८ वैशाख २०८१ शनिबार
अर्थ

खाद्य सामग्रीको नमूना परीक्षण घट्यो

खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा खाद्यवस्तुको नमूना परीक्षण गरिँदै। तस्बिर : हिमनाथ/नागरिक

रसुवा – चिनियाँ खाद्य सामग्री आयात रोकिएसँगै नमूना परीक्षण पनि घटेको छ। खाद्य सामग्रीको लेवलिङमा भाषाको समस्या देखाउँदै आयातमा रोक लगाइएपछि सामग्रीको नमूना परीक्षण घटेको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले जनाएको छ।

दुई महिनादेखि रसुवागढी नाकाबाट चिनियाँ खाद्य सामग्री आयात भएको छैन। चीनमा बनाइएका खाद्य सामग्रीमा लेबलिङ चिनियाँ भाषामा नै लेखिएको हुन्छ। नाकामा चिनियाँ भाषामा लेखिएको सामग्रीको परीक्षणको कुनै व्यवस्था छैन।

चिनियाँ अक्षर नबुझिने समस्या भएपछि चिनियाँ भाषामा मात्रै लेखिएका सामग्री आयातमा रोक लगाइएको थियो। कार्यालय प्रमुख अतिस घिमिरेका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को तीन महिनामा ५५ वटा सामग्रीको नमूना परीक्षण गरिएको छ। 

परीक्षण गरिएका खाद्यान्न, दलहन तथा सोबाट बनेका पदार्थ १७, फल तथा सागपातजन्य पदार्थ २३, मसला तथा मसलाजन्य सामग्री चार, कन्फेक्सनरी तीन, मासु तथा मासुजन्य पदार्थ दुई, चिया/कफी दुई, नुन एक, दूध तथा दुग्धजन्य पदार्थ दुई र अन्य एउटा गरी ५५ वटा सामग्रीको नमूना परीक्षण गरिएको हो।

चीनबाट आउने प्रमुख सामग्रीमा चक्लेट, चम्मा पिठो, बिस्कुट, सोया सस, भिनेगर, अचार, जुस पाउडर, चिकेन पाउडर, कफी, थुप्पा, चिया, एमएसजी, ओखर, चामल, टिमुर,चिकेन ब्रोथ क्युब, मसरुम सुप, धुलो खुर्सानी, मसला, छयाङ्ग, क्वाची आदि छन्।

२०७५ माघदेखि सञ्चालनमा आएको कार्यालयले गत माघदेखि असार मसान्तसम्म एक सय ८१ वटा खाद्य वस्तुको नमूना परीक्षण गरेको थियो। नाकामा कारोबार बढेपछि गत माघ १३ गतेदेखि कार्यालय सञ्चालनमा ल्याइएको थियो। तर पछिल्लो समय भाषाको कारण आयात तथा निर्यात दुवै रोकिएको छ।

प्रयोगशालासहित स्थापना भएको कार्यालयमा खाद्य सामग्रीको गुणस्तर परीक्षण हुने क्रम पनि बढेको उनले बताए। तर, कार्यालय स्थापना भएको नौ महिना बितिसक्दा पनि चीन निर्यात हुने खाद्य सामग्रीको परीक्षणका लागि एउटै नमूना आएको छैन। चीनबाट नेपाल भित्रिएका खाद्य सामग्री परीक्षणका लागि भन्सार कार्यालयले नमूना पठाउने गरेको छ।

‘आयात भएका सामग्रीको गुणस्तर प्रमाणीकरण गरिरहेका छौं,’ उनले भने, ‘निर्यात हुने सामग्रीका लागि भने गुणस्तर प्रमाणीकरण भएको छैन।’ चाउचाउ, मैदाको पिठो, चिउरालगायत सामग्री चीन जाने गरेको छ। गुणस्तर प्रमाणित नगरी सामग्री आयात तथा निर्यात गर्न मिल्दैन। भन्सार कार्यालयले खाद्य सामग्रीको नमूना गुणस्तर कार्यालयमा पठाउँछ। कार्यालयले आयात तथा निर्यात भएका सामग्रीको गुणस्तर प्रमाणित गरेपछि मात्रै भन्सारले अनुमति दिन्छ।

कार्यालयको स्थापनाले गुणस्तरहीन सामग्री आउने सम्भावना भने घटेको छ। कार्यालय स्थापना भएपछि आयात हुने खाद्य पदार्थको गुणस्तर तथा लेबलमा पहिलेभन्दा क्रमिक रूपमा सुधार भएको उनले बताए। कार्यालयले परामर्श सेवा प्रदान गरेकाले आयातकर्ता तथा निर्यातकर्ता लाभान्वित भएका छन्।

प्रकाशित: २८ कार्तिक २०७६ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App