coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

संसदकी उपप्रमुखद्वारा आफैंलाई राष्ट्रपति घोषणा

आफूले आफैंलाई बोलिभियाको अन्तरिम राष्ट्रपति घोषणा गरेकी जान्निए आनियस र राजनीतिक शरण लिन मेक्सिकोको राजधानी मेक्सिको सिटी पुगेपछि विमानबाट ओर्लने क्रममा हात हलाउँदै पद त्याग गरेका बोलिभियाली राष्ट्रपति एभो मोरालेस। तस्बिर : एजेन्सी

मेक्सिको सिटी (बिबिसी)– बोलिभियाकी विपक्षी सिनेटर जान्निए आनियसले आफूले आफैंलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेकी छन्।

दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति एभो मोरालेसले पदबाट राजीनामा दिएर छिमेकी मेक्सिकोमा राजनीतिक शरण लिन गएपछि देशको सिनेटको उपप्रमुखसमेत रहेकी आनियसले आफूले आफैंलाई राष्ट्रपति घोषणा गरेकी हुन्।

उनले देशको संविधानअनुसार आफू राष्ट्रपति बन्ने क्रममा पहिलो भएको जिकिर गर्दै चाँर्ड नै विभिन्न निर्वाचन गराउने प्रतिबद्धतासमेत व्यक्त गरेको बिबिसीले उल्लेख गरेको छ।

उनको नियुक्तिलाई बोलिभियाको सर्वोच्च संवैधानिक अदालतले समेत मान्यता दिइसकेको बताइएको छ। आनियसलाई अन्तरिम राष्ट्रपति नियुक्ति गर्न आयोजित संसद् बैठकलाई मेक्सिको निर्वासनमा गएका निवर्तमान राष्ट्रपति मोरालेस नेतृत्वको समाजवादी पार्टीले भने बहिस्कार गरेको थियो। अर्थात् उक्त बैठकमा कोरम पुगेको थिएन।

सेनाको दबाबमा राजीनामा दिनुपरेको जिकिर गरेका मोरालेस भने आफ्नो जीवन खतरामा रहेको भन्दै राजनीतिक शरण लिन मेक्सिकोमा पुगेका छन्।

५२ वर्षीया आनियस एक सक्षम कानुन व्यावसायी हुन् र निवर्तमान राष्ट्रपति मोरालेसको कटु आलोचक पनि।

विवादित राष्ट्रपतीय निर्वाचन परिणामका कारण बोलिभियामा कैयौं सातासम्म प्रदर्शन भएपछि उनले पदबाट राजीनामा दिएका थिए। यद्यपि मोरालेसले भने आफूले सेनाको दबाबमा राजीनामा दिएको बताएका छन्। उनले ‘देशमा कुनै रक्तपातपूर्ण अवस्था नआओस् भनेर राजीनामा दिएको’ जिकिरसमेत गरेका छन्। उनले गत आइतबार राष्ट्रपति पदबाट राजीनामा दिएका थिए।

हाल मेक्सिकोमा शरण लिन पुगेका मोरालेसले एउटा ट्विट गर्दै आनियसलाई कपटपूर्ण दक्षिणपन्थी ‘कू’ को एक अंग भएको आरोप लगाएका छन्।

एउटी सिनेटर कसरी अन्तरिम राष्ट्रपति ?
राष्ट्रपति मोरालेसले राजीनामा दिएको दुई दिनपछि मंगलबार आनियसले सिनेटको अस्थायी नेतृत्व आफ्नो हातमा लिएकी थिइन्, जसका कारण बोलिभियाको संविधानअनुसार पनि उनी राष्ट्रपतिको लाइनमा पुगिन्।

बोलिभियाका उच्चपदस्थ नेताहरुको शृंखलाबद्ध राजीनामाका कारण पनि आनियसले अन्तरिम राष्ट्रपतिको पद सम्हालेकी हुन्। उनलाई अन्तरिम राष्ट्रपति नियुक्त गर्न डाकिएको संसदीय बैठकलाई मोरालेसको समाजवादी दलले बहिस्कार गरेको थियो। सो दलले उनको नियुक्तिलाई अवैधसमेत भनेको छ।

‘राष्ट्रपति, उपराष्ट्रपति तथा चेम्बर अफ सिनेटर्सका अध्यक्षको अनुपस्थितिमा मैले संवैधानिक व्यवस्थाबमोजिम राष्ट्रपतिको पद तत्काल सम्हालेको छु,’ आनियसले संसद् बैठकमा घोषणा गरेकी थिइन्। उनले आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गर्दा उपस्थित सांसदले ताली बजाएका थिए।

५२ वर्षीया आनियस एक सक्षम कानुन व्यावसायी हुन् र निवर्तमान राष्ट्रपति मोरालेसको कटु आलोचक पनि। टोटलभिजन टिभी स्टेसनकी निर्देशक आनियस सन् २०१० देखि बोलिभियाको सिनेटर छिन्। उनले देशको बेनी क्षेत्रबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय सभाको सदस्य हुन्।

प्रकाशित: २८ कार्तिक २०७६ ०२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App