७ वैशाख २०८१ शुक्रबार
राजनीति

अस्तित्व जोगाउन गाभिँदै दल

काठमाडौं-चुनावलाई लक्षित गर्दै केही राजनीतकि दल मर्जको तयारीमा जुटेका छन्। केही दल मर्ज भइसकेका छन्।

थ्रेस होल्डको प्रावधान राखिएको अवस्थामा एक्लाएक्लै चुनावमा जाँदा अस्तित्व नरहने भएपछि साना दलहरू एकआपसमा एकीकरण प्रक्रियामा लागेका हुन्। केही दल भने वैकल्पिक शक्तिका रुपमा उदाउने सोचले एकता प्रक्रियामा जुटेका हुन्।

साना दलले चुनावमा थ्रेस होल्डको व्यवस्था राख्न नहुने बताउँदै आए पनि ठूला दल यसको  पक्षमा देखिएका छन्।

संवैधानिक व्यवस्था अनुसार २०७४ माघसम्म स्थानीय, प्रदेश र संघीय संसद्को चुनाव भइसक्नुपर्छ। सरकारले आगामी चैत–वैशाखमा स्थानीय तहको चुनाव गर्ने बताउँदै आएको छ । स्थानीय तह पुनः संरचना आयोगको प्रतिवेदन आएपछि चुनावका लागि आवश्यक प्रक्रिया अघि बढाउने तयारीमा सरकार छ।

मंसिर ६ मा राप्रपा र राप्रपा नेपालबीच एकीकरण भइसकेको छ । बाबुराम भट्टराइले नेतृत्व गरेको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकीकरण प्रक्रिया सुरु भएको छ ।  तमलोपा र सद्भावना पार्टीबीच पनि एकीकरणका लागि दुई चरण वार्ता भइसकेको छ । अनिल झाले नेतृत्व गरेको नेपाल सद्भावना पार्टी र रामबाबु यादवले नेतृत्वको रिपब्लिकन पार्टीबीच केही दिनअघि एकता भएको छ । एकीकृत  पार्टीको नाम नेपाल सद्भावना पार्टी नै राखिएको छ। ‘मधेसमा एउटा बलियो पार्टी बनाउन एकीकृत भएका हौं’, नेपाल सद्भावना पार्टी नेत्री डिम्पल झाले भनिन् ।

राप्रपा र राप्रपा नेपालबीचको एकीकरण मोडल अवलम्बन गरी अन्य दल पनि मर्जको तयारीमा लागेका छन् । एकीकृत राप्रपामाझंै  नेतृत्वमा दुई नेतालाई बराबरी स्थान दिनेगरी नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकीकरण तयारी भएको फोरमका नेता बताउँछन् । संघीय समाजवादी फोरम राजनीतिक समिति सदस्य रेखा यादवले पार्टी अध्यक्ष काठमाडौं फर्केपछि एकीकरणका लागि फेरि वार्ता अघि बढ्ने बताइन् । ‘दुई पार्टीबीच एकीकरणका लागि यसअघि पनि कुराकानी भएको हो । अध्यक्षज्यू काठमाडौं फर्केपछि फेरि कुराकानी अघि बढ्छ’, यादवले भनिन्, ‘कार्यव्यस्तताले एकीकरण वार्ता तीव्र हुननसकेको हो ।’ 

केही दिनयता फोरम अध्यक्ष यादव र नयाँ शक्तिका संयोजक भट्टराईबीच एकताकै विषयलाई लिएर निकटता बढेको छ । दुई पार्टीले केही दिनअघि संयुक्त प्रेस विज्ञप्ति जारी गरी मुलुकमा प्रत्यक्ष्य निर्वाचित कार्यकारी प्रमुखसहितका एजेन्डामा मिलेर अघि बढ्ने सहमति भएको घोषणा गरेका थिए । यादव भट्टराईतर्फ आर्कष्ति भएपछि मधेसी मोर्चाका अन्य घटका फोरमप्रति संशकित छन् । यादव र भट्टराई दुईजना आइतबार राजनीतिक कुरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुबटार पुगेका थिए ।

संविधानसभाको दोस्रो चुनावलगत्तै तमलोपा र सद्भावना पार्टीले एकीकरण प्रक्रिया अघि बढाएका थिए । उनीहरूले एकीकृत पार्टीको नाम र विधानसमेत तय गरिसकेका थिए । तर एकीकृत पार्टीको अध्यक्ष को हुने भन्नेमा विवाद हुँदा रोकिएको प्रक्रिया गत दसैंदेखि फेरि अघि बढेको नेताहरू बताउँछन् । सद्भावना पार्टीका महासचिव मनीष सुमनका अनुसार मधेसका जनता तमलोपा र सद्भावना पार्टीबीच एकता होस् भन्ने चाहन्छन् । ‘दुवै पार्टीबीच एकीकरण होस् भन्ने मधेसका जनताको चाहना हो । अब प्रक्रिया अघि बढ्छ’, सुमनले भने, ‘चुनावसम्म दुई पार्टीबीच एकता हुन्छ।’

अन्य मधेसवादी दल पनि एकीकरण प्रक्रियामा जुटेका छन् । तराई मधेस सद्भावना पार्टी उपाध्यक्ष रानी शर्माले आफ्नो दल अन्य मधेसवादी दलसँग एकता गरी मधेसमा एउटा बलियो पार्टी बनाउने पक्षमा रहेको बताइन् । ‘यसका लागि राष्ट्रिय मधेस समाजवादी पार्टीलगायतसँग एकदुई चरण अनौपचारिक कुराकानी भएको छ’, शर्माले भनिन् ।

उपेन्द्र र बाबुराम दुई पार्टी एकीकरण गरी मुलुकमा तेस्रो ठूलो दल बन्न चाहन्छन् । भर्खरै एकीकृत राप्रपा पनि चुनावपछि तेस्रो ठूलो दल हुने नेताहरू बताउँछन् । अन्य साना दलले भने थे्रस होल्डबाट डराएर एकीकरण प्रक्रिया अघि बढाएका हुन्।

प्रकाशित: २२ मंसिर २०७३ ०२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App