भैरहवा- लुम्बिनीमा दोस्रो अन्तराष्ट्रिय त्रिपिटक चान्टिङ सुरु भएको छ। बुद्ध धर्म र लुम्बिनीको प्रचारका साथै आध्यत्मिक विकासमा टेवा पु-याउने र पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेपछि बिहिबारदेखि लुम्बिनीमा दोस्रो पटक अन्तराष्ट्रिय त्रिपिटक चान्टिङ सुरु भएको हो।
त्रिपिटकबारे धेरै नेपाली अनभिज्ञ रहेको र बौद्ध धर्ममा यसको विशेष महत्व भएका कारण बुद्ध जन्मस्थल लुम्बिनीमा गत वर्षझै यस वर्ष पनि त्रिपिटक वाचनलाई निरन्तरता दिइएको हो। बिहिबारदेखि ३ दिनसम्म हुने वाचन कार्यक्रम बिहान ७ बजेदेखि मायादेवी मन्दिर पवित्र उद्यान परिसरमा सुरु भएको छ।
त्रिपिटक वाचनको उदघाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीमा पर्यटकको संख्या आगमनमा वृद्धि गर्न यस्ता आध्यत्मिक गतिविधिहरुले महत्पूर्ण रहेको बताए। उनले यस्तो कार्यक्रमले बुद्धको शिक्षालाई विश्व समुदायमा पु-याउन समेत महत्वपूर्ण योगदान गर्ने बताए।
भगवान गौतम बुद्धले दिएको उपदेशहरु उनको जन्मभूमिमा वाचन गर्ने कार्यले लुम्बिनी पूर्ण रुपमा आध्यत्मिक भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मेत्तेय)ले बताए।
२५ देशका एक हजार भन्दा बढी बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिका लुम्बिनी आएको आयोजकले बताए। त्रिपिटक भगवान बुद्धले दिएको ज्ञान र शिक्षाको सार संग्रहित ग्रन्थ भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवम आयोजक भिक्षु मैत्रीले बताए।
चान्टिङ (वाचन)मा बुद्ध वचनलाई जस्ताको तस्तै उतार गरिएको त्रिपिटक विनय, सुत्त र अभिधम्म बाचन हुने त्रिपिटक चान्टिङ मुल आयोजक समितिका संयोजक तथा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महाथेरोले बताए। मायादेवी मन्दिर पवित्र उद्यानभित्र सुरु भएको चान्टिङमा नेपालसहित थाइल्याण्ड, कम्बोडिया, चीन भियतनाम, कोरिया, जापानलगायत विभिन्न २५ देशका एक हजार भन्दा बढी बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिका सहभागी भएको आयोजकले जानकारी दिइएका छन्।
आज पहिलो दिन सुत्रपिटकको वाचन हुनेछ, वाचन गरिएको त्रिपिटकलाई सहभागी भिक्षुहरुले आ–आफ्नो भाषा र शैलीमा पछ्याई वाचन गर्नेछन्। नेपाली भिक्षु सुत्रपिटकमा दक्ष भएकोले नेपाली भिक्षुबाट पहिलो दिनको सुरुवात भएको छ। यसालई दिन लाओस र श्रीलंकाका भिक्षुहरुले पनि वाचन गर्ने छन्।
दोस्रो दिन शुक्रबार अभिधम्म पिटकको वाचन वर्माका भिक्षुको नेतृत्वमा सुरुवात हुन्छ, अभिधम्म पिटकमा वर्मेलीहरु दक्ष भएकोले वर्मेली भिक्षुबाट सुरुवात गरी कोरियन, नेपाली, चाइनिज, जापान र भियतनामका भिक्षुहरुले पनि वाचन गर्नेछन्।
त्यस्तै तेस्रो तथा अन्तिम दिन थाई तथा कम्बोडियन भिक्षुुले विनयपिटक वाचनको नेतृत्व गर्नेछन्। थाई र कम्बोडियनहरु यसमा दक्ष भएकोले उनीहरुबाट सुरुवात गरी १२५ जना बज्रायन भिक्षु, नेपाली गुरुआमा, क्यानाडाका गुरुआमाहरुले वाचन गरी सोही दिन मायादेवी मन्दिर परिसरमा दीप प्रजवलन गरी कार्यक्रमको समापन हुने सचिव हेमबहादुर विष्टले जानकारी दिए।
विगत १५ वर्षदेखि भारतमा मात्र भैरहेको यो आध्यत्मिक कार्यक्रले लुम्बिनीको आध्यत्मिक, सांस्कृतिक महत्व अझ बढाउने र पर्यटकहरुको चहल पहलमा थप टेवा पुग्ने विश्ववास गरिएको छ।
लुम्बिनीको आध्यत्मिक विकास र पर्यटकको बसाई अवधि लम्बाउन त्रिपिटक वाचन समारोह महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्ध विहार, लुम्बिनी विकास कोष लगायत ३५ सदस्यीय मूल आयोजक समिति गठन गरि सबैको संयुक्त आयोजनामा कार्यक्रम हुँदैछ।
प्रकाशित: २८ कार्तिक २०७६ ११:०० बिहीबार