७ वैशाख २०८१ शुक्रबार
अन्य

कहिले पुग्छ सरकारी राहत वीरमानको टहरामा ?

रयाले (काभ्रे)- रयाले–६ फलामेगाउँमा घर बनाउने मेला नै लागेको छ। गाउँभरिका काम गर्न सक्ने सबैजसो महिला–पुरुष घर बनाउने काममा बिहानैदेखि लाग्छन्। गाउँभरि नै घर बनाउने मेलाझैँ लागेको छ।

सबैले घर बनाएको देखेर फलामे माझगाउँका ६७ वर्षीय वीरमान तामाङको मन आत्तिएको छ— न उनी आफू घर बनाउने काममा हिँड्न सक्छन्, न त उनको घर कसैले आएर बनाइदिन्छ।

सारा गाउँलेलाई थाहा छ, ०७२ वैशाख १२ को भुइँचालोमा उनको दुईतले घर भत्केर ध्वस्त भएको, गोठसमेत भत्किएर गाईबाख्रा किलोमै मरेको ।

गाउँभरिमै उनी नै धेरै पीडित बनेका छन् । तर, उनले न सरकारबाट राहत पाएका छन्, न त संस्थाले बनाइदिने घर नै ।

‘गाविसमा गएर सम्झौता गरेको तीन महिनाभइसक्यो । खोइ अहिलेसम्म ५० हजार पाएको छैन । बैंकले पैसा छैन भन्छ रे,’ वीरमानले सुनाए ।

सरकारले दिने राहत पाएर घर बनाउन उनले भूकम्पमा भत्किएका घरको ढुंगामाटो र काठपात सफा गर्न ४० हजार रुपैयाँ खर्च गरिसकेका छन् ।

छोराबुहारी, नातिनातिना र आफूसमेत ६ जनाको परिवार अझै टहरोमा बस्दै आएको छ ।

वीरमान अहिले कुनै काम गर्न सक्दैनन् । ‘पहिले ज्यालादारी काम गर्थें, अहिले सक्दिनँ । टहरोमा चुहिएको शीतले जिउ लपक्क भिज्छ । त्यसैले होला, दम बढेको छ । खोकी लागिरहन्छ । कहिलेकाहीँ हनहन्ती ज्वरो पनि आउँछ,’ उनले भने ।

अहिले उनका १४ वर्षीय नाति पढाइ छाडेर गाउँमा घर बनाउने काममा हिँडेका छन् । पाखोबारीको उब्जनीले ६ महिना पनि खान नपुग्ने वीरमानको परिवारलाई दिनहुँ मजदुरी नगरी धरै छैन । त्यसमाथि भत्केको घर सफा गर्दाको ४० हजार ऋण छ।

छोरा र नातिले कमाएको पैसाले दैनिक खाना, बिहे, व्रतबन्ध र घेवामा जाँदैमा खर्च हुने वीरमानको भनाइ छ । अब ‘समाजमा सबैले मान्दै आएको कुरो, अहिले त बिहे, व्रतबन्धमा जानुपर्दा एकपटकमा दुई सय पाँच रुपैयाँ र घेवामा जाँदा दुई सय २५ रुपैयाँ अनिवार्य हाल्नुपर्छ। त्यस्ता घेवा, बिहे, व्रतबन्ध कति हो, कति। पैसा जोगाउनै सकिन्नँ,’ उनले भने।

गैससंले बनाएन, सरकार पुगेन

भूकम्पले गाविसभरिकै सुन्दर बस्ती फलामे गाउँका सबै घर ध्वस्त भए । तामाङ जातिको बाहुल्य भएको गाउँमा धेरै संघ–संस्थाले राहत र उद्धारमा सहयोग गरेका थिए ।

समरिटान पर्स भन्ने गैरसरकारी संस्थाले वडा ६ मा घर बनाइदिने योजना ल्यायो, तर सर्तमा अपांग, अशक्त, एकल महिलाको मात्रै घर बनाइदिने भनेपछि वीरमानजस्ता पीडित सरकारको शरणमा पर्नु नै ठीक भन्दै हतारिँदै सम्झौता गर्न गए । सो संस्थाले पनि सरकारसँग पुनर्निर्माण सम्झौता गर्नेहरूको घर बनाइदिएन । भूकम्पले वडाभरिमा एक सय घर पूर्णरूपमा क्षति भएको थियो ।

‘भुइँचालोपछि मात्रै आएको संस्थाको भर गर्नुभन्दा आफ्नै सरकारको भर बलियो हुन्छ भन्ने लाग्यो । यतिखेर न सरकारले पैसा पठाउँछ, न संस्थाले फर्केर हेर्छ,’ वीरमानले भने, ‘सरकार हाम्रा लागि भइदिएको भए टहरोमै बस्नुपथ्र्यो र ?’

