coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

व्यावसायिक मेलमिलाप केन्द्रको उद्घाटन

काठमाडाैँ– नेपाल उद्योग वाणिज्य महासंघको कार्यालयमा व्यावसायिक मेलमिलाप केन्द्र सञ्चालन भएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र महासंघका अध्यक्ष भवानी राणाले संयुक्त रुपमा केन्द्रको उद्घाटन गरेका हुन् ।

सो अवसरमा न्यायाधीश खतिवडाले मेलमिलाप केन्द्र व्यावसायिक विवादको समाधानमा प्रभावकारी माध्यम बन्न सक्ने भएकाले यसलाई चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।

मेलमिलाप पद्धतिलाई व्यावसायिक विवाद समाधानको उपयुक्त र प्रभावकारी माध्यम बनाउन निजी क्षेत्रलाई आग्रह गर्दै उनले भने, ‘हाल अदालतमा फैसला हुन बाँकी मुद्दाको चाङ लागेको छ । आगामी दिनमा उद्योग, व्यापारसम्बन