७ वैशाख २०८१ शुक्रबार
कला

समसामयिक विषयमा वस्तुको प्रयोग

काठमाडौं- काठमाडौं सहर बाहिरबाट हेर्दा निकै सुन्दर तर भित्र अस्तव्यस्त । मुख्य सडकह रू चिल्लो बनाइएको, भित्री गल्लीहरू हेर्दा खाल्डाखुल्डी र हिलो मात्र । त्यसैमाथि मुख्य सडकमै रहेका पोलहरूमा अल्झिएका बिजुलीका तारहरू । एकअर्कामा अल्झिएर, झुन्डिएर रहेका ती तारहरूले राम्रो ठाउँलाई पनि नराम्रो देखाएको छ । हामीले दैनिक जीवनमा तिनलाई नियाल्छौं तर बनाउने र संरक्षण गर्नेतर्फ ध्यान दिँदैनौं । हामीले दैनिक जीवनमा नियाल्दै हिँड्ने यिनै विषयवस्तुलाई मानिसको जीवनसँग दाँजेर चित्रकार नारायण बोहजुले आफ्ना अनुभूति क्यानभासमा उतारे ।

भनाइ नै छ, सामान्य मानिसले कुनै वस्तुलाई हेर्दा सिर्फ एउटा मात्र देख्छ, तर त्यही वस्तुलाई कुनै कलाकार तथा साहित्यकारले हेर्दा अनेकौं देख्छन्, त्यसमा विविधता भेट्टाउँछन् । त्यस्तै, चित्रकार बोहजुले पनि बिजुलीको पोलमा अल्झिएका तारहरूमा मानिस देखे, तार तारबीचको अल्झाइलाई उनले मानिससँग नयाँ मानिसको भेट हुँदाको क्षण र जेलिएको तारलाई मानिस मानिसबीचमा हुने हुलमहुलको रूपमा लिए र चित्र कोर्न सुरु गरे ।

ठमेलस्थित दलाई–ला आर्ट ग्यालरीको भित्तामा उनका यस्तै समसामयिक विषयमा आधारित चित्रकला देख्न सकिन्छ । कतै बन्दै गरेका भवनको दृश्य, कतै हेल्मेट र मोटरसाइकलको भीड त कतै पोलमा अल्झिएका बिजुलीको तारले ग्यालरी सजिएको छ । कात्तिक १५ गतेबाट सुरु भएको ‘वियोन्ड द अबजेक्टु शीर्षकको एकल प्रदर्शनीमा उनले समय सान्दर्भिक सातवटा ठूला आकारका पेन्टिङलाई समेटेका छन् ।

प्रायः सधैं चित्र कोर्दा कुनै वस्तुलाई नै मुख्य केन्द्रबिन्दुमा राखेर चित्र कोर्ने बोहजुले वस्तुमार्फत मावन जीवन र अवस्थालाई देखाउन खोजेको बताउँछन् । कुनै मानिसको तस्बिरलाई लिएर चित्र कोर्दा त्यसले एउटा मात्रै मानिसको जीवनलाई इंकित गर्ने भएकाले वस्तुको प्रयोग गरेपछि वस्तुबाट धेरै मानिसको जीवन र अवस्थालाई देखाउन सकिने उनको अनुभव छ । आयल कलरको प्रयोग गरी बनाइएका उनका चित्रमा समसामयिक अवस्थाको यथार्थ भेट्टाउन सकिन्छ ।

डेल्ली रुटर्स शीर्षकको चित्रमा उनले हुलमहुल मोटरसाइकलको दृश्यलाई प्रस्तुत गरेका छन् । धेरै मानिसको अनुभव र धेरैको मन छुने भएकाले भीडमा रहेका मोटरसाइकललाई आफ्नो कलाको वस्तुका रूपमा लिएको उनको भनाइ छ । ‘आफ्टर सेलिब्रेसन’ नामक चित्रमा उनले रातो र खैरो कलरबाट बनाइएका दियोलाई देखाएका छन् । ‘यो मैलै भारतको वनारस हुँदा कोरेको चित्र हो, 'उक्त चित्रलाई देखाउँदै चित्रकार भन्छन्, ‘वनारसमा दीप र दीपावलीमा बालिने दियो अर्को दिन हेर्दा टुटेफुटेको र फ्याँकिएको अवस्थामा हुन्छन्, मैले त्यही अव्यवस्थित अवस्थामा रहेका दियोलाई देखाउने प्रयत्न गरेको हुँ ।'

भारतमा चल्ने रेलको करल प्रयोग गरी बनाइएको ‘सङ अफ लोकल साउन्ड’ शीर्षकको चित्रमा उनले सामान्य मानिस चढ्ने रेल र रेलको झ्यालबाट निस्किने ध्वनिलाई समेटेका छन् । ‘मोनुमेन्सल लाइन्सु शीर्षकका दुईवटा चित्रमा उनले बिजुलीको पोलमा जेलिएको अवस्थामा रहेका तारलाई देखाएका छन् । ‘पोलमा अल्झिएका तारहरू हामी दिनदिनै देख्छौं, त्यसमा पनि हाम्रो जीवन र परिस्थिति लुकेको छ,’ बोहजु भन्छन्, ‘मानिसको जीवन पनि तारजस्तै झेलिएको छ, एकअर्कामा अल्झिएका तारजस्तै हामी पनि मानव डोरीको त्यान्द्रोमा अल्झिएका हुन्छौं ।’

त्यस्तै, ‘हेड’ नामक चित्रमा उनले थुप्रै हेलमेटहरूलाई प्रस्तुत गरेका छन् । जुन हाम्रो दैनिक जीवनमा प्रयोगमा आउँछ । भत्किएका भवनहरूलाई बनाउँदै गरेको दृश्यचित्रलाई उनले ‘ट्राभलिङ मोमेन्टु शीर्षक दिएका छन् । माथिपट्टि बन्दै गरेका नयाँ भवनको चित्र र तलपट्टि पसलहरू देखाइएको छ । उक्त चित्रले भत्किएका र बिग्रेका भवनहरूको निर्माण हुँदै छ र अब केही हुन्छ भन्ने आशालाई व्यक्त गरेको छ ।

लामो समयसम्म प्रयोगमा आई धेरै कथाहरू बोकेर गुज्रिएको अवस्थामा रहेका वस्तुहरूलाई चित्रकार बोहजुले आफ्नो कलामा समेटेका छन् । विगत सात वर्ष अगाडि काम गर्दै जाने क्रममा वस्तुको माध्यमबाट मानिसको जीवन र अवस्थालाई देखाउन सकिन्छ भन्ने लागेर कलामा वस्तुको प्रयोग गर्न थालेको उनी बताउँछन् । उनले आफ्ना चित्रहरूमा वस्तुको माध्यमबाट वस्तुले नै सिर्जना गरेको अवस्था र परिस्थितिलाई देखाएका छन् । प्रदर्शनी आगामी मंसिर १२ गतेसम्म जारी हुनेछ ।
 

प्रकाशित: २८ कार्तिक २०७६ १३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App