फलामेगाउँमा वीरमानजस्तै मोहन तामाङ, सन्तबहादुर तामाङ, दोबाटे तामाङ, भीमबहादुर तामाङको अझै पनि टहरोमै बास रहेको छ । उनीहरू सबैजनाले सरकारको भर परेका थिए । छिमेकी पोखरेडाँडा र कर्मीडाँडाका नौजनाको पनि टहरोमै बास रहेको चन्द्रबहादुरको भनाइ छ ।

‘उहाँ (वीरमान) हतारिनुभयो । हामीजस्तै कुरेको भए संस्थाले घर बनाइदिन्थ्यो कि ! अब त बनाइदिँदैन होला,’ वडा नागरिक मञ्चका संयोजक चन्द्रबहादुर तामाङले भने ।

०७३ भदौ १४ गते वीरमानसँगै माझगाउँका पीडितले गाविसमा गई पुनर्निर्माण अनुदान सम्झौता गरेका थिए । सम्झौतालगत्तै जिविसमार्फत बैंकमा रकम जम्मा भइसक्दा समेत भुक्तानी नपाएर यी पीडित झन् मर्कामा परेका हुन् ।

पौने ३ अर्बभन्दा बढी निकासा

काभ्रेपलाञ्चोक जिल्लाका भूकम्प प्रभावित लाभग्राहीलाई हालसम्म दुई अर्ब ७६ करोड २० लाख रुपैयाँ पहिलो किस्ताका रूपमा सरकारले वितरणका लागि बैंकहरूमा पठाएको छ। सरकारसँग सम्झौता गरेका ५५ हजार दुई सय ४० लाभग्राहीका निम्ति यो रकम पठाइएको हो।

पुनर्निर्माण प्राधिकरणले काभ्रे जिल्लाका लागि ६७ हजार सात सय ११ को नाम लाभग्राही सूचीमा समावेश गरी पठाए पनि अझै पनि धेरै संख्यामा लाभग्राहीले सम्झौता नगरेको पाइएको छ । सरकारबाहेक कारितास नेपाल गैरसरकारी संस्थाले बल्थली र चण्डेनीमण्डनका सबै लाभग्राहीलाई पहिलो किस्ता वितरण गरिसकेको छ ।

नापीनक्सा भएर पनि सरकारले जग्गाधनी पुर्जा उपलब्ध नगराएकै कारण फलाँटे र भुम्लुटार गाविसका पीडितले अझै सम्झौता गर्न पाएका छैनन्। दुवै गाविसका लागि निकासा भएको रकम अढाइ करोड रुपैयाँ त्यत्तिकै रहेको छ।

 ‘नेपाल बैंकले ढिलाइ गर्‍यो’

रयालेभरिबाट अनुदान सम्झौता गर्नेका लागि जिल्ला आयोजना कार्यान्वयन एकाइले पनौतीस्थित नेपाल बैंक र सनराइज बैंकबाट भुक्तानी पाउने व्यवस्था मिलाएको थियो।

‘सम्झौता भएकामध्ये सनराइज बैंक तोकिएका सबैजनाले ५० हजार भुक्तानी लिइसकेका छन्। तर, नेपाल बैंक पनौतीले अझै पनि भुक्तानी दिएको छैन। गाउँले दिनहुँ गाविसमा आएर पैसा पाइएन भनेर गुनासो गरिरहेका छन्,’ गाविससचिव शम्भुप्रसाद अधिकारीले भने।

रयालेमा एक हजार ८९ लाभग्राहीले पुनर्निर्माण सम्झौता गरेका छन् । सम्झौताको तीन महिना बित्दासमेत अझै एक सय ३२ लाभग्राहीले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ पाउन सकेका छैनन् । सरकारले दसैँअगावै सबै पीडितलाई ५० हजार रुपैयाँ भुक्तानी गरिसक्ने घोषणा गरेको थियो । तर, ढिलाइ हुनुमा बैंकहरूको भूमिका मुख्य देखिएको छ ।

‘यो शाखामा पेन्सन र सामाजिक सुरक्षाभत्ता पाउने करिब ३३ सय छन् । उनीहरूलाई सेवा दिने क्रममा भूकम्प लाभग्राहीलाई भुक्तानी दिन नभ्याइएको हो,’ नेपाल बैंक पनौतीका शाखा प्रबन्धक सुरज अधिकारीले भने । यस बैंकबाट भुक्तानी पाउन तोकिएका पनौती नगरपालिका–११ र १२ का लाभग्राहीले समेत अझै भुक्तानी पाउन सकेका छैनन् ।

यस्तै, धुलिखेल नगरपालिकाका लाभग्राहीलाई तोकिएको सिभिल बैंकको धुलिखेल शाखाले समेत अझैसम्म भुक्तानी दिएको छैन । सो बैंकमा अझै पनि ४९ जनाले भुक्तानी पाउन बाँकी छ ।

‘हामीले रकम पठाइसक्दा समेत बैंकबाट भुक्तानी पाउन नसकेको भन्ने धेरै ठाउँबाट गुनासा आइरहेका छन् । अब सबै बैंकसँग हालसम्म के कति लाभग्राहीलाई भुक्तानी गरियो भन्नेबारे प्रतिवेदन माग्दैछौँ,’ जिल्ला कार्यान्वयन एकाइका सदस्य–सचिव एवं जिविसका योजना अधिकृत धोलकराज ढकालले भने ।

 

 

प्रकाशित: २२ मंसिर २०७३ ०४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App