७ वैशाख २०८१ शुक्रबार
खेल

होपको शतकप्रेरित वेस्ट इन्डिजको जित

लखनउ – ओपनर साई होपको अविजित शतकमा वेस्ट इन्डिजले सोमबार अफगानिस्तानविरुद्धको एकदिवसीय शृंखला ३–० ले क्लिनस्विप गरेको छ।

तीन खेलको शृंखलाअन्तर्गतको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा वेस्ट इन्डिजले अफगानिस्तानमाथि ५ विकेटको जित हात पारेको हो। अफगानिस्तानले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य वेस्ट इन्डिजले ४८.४ ओभरमा मात्र ५ विकेटको क्षतिमा पूरा गरेको थियो। होपले छैटौं विकेटका लागि रोस्टन चेससँग अविजित ७१ रनको साझेदारीका साथ वेस्ट इन्डिजलाई  सहज जित दिलाएका थिए।

१ सय ४५ बल खेलेका होपले ८ चौका र ३ छक्का मद्दतबाट अविजित १ सय ९ रन जोडेका थिए। चेसले ४२ बलमा ३ चौकाको मद्दतमा अविजित ४२ रन जोडे। होपको यो सातौं एकदिवसीय शतक हो। त्यस्तै वेस्ट इन्डिजले सन् २०१४ पछि हात पारेको यो नै पहिलो क्लिनस्विप नतिजा हो। तर तेस्रो ओभरको पहिलो बलमा ओपन इर्विन लुइसलाई गुमाएपछि वेस्ट इन्डिजको लागि गतिलो सुरुआत बन्न सकेन।

सोही ओभरको चौथो बलमा सिमरन हेटमायर पनि पवेलियन फर्किएपछि भने वेस्ट इन्डिज ४–२ को स्थितीमा आएको थियो। तेस्रो विकेटका लागि होप र ब्रान्डन किङले ६४ रनको साझेदारीका साथ वेस्ट इन्डिजको इनिङ उकासेका थिए। चौथो विकेटका लागि होपले निकोलास पुरनसँग ५१ रनको साझेदारीका साथ टोलीलाई जिततर्पm अग्रसर गराएका थिए।

होपले पाँचौं विकेटका लागि पनि कप्तान केइरोन पोलार्डसँग ६३ रनको साझेदारी गरेका थिए। ‘हामी जुन नतिजाका साथ यहाँ आएका थियौं, त्यो पूरा भएको छ,’पोलार्डले भने, ‘सबै खेलाडीले आफ्नो जिम्मेवारी पूरा गरे। जितको लयलाई अबको खेलमा पनि निरन्तरता दिनु चुनौती हो।’ अफगानिस्तानका मुजिब उर रहमानले २ तथा सराफुद्दिन असरफ, मोहम्मद नाबी र रासिद खानले समान १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४९ रनको योगफल तयार पारेको थियो। अफगानिस्तानका अजगर अफगानले सर्वाधिक ८६ रनको योगदान गर्दा ओपनर हर्जातुल्ला जजाई र नाबीले समान ५० रनको योगदान गरे। अफगानले ८५ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दा जजाईले ५९ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै नाबीले ६६ बलमा ३ चौका प्रहार गरे। वेस्ट इन्डिजका किमो पाउलले ३ र अल्जारी जोसेफले २ विकेट लिए। यी दुई टोलीले तीन ट्वान्टी–२० शृंखला खेल्नेछन्। शृंखलाको पहिलो खेल बिहीबार हुनेछ। अफगानिस्तानले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य वेस्ट इन्डिजले ४८.४ ओभरमा मात्र ५ विकेटको क्षतिमा पूरा गरेको थियो। ओपनर साई होपको अविजित शतकमा वेस्ट इन्डिजले सोमबार अफगानिस्तानविरुद्धको एकदिवसीय शृंखला ३–० ले क्लिनस्विप गरेको छ।

 

प्रकाशित: २७ कार्तिक २०७६ ०४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App