८ वैशाख २०८१ शनिबार
अर्थ

१५ करोडको लगानीमा दोस्रो उद्योग सञ्चालनमा

उद्योगको रिबन काटेर उदघाटन गर्दै प्राधिकरणको उपसचिव सुन्दर थापा ।

भैरहवा- देशको निर्यातमुखी आयोजना भैरहवा विशेष आर्थिक क्षेत्र सेजमा दोस्रो उद्योगको औपचारिक उद्घाटन भएको छ। स्थापना भएको डेढ दशकसम्म पनि आवश्यक ऐन र प्राप्त विद्युत् नहुँदा सञ्चालन ढिलाई भएको सेजमा ऐन बनेपछि र नेपाल विद्युत प्राधिकरणले आवश्यक विद्युत् उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि व्यवसायीले उद्योग निर्माण थालेका हुन्। पहिलो उद्योग शक्ति मिनिरल्स सञ्चालनमा आएको ६ महिना पश्चात विस्तार ग्लोबल प्रालीले बिहीबार औपचरिक रुपमा औधोगिक उत्पादन सुरु गरेको हो।

विशेष आर्थिक क्षेत्र प्राधिकरणको उपसचिव सुन्दर थापाले रिवन काटेर बटन थिची उद्योगको उद्घाटन गरे। सो अवसरमा बोल्दै उपसचिव थापाले सेजको लागि ऐन आइसकेकाले उद्योग निर्माण गरी संचालन गर्न आग्रह गरे। विशेष आर्थिक क्षेत्र ऐन २०७३ को पहिलो संशोधनकै क्रममा रहेकोले उद्योगी हरुको समस्या समाधान गरी ऐन संशोधन गर्दै छिटो भन्दा छिटो उद्योग स्थापना गर्न आग्रह गरे।  ऐनमा उद्योग संचालन भएको एक वर्षसम्म उत्पादित वस्तु स्वदेशमै बिक्री गर्न पाउने प्रावधान आएको बताउदै उद्योग संचालन हुने वर्ष उद्योगीहरु निराश नहुनु पर्ने बताए।

नेपालको जिडिपीमा योग्दान गर्ने, व्यापार घाटालाई कम गर्न, स्थानीय र स्वदेशमा रोजगारी प्रदान गर्न, आयातलाई घटाउदै निर्यात गर्न विशेष आर्थिक क्षेत्र (सेज)को अवधारण आएकोले देशको आर्थिक समृद्धिमा यसले महत्वपूर्ण योगदान पु-याउने बताए।

१५ करोडको लगानीमा संचालित उक्त उद्योगले घरायसी प्रायोजनका लागि प्रयोग हुने स्टीलका भाडाहरु उत्पादन गर्नेछ। पूर्ण वैदेशिक लगानी रहेको उक्त उद्योगले करिब ८० जनालाई रोजगारी दिएको छ भने उद्योगले प्रति महिना ३ सय मेट्रिक टन भाँडा उत्पादन गर्ने क्षमता रहेको उद्योगका सञ्चालक योगेश जैनले बताए। ‘अहिले हामीले ३ वटा प्लट लिएर उद्योग संचालनमा ल्याएका छौँ। हामीले भारतबाट दुबई, साउदी अरब, नाइजेरिया अफ्रिकालगायतको देशमा निर्यात गर्दै आए पनि पहिलो पटक नेपालमा उद्योग स्थापना गरेका छौ, अन्य विभिन्न देशमा निर्यात गर्ने उद्देश्यले यहँ उद्योेग स्थापाना गरेका छौ, आवश्यकता अनुसार थप्दै जाने योजना छ’ सञ्चालक योगेश जैनले नागरिक न्यूजसँग भने।

विशेष आर्थिक क्षेत्र (सेज)मा अन्य उद्योग पनि छिट्टै सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ। २२ वटा उद्योग मध्ये अहिले सम्म २ वटा उद्योग सञ्चालन भईसकेको छ, थप ५ वटा उद्योगले पूर्वाधार निर्माण गरिरहेका छन्। बाँकी उद्योगीले भाडा दिइरहेकोले खाली भएको प्लटलाई निकाल्न नसकिरहेकोले कारबाहीको प्रक्रिया अगाडि बढाउन नसकेको कार्यालयले जनाएको छ।

रुपन्देहीको रोहिणी गाउँपालिका–१ बगाहामा ५२ बिघा क्षेत्रफलमा फैलिएको सेजमा १४ सय देखि ३७ सय वर्ग मिटर सम्मका ६९ वटा प्लटहरु रहेका छन्। विशेष आर्थिक क्षेत्र नेपाल सरकारले देशमा भएका रुग्ण तथा नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढि भएका समानहरु उत्पादन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्नको लागि ल्याएको नीति हो। यो क्षेत्रमा स्थापना हुने उद्योगहरुको लागि प्रारम्भिक आधारभुत विकास निर्माण काम नेपाल सरकारले नै निर्माण गर्छ।

स्थापना हुने उद्योगले आफ्नो उत्पादनको ७५ प्रतिशत विदेश निकासी गर्नै पर्ने प्रावधान छ। यस्ता उद्योगहरुलाई सरकारले १५ वर्ष कर छुट सुविधा दिएको छ। यस्तै सेजमा आउने कच्चा पदार्थको लागी भन्सार महशुलमा समेत छुट दिईएको छ।

प्रकाशित: २८ कार्तिक २०७६ १५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App