७ वैशाख २०८१ शुक्रबार
समाज

स्थानीय तहको उम्मेदवार मनोनयन आज

काठमाडौं – प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको मंसिर १४ गते हुने उपनिर्वाचनका लागि स्थानीय तहको उम्मेदवारको मनोनयन आज (बुधवार) दर्ता हुने भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार स्थानीय तहको उपनिर्वाचनमा भाग लिने उम्मेदवारले सम्बन्धित स्थानीय तहको केन्द्रमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयनपत्र दर्ता गर्ने भएका हुन्।

आयोगका अनुसार स्थानीय तहअन्र्तगत बुधवार विहान १० बजेदेखि दिउँसो १ बजेसम्म स्थानीय तहमा उम्मेदवारी दिन चाहनेले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयनपत्र दर्ता गराउनेछन्। मनोनयनपत्र दर्ता गराउन जाँदा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, सम्बन्धित स्थानीय तहको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, राजनीतिक दलको तर्फबाट उम्मेदवार हुने भए दलको औपचारिक पत्र, प्रस्तावक र समर्थकको नाम, उनीहरूको मतदाता नामावलीमा नाम दर्ता भएको प्रमाण, स्थानीय तहका अध्यक्ष उपाध्यक्ष÷प्रमुख, उपप्रमुखका लागि १ हजार ५ सय र वडाध्यक्षका लागि एकहजार धरौटी सहित पुग्नुपर्नेछ। त्यसैगरी उम्मेदवारी दिँदा कुनै लाभको पद वा कुनै वहालवाला पदाधिकारी भए बहाल रहेको पदबाट राजीनामा दिएको निस्सा समेत समावेश गर्नुपर्नेछ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बुधबार मनोनयनपत्र दर्ता भएपछि बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ। शुक्रबार उजुरी उपर जाँचबुझ गरी मनोनयन भएको उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तोकिएको छ। शनिबार उम्मेदवारले आफ्नो नाम फिर्ता लिने समय तोकिएको छ भने सोही दिन साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। आइतबार उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेपछि उम्मेदवार तथा राजनीतिक दल आ–आफ्नो चुनावी प्रचारमा लाग्नेछन्।

आगामी मंसिर १४ गते २०७४ को निर्वाचनपछि विभिन्न कारणले रिक्त भएका प्रतिनिधिसभा १, प्रदेशसभा ३ र स्थानीय तहमा ४८ गरी कुल ५२ पदमा उपनिर्वाचन हुँदैछ। आगोगले स्वीकृत गरेको अन्तिम मतदाता नामावलीअनुसार उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाताले मतदान गर्न पाउने भएका छन्। ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २ सय ४७ मतदानस्थल र ५ सय ३७ मतदान केन्द्र रहेको आयोगले जनाएको छ।

प्रकाशित: २७ कार्तिक २०७६ ०५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App