८ वैशाख २०८१ शनिबार
कला

नेवारी संस्कृति झल्काउँदै सेरामिक कला

काठमाडौं – हरेक मानिस आ–आफ्नो परम्परा र संस्कृतिलाई पछ्याउन मनपराउँछन्। आ–आफ्नो परम्परा र संस्कृतिबाट प्रभावित मानिस त्यहीअनुसारको पहिचान स्थापित गर्न लागिपरेको हुन्छ। यही भावलाई आधार मानेर नेवारी समुदायमा हुर्किएकी चित्रकार सुशीला सिंहले एकल कला प्रदर्शन गरिरहेकी छिन्। राजधानीको काठमाडौं आर्ट ग्यालरीमा उनका नेवारी परम्परा, संस्कृति र रहनसहनको प्रतिनिधित्व गर्ने सेरामिकमा विभिन्न कलाहरु प्रदर्शन भइरहेका छन्।

नेवारी समुदायको विशेष मानिने सिन्दुर र कालो रंगलाई उनको कलामा महत्व दिइएको पाइन्छ। गत कात्तिक २२ देखि सुरु भएको ‘उडान’ शीर्षकको उनकोे एकल कला प्रदर्शनी हो। यो उनको तेस्रा एकल कला प्रदर्शनी हो। प्रदर्शनीमा उनले सेरामिकबाट तयार गरेका ३० चित्रकला र ६४ वटा वस्तुकलाहरु समेटिएका छन्। ‘नेवारी समुदायमा हुर्किएकी म स–साना विषयबाट प्रभावित हुन्छु,’ चित्रकार सिंहले भनिन, ‘हाम्रो पुर्खाैली भाँडाकुँडाहरुको प्रयोग हराउँदै गएको छ। धातुबाट बनेका सामानहरु विस्तारै विस्थापित हुँदैछ। यसको प्रयोगलाई जोड दिन मैले मानालाई आफ्नो कलामा समेटेकी हुँ।’

एक महिनाअघि चीनमा सेरामिक चित्रकला प्रदर्शनी गरेर फर्किएकी उनले सेरामिकको प्रयोग गरेर विभिन्न कप र भाँडाहरुमा नयाँ डिजाइन दिएकी छिन्। सेरामिकबाट बनाइएका माना र कपहरुको माध्यमबाट नेवारी समुदायको महत्वपूर्ण रंग र हाते सिपलाई देखाउन खोजेको उनले बताइन्। उनका अनुसार नेवारी समुदायको संस्कृतिमा दसैंमा कालो र सिन्दुर रंगलाई आर्शिवादको रुपमा लिइन्छ। अन्य समुदायमा कालो रंगलाई नराम्रो र अशुभको प्रतिकका रुपमा लिने गरेपनि दसैंमा नेवारी समुदायले अनिवार्य रुपमा कालो रंग प्रयोग गर्ने उनले बताइन्।

सेरामिक चित्रकलामा भने उनले विभिन्न ठाउँका मन्दिरहरुको दृश्यलाई कालो रंगमार्फत प्रस्तुत गरेकी छिन्। नेवारी समुदाय संस्कार र धार्मिक हिसाबले मठ–मन्दिरलाई बढी महत्व दिइने भएकाले मन्दिरलाई चित्रमा उतार्न मन लागेको उनले बताइन्। मन्दिरको चित्रसँगै उनले छेउछाउमा बसिरहेका स्वतन्त्र चराचुरुगींलाई पनि कलात्मक रुपले प्रस्तुत गरेकी छन्। प्रदर्शनी मंसिर ६ सम्म चल्नेछ।

प्रकाशित: २७ कार्तिक २०७६ ०३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App