८ वैशाख २०८१ शनिबार
अर्थ

भन्सार र करका विषयमा राजस्व सचिवको ध्यानाकर्षण

काठमाडौं – नेपाल समुद्रपार निकासी पैठारी संघको एक प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानालाई भेटी भन्सार र कर क्षेत्रका विविध विषयमा ध्यानाकर्षण गराएको छ।

संघका उपाध्यक्ष सुनिलकुमार बंशलले नेतृत्व गरेको प्रतिनिधिमण्डलले बुधबार सचिव ढुंगानालाई भेटी सरकारलाई राजस्वसम्बन्धी राय, सुझाव दिन गठन हुने स्थायी राजस्व बोर्डमा संघको अनिवार्य प्रतिनिधित्व र अन्य विषयमा छलफल गरेको हो।

भेटका अवसरमा प्रतिनिधिमण्डलका सहभागीले हार्मोनिक कोड नम्बर, भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भिसिटिएस), अधिकतम खुद्रा मूल्य र सन्दर्भ मूल्यले व्यापारमा सिर्जना गरेका समस्याबारे सचिव ढुंगानाको ध्याकर्षण गराएको संघले जनाएको छ। हार्मोनिक कोड नम्बरलाई १० डिजिट गर्न पनि प्रतिनिधिमण्डलले आग्रह गरेको छ।

विश्वविख्यात ब्रान्डसँग मिल्दोजुल्दो आवरणमा सामान आयात गरी कारोबार गर्ने परिपाटी नरोकिँदा एकातिर राजस्व चुहावट भइरहेको र अर्कोतिर सक्कली माल–वस्तुको कारोबार गर्ने व्यवसायीलाई अप्ठेरो परेकाले त्यसलाई रोक्न भन्सारले आवश्यक कदम चाल्नुपर्ने सहभागीको माग थियो।

जवाफमा सचिव ढुंगानाले नक्कली सामान चिनाउन व्यवसायीले सहयोग गरे भन्सारले त्यस्ता सामानको आयात रोक्न सक्ने भन्दै यसमा सहयोग गर्न आग्रह गरे। यस विषयमा सरोकारावाला व्यवसायी र भन्सार अधिकारी एकै ठाउँमा बसेर छलफल गर्नुपर्ने उनको सुझाव थियो। एडभान्स रुलिङको हकमा कार्यविधि बनाउन निर्देशन दिइसकेको सचिव ढुंगानाले जानकारी गराए। छलफलमा अर्थ मन्त्रालयको राजस्व महाशाखाका सहसचिव धनीराम शर्मा र उपसचिव राजेन्द्र ढुंगाना पनि सहभागी थिए।

उक्त भेटघाटमा संघका द्वितीय उपाध्यक्ष विनोदकुमार सेठिया, महासचिव शिवकुमार अग्रवाल, सचिव अनिलकुमार अग्रवाल, कोषाध्यक्ष कुमार कार्की तथा कार्यसमिति सदस्यहरु आकाश गोल्छा, गौरव शारडा, विष्णुकुमार जोशी, मदन मित्तल, रामचन्द्र खेतान र प्रभातकुमार सर्राफ सहभागी रहेको संघले जनाएको छ।

प्रकाशित: २७ कार्तिक २०७६ ०३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App