७ वैशाख २०८१ शुक्रबार
समाज

वसन्तपुरमा पार्किङ गर्न रोक

काठमाडौं - वसन्तुरको डबलीमा सवारी पार्किङ गर्नमा रोक लगाइएको छ। बुधबार ट्राफिक प्रहरी, जनप्रतिनिधि, नगर प्रहरी, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम कार्यालयको वसन्तपुरमा बसेको संयुक्त बैठकले पार्किङ रोक लगाउने निर्णय गरेको हो।

दुई साता अघिबाट त्यहाँकै कर्मचारी र वसन्तुरमा घुम्न आएका पर्यटकले वसन्तपुरको डबली परिसरमा अनधिकृतरूपमा साँझ मोटरसाइकल पार्किङ गर्दै आएका थिए। यसको चौतर्फी विरोध हुँदै आएको थियो।

काठमाडौं महानगरपालिका वडा २३ का अध्यक्ष मचाराजा महर्जनले बैठक बसेर पार्किङ निषेध गर्ने निर्णय गरेको बताए। उनले भने, ‘यो क्षेत्र विश्व सम्पदामा सूचीकृत क्षेत्र हो। चेतनाको कमीले गर्दा पार्किङ बन्न स्थल पुग्यो।’

उनले वसन्तपुर क्षेत्रमा दीर्घकालीनरूपले सवारी साधन पार्किङमा निषेध गर्ने योजनाबारे समेत बैठकमा छलफल भएको बताए। उनले भने, ‘तत्कालका लागि नगर प्रहरी खटाइन्छ। अहिले विभिन्न संरचना बन्दै छ। सबै पूर्वाधार तयार गरिसकेपछि दीर्घकालीनरूपमा यो समस्याको समाधान गछौँ।’

उनका अनुसार रातिको समयमा सुरक्षा गार्ड राखिनेछ। ‘आन्तरिक र बाह्य पर्यटकलाई सहज पार्न हामी जनप्रतिनिधि लागि पछौँ। बिहीबारबाटै सवारी पार्किङ निषेधका लागि चेतनामूलक होर्डिङ बोर्ड राख्ने काम थाल्छौँ। पूर्वाधार तयार गरी हप्ता दिनभित्रमा परिणाम राम्रो आउने गरी काम गर्ने छौँ,’ उनले थपे।
जनशक्ति अभाव भएकाले यस्तो समस्या निम्तिएकोे उनको भनाइ छ।

विश्व सम्पदामा सूचीकृत सम्पदा क्षेत्रमै अनधिकृतरूपमा सवारी पार्किङ गरिएपछि सम्पदाप्रेमीले समेत आपत्ति जनाउँदै आएका थिए। सम्पदाप्रेमी गणपतिलाल श्रेष्ठले विश्व सम्पदामा सूचीकृत क्षेत्रभित्र पार्किङ गरिनु गलत रहेको बताउँछन्। ‘वसन्तपुर क्षेत्रमा अनाधिकृतरूपले पार्किङ गर्नु दुःखद् हो,’ उनले भने, ‘कसैले पनि सम्पदा क्षेत्रलाई पार्किङ स्थल बनाउन पाउँदैन। पार्किङ गर्न नदिने भनेर बैठकमा निर्णय भएको छ। जनप्रतिनिधि, नगरप्रहरी मिलेर दिगोरूपले यसको समाधान गर्नुपर्छ।’

उनले २४ सैँ घण्टा सुरक्षा व्यवस्था राखिनुपर्ने बताए। ‘काठमाडौं महानगरपालिकाले शुल्क उठाउन्जेलसम्म मात्र सवारी पार्किङको व्यवस्थापन भएको देखिन्छ,’ उनले भने, ‘त्यो समय सकिसकेपछि अनियन्त्रित भएकाले यो समस्या देखिएको छ। त्यसैले २४ सैँ घण्टा सुरक्षाको पनि व्यवस्था हुनुपर्छ।’

वसन्तपुर दरबार क्षेत्रमा सवारी साधनले मात्रै नभई पछिल्लो समयमा फुटपाथ पसल, मगन्तेले गर्दा पनि अस्तव्यस्त बन्दै गएको छ। आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्क लिए पनि व्यवस्थापनमा भने सम्बन्धित सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन।

महानगरीय ट्राफिक प्रहरी वृत्त जनसेवा, वसन्तपुरका इन्चार्ज गोविन्द रावतले विश्व सम्पदामा सूचीकृत क्षेत्र व्यापक भएकाले सवारी साधनलाई नियन्त्रण लिन समस्या आएको बताए। ‘यो क्षेत्र ठूलो छ। हरेक ठाउँमा गल्ली र कुना छन्,’ उनले भने, ‘मान्छेले त्यहाँ लगेर सवारी साधन थन्काई हाल्छन्। सबै ठाउँमा नगर प्रहरी र ट्राफिक प्रहरी जान सक्दैनन्। त्यसैले समस्या देखिएको छ।’

अबदेखि वसन्तपुर क्षेत्रमा पार्किङ गरेको पाएमा कारबाही गरिने उनले बताए। हेरिटेज क्षेत्र परेकाले अनाधिकृत पार्किङ गर्ने प्रवृत्ति बढ्दै गएको बताउँदै उनले सबै नागरिकमा सवारी निषेधित क्षेत्रबारे सुसूचित हुनुपर्ने बताए। ‘यो हेरिटेज क्षेत्र भएकाले विदेशी र नेपाली पर्यटकको प्लोर धेरै हुन्छ,’ उनले भने, ‘व्यापारिक क्षेत्र भएकाले पनि ट्राफिक समस्या धेरै हुन्छ। हामीले निषेधित क्षेत्रमा पार्किङ गर्नेलाई कारबाही गरिरहेका छौँ।’

उनले छुट्टै अफिसरको कमान्डमा पाँचजनादेखि मेनपावर बढाएर सबैको सहयोगको सहकार्यमा अघि बढे दीर्घकालीन रूपले वसन्तपुरको पार्किङ समस्या समाधान गर्न सकिने उनले बताए। उनका अनुसार आकस्मिक सेवाका सवारीलाई मात्रै प्रवेश गराइने छ। उक्त सवारीलाई पनि उचित समयसम्म पार्किङ गर्न दिइने छ।

राजधानीको वसन्तपुर डबलीमा साँझ पार्किङ गरिएको मोटरसाइकल।

प्रकाशित: २८ कार्तिक २०७६ ०१:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App