coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अस्ट्रेलियाको प्रभावशाली जित

क्यानबेरा(एएफपी)– अस्ट्रेलियाले च्यापेल हडल ट्रफी एकदिवसीय शृंखलाअन्तर्गतको दोस्रो खेलमा मंगलबार न्युजिल्यान्डमाथि १ सय १६ रनको प्रभावशाली जित दर्ता गराएको छ।

डेविड वार्नरले वर्षको छैटौं व्यक्तिगत शतक बनाएपछि अस्ट्रेलियाले टस हारेर ब्याटिङमा निम्त्याइएपछि क्यानबेरामा ३७८–५ को चुनौतीपूर्ण स्कोर खडा गरेको थियो । जवाफमा प्याट कुमिन्सले ४१ रन खर्चेर ४ विकेट लिएपछि न्युजिल्यान्डलाई ४७.२ ओभरमा २ सय ६२ रनमा रोक्दै घरेलु टोली फराकिलो जितको लायक बन्यो।

वार्नरले १ सय १५ बलको व्यक्तिगत इनिङमा १ सय १९ रन जोडे । ब्याटिङमैत्री मानुका ओभलमा अस्ट्रेलियाली ओपनर वार्नरले १४ चौका र १ छक्का हाने । कप्तान स्टिभ स्मिथले ७६ बलमा ७२ रन र नवप्रवेशी ट्राभिस हेडले आक्रामक खेल्दै ३२ बलमा ५७ रन जोडे । मिचेल मार्सले ४० बल खेल्दै ७ छक्कासहित अविजित ७६ रन बनाएर न्युजिल्यान्डको सम्भावना थप पातलो बनाइदिए ।

आक्रामक ब्याट्सम्यान वार्नरले एकदिवसीय करिअरको १० औं शतक १ सय १ बलमा पूरा गरेका थिए । पछिल्ला पाँच एकदिवसीय इनिङमा यो उनको तेस्रो तथा न्युजिल्यान्डविरुद्ध पहिलो शतक हो । अस्ट्रेलियाका अन्य तीन ब्याट्सम्यानले मात्र वार्नरभन्दा बढी शतक बनाएका छन् । पूर्व कप्तान रिकी पोन्टिङले सर्वाधिक ३० शतक, मार्क वाले १८ तथा एडम गिलक्रिस्टले १६ शतकमा नाम लेखाएका छन् ।

मध्यम गतिका बलर कोलिन डी ग्रान्डहोमले केन विलियम्सनबाट ३७ औं ओभरमा कभरबाट क्याच गराएपछि वार्नरको स्मिथसँग १ सय ४५ रनको साझेदारी टुटेको थियो । सिड्नीमा एकदिवसीय करिअरकै अहिलेसम्मको सर्वाधिक १ सय ६४ रन बनाएका स्मिथले त्यही फर्मलाई निरन्तरता दिने क्रममा ७२ रन बनाए । स्मिथले टिम साउथीको बलमा मिचेल सान्टनरलाई क्याच दिएका थिए ।

शृंखलामा दोस्रो अर्धशतक बनाएका हेडलाई साउथीको बलमा कोलिन मुनरोले क्याच आउट गरे । वार्नरका ओपनिङ पार्टनर आरोन फिन्च १३ औं ओभरमा १९ रन जोडेका बेला ६८ रनको ओपनिङ साझेदारीमा पूर्णविराम लगाउँदै सान्टनरबाट बोल्ड भए ।

ग्लेन म्याक्सवेलले अझै मौका नपाएको दिन अस्ट्रेलियाले लेग स्पिनर एडम जाम्पाको ठाउँमा अलराउन्डर जेम्स फल्कनरलाई टिममा समावेश गरेको थियो ।

तीव्र गतिका अनुभवी साउथीसँगै लोकी फर्गुसनलाई पुनरागमन गराएको न्युजिल्यान्डको जवाफ दमदार रहन सकेन । अस्टे«लियाका कुमिन्सले चार तथा मिचेल स्टार्क, जोस हाज्लेउड र फल्कनरले २–२ विकेट लिएको इनिङमा भ्रमणकारी टोलीका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ८१ तथा जेम्स निसमले ७४ रनको योगदान गरे ।

नवौं ओभरमा ५२ रन जोड्दा दुवै ओपनरलाई गुमाइसकेको न्युजिल्यान्डको इनिङ सम्हाल्ने प्रयासमा विलियम्सनले तेस्रो विकेटमा निसमसँग १ सय २५ रनको साझेदारी गरे । चौथो विकेटमा मुनरो (११) सँग १४ रन थपेका उनले पाँचौं विकेटका लागि ग्रान्डहोम (१२) सँग ३८ रनको साझेदारी गरे । विलियम्सन आफै कुमिन्सको बलमा वार्नरबाट क्याचआउट हुनुअघि छैटौं विकेटमा उनले सान्टनरसँग ३ रन थपे ।

कुल ८० बल खेलेका विलियम्सनले ५ चौका र २ छक्का प्रहार गरे । निसमले ८३ बलमा ७ चौका र १ छक्का प्रहार गरे । त्यसअघि ओपनर मार्टिन गुप्टिलले ३३ बलमा ७ चौका र १ छक्कासहित ४५ रन बनाएका थिए । अस्ट्रेलियाली बलरहरू हाबी भएको खेलमा न्युजिल्यान्डका बाँकी ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

प्रकाशित: २२ मंसिर २०७३ ०१:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App