधारणलाई समस्या परेको र लगानी जोखिममा परेको कालिका ड्राइभिङ इन्स्टिच्युटका सञ्चालक विष्णु पन्तले बताए। धौलागिरिका पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङमा एक दर्जन इन्स्टिच्युट रहेका छन्।

 

प्रकाशित: २२ मंसिर २०७३ ०४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App