७ वैशाख २०८१ शुक्रबार
समाज

युवा विदेशिएपछि कृषि मजदुरको अभाव

पर्वत- यतिबेला पर्वत जिल्लाका विभिन्न गाउँमा किसानलाई धान काट्ने र थन्क्याउने चटारो छ। अन्य काम गर्न त्यति फुर्सद छैन, तर धान काट्न भने सबैलाई भ्याइनभ्याइ छ। रोजगारका लागि युवाहरु विदेशिएपछि पर्वत जिल्लाका गाउँमा कृषि मजदूरको अभावमा किसान समस्यामा परेका छन्।

जिल्लाको धानको पकेट क्षेत्र मानिने कुश्मा र फलेवास नगरपालिका, जलजला गाउँपालिकालगायतका ठाउँमा कृषि मजदूर नपाउँदा किसान समस्यामा परेका छन्।

धान पाकेर भूँइमा झर्न थालिसकेपनि खेताला नपाएर धान काट्न नसकिएको कुश्मा नगरपालिका–११ पिपलटारीका रमेश पौडेलले बताए। जनशक्तिको अभाव र भएको जनशक्ति पनि धान काट्ने चटारोमै भएका कारण समस्या आएको उनको भनाइ थियो। उनी जस्तै कुश्मा नगरपालिका–९ कटुवाचौपारीका माया सापकोटा धान काट्ने खेताला खोज्न गाउँभर तथा छिमेकी गाउँमा पुगेपनि नपाएको गुनासो गरिन्। युवा सबै विदेशीएपछि गाउँघर सुनसान बन्न थालेको उनको भनाइ थियो।

'सबैलाई धान काट्ने चटारो छ, गाउँमा भएका युवायुवती सबै विदेश गए, गाउँमा खेतालाको अभावै भयो', उनले भने। पहिले अर्मपर्म गरेर नै धान काट्न सकिन्थ्यो तर अहिले त्यो अवस्था छैन। उनी जस्तै कुनपा–१२ ठूलीपोखरीका अशोक केसीको पीडा पनि उस्तै छ। गाउँमा युवायुवती भन्दा बुढाबुढी धेरै हुँदा समस्या भएको हो। 'धान उत्पादन पहिलेको तुलनामा घटेको पनि छ अर्मपर्म गरौं भने आफ्नैमा धान काट्ने चटारो छ', केसीले भने, 'खेताला अभावमा समस्या परेको छ।'

अहिले गाउँमा एकजना खेतालाको पारिश्रमिक पाँच सय रुपैयाँदेखि ६०० रुपैयाँसम्म छ। पहिले छिमेकी गाविस तथा अर्मपर्म गरेर धान काट्दै आउने गरेता पनि अहिले युवायुवती विदेशीएसँंगै झनै समस्या भएको किसानको भनाइ थियो।

बजारमा व्यापार, व्यवसाय गर्ने पनि खेतालाको अभावले पसलै बन्द गरेर धान काट्न जानु परेको बताउँछन्। सदरमुकाम कुश्मा बजारमा व्यवसाय गर्दै आएका शिव शर्मा भन्छन्, 'पसलमा बस्दा त कमाई त हुन्छ नि, तर के गर्नु धान काट्न भ्याइनभ्याइ छ।' खेताला नपाएर व्यापारलार्ई त्यति समय दिन नपाएको उनको गुनासो छ। स्वदेशमा रहेका युवा जनशक्ति शहरमा जागिर खान्छन्, जसका कारण खेतीपातीमा समय दिन पाउँदैनन्। घरमा रहेका बुढापाकाले ज्यानमा तागत नहुँदा खेतको काम गर्न नसक्ने उनको भनाइ छ।

सरकारले देशमा स्वरोजगार कार्यक्रम ल्याए युवा विदेश जाने क्रम घट्ने र खेतालाको अभाव नहुने फलेवास नगरपालिकाका दिनेश लामिछानेले बताए। किसानले आफूले उब्जनी गरेको बालीको मूल्य आफै निर्धारण गर्न नपाउँदा ठगिइरहेको अवस्थामा खेताला नपाउँदा झनै चिन्तित बनेको उनको भनाइ छ।

प्रकाशित: २८ कार्तिक २०७६ ०८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App