७ वैशाख २०८१ शुक्रबार
समाज

फलामखानीको सर्वेक्षण

दुलेगौँडा(तनहुँ)– तनहुँको भिमादस्थित भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकालाई जोड्ने सेतीनदी माथि जीण झोलुङ्गे पुल छ। उक्त पुल सयौँ वर्ष पहिले ढोरको खानीबाट निकालिएको फलामबाट निर्माण गरिएको जानकारहरु बताउँछन्। पुर्खाहरुले स्रोत साधनको अभावमै खानीबाट धाउ निकाली प्रशोधित फलामले पुल निर्माण गरिएको सुन्दा दन्ते कथा जस्तो लाग्छ।

त्यही खानीको फलाम उत्खनन गर्नलाई सरकारले सम्भाव्यता अध्ययन थालेको छ। साविक ढोरफिर्दी गाविसमा पर्ने फलाम खानी भएको क्षेत्र अहिलेको शुक्लागण्डकी नगरपालिका वडा नम्बर १० मा पर्दछ।

एक सातादेखि खानी तथा भूगर्भ विभागबाट आएका चार जनाको टोलीले स्थानीयको सहयोगमा यहाँको फलामखानीको सम्भाव्यता अध्यनन गरिरहेको छ। सयौँ बर्षअगाडी फलाम निकालिएको भक्कलस्थित भक्कल सामुदायिक वन क्षेत्रमा सर्वेक्षण भईरहेको भुगर्भविद ठाकुरप्रसाद कँडेलले बताए। उनका अनुसार जमिनमुनी करेण्ट पठाएर कति गहिराईसम्म फलाम छ भन्नेबारे अध्ययन हुदैँछ। ‘भुभौतिक सर्वेक्षण अप्रत्यक्ष विधी हो। यो विधीमा जमिनमुनी करेण्ट पठाइन्छ। करेण्ट जमिनभित्र छिरेपछि स्क्यान हुन्छ’, उनी भन्छन्, ‘जमिनको सतहमुनी कति गहिराईसम्म फलाम छ स्क्यान भएर डाटा देखिन्छ। त्यसैलाई आधार मानेर सम्भावनाको विश्लेषण गर्दछौँ।’

उनका अनुसार अहिले भईरहेको अध्ययनको प्रतिवेदन ३५ दिनभित्र विभागमा बुझाईनेछ। प्रतिवेदन पेश भएपछि फलामको प्रतिशत राम्रो देखिएमा विस्तृत अध्ययनका लागी ड्रिलिङ गरिने उनको भनाई छ। उनी भन्छन्, ‘ड्रिलिङ गर्न खर्चिलो हुन्छ। रिपोर्टमा फलामको परिणाम कम देखिएमा ड्रिलिङ गरिदैन्।’

यसअगाडी अन्वेषण र सम्भाव्यता अध्ययन गर्न यहाँ दुई पटकसम्म भुर्गभविदसहित विभागको टोली आएका थिए। पहिलो पटक आएको टोलीले खानी भएको क्षेत्रको नक्सांकन ग¥यो। दोस्रो पटक आएको टोलीले खानीमा भेटिएका धाउको नमुना संकलन गरेर परिक्षणका लागी विभागको प्रयोगशालामा लगेको छ।

उक्त नमुना परिक्षण हुन बाँकी रहेको विभागका सूचना अधिकारी कृष्णदेव झाले बताए। ‘नमुना परिक्षण र भुभौतिक परिक्षणको रिपोर्टको आधारमा विस्तृत अध्ययनको प्रकृया अगाडी बढ्छ’, उनले भने। चालु वर्षको दोस्रो चौमासिकसम्म दुवै अध्ययनको फाइनल रिपोर्ट आउने उनले जानकारी दिए। झा भन्छन्, ‘अन्वेषण सकेर उत्खन्न गर्न तीन वर्ष जति समय लाग्दछ।’

उनले दिएको जानकारी अनुसार यहाँ करिब ४२ वर्गकिलोमिटर क्षेत्रफलमा फलाम र तामाखानी फैलिएको छ। यो क्षेत्रमा निजी क्षेत्रलाई उत्खनन गर्न रोक्का गरिएको छ। साँखेतर्फ क्याङदी खोलादेखी भक्कल वरपरका क्षेत्रमा फलामखानी र मिनामखानीको क्षेत्रमा तामा खानी भएको अनुमान छ। फलाम र तामाको अन्वेषण, अध्ययन गर्न विभागलाई सरकारले चालु वर्षमा दश लाख रुपैयाँ उपलब्ध गराएको छ।

लामो समयदेखि स्थानीयले गाउँमा भएको खानीको फलाम र तामाको उत्खनन् गर्नुपर्ने माग राख्दै आएका थिए। गएको बैशाखमा सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नवलपुर, पर्वत र तनहुँको फलाम खानी उत्खन्न गर्न यो वर्ष अध्ययन कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने उल्लेख गरिएको थियो।

नवलपुरको हुप्सेकोट गाउँपालिकामा व्यावसायिक फलाम उत्पादन गर्न ‘धौवादी फलाम खानी कम्पनी’ स्थापना भईसेकेको छ। तनहुँवासी जिल्लामा रहेको फलाम र तामा खानीको अन्वेषण र उत्खननको पखाईमा छन्।

वडाध्यक्ष रामचन्द्र भण्डारीका अनुसार खानी उत्खनन् गर्न अध्ययन सुरु भएपछि स्थानीयहरु उत्साहित बनेका छन्। ‘वर्षौदेखी आझेलमा परेको खानी उत्खनन भएपछि सम्वृद्धीको ढोका खुल्ने विश्वास लिएका छौँ’, उनले भने।

खानी सञ्चालनमा ल्याउन शुक्लागण्डकी नगरपालिकाले समेत चासो देखाएको छ। ‘स्थानीय तहले गर्नुपर्ने सहयोग गर्न प्रतिबद्ध छौँ’, मेयर किसान गुरुङले भने।

संघीय सांसद केदार सिग्देलले सम्भाव्यता अध्ययन भईरहेको क्षेत्रको अनुगमन गरेका छन्। उनले खानीको अन्वेषण र उत्खननमा कुनै कारणले रोकावट र ढिलाई हुन नदिने बताए। उनले तिनै तहका सरकारले नीति निर्माणको तहबाट सघाउने जिकिर गरे। खानी उत्खननले मुलुकको आर्थिक विकासमा टेवा पुग्ने उनको विश्वास छ। ‘जिल्लाको सम्पन्नताको आधार यहाँका खानी हुन्’, सांसद सिग्देलले थपे, ‘खानी उत्खनन भएर उद्योग सञ्चालनमा ल्याएपछि विदेशीएका स्थानीय युवालाई स्वदेश फर्काएर रोजागारी दिन सकिन्छ।’ ‘राष्ट्रिय महत्व र गौरवका आयोजनाहरु सञ्चालनमा कानुनी अवरोध सिर्जना हुन नदिन ऐन कानुन निर्माण तथा संशोधन गरिएको उनको दाबी छ।

प्रकाशित: २८ कार्तिक २०७६ ०९:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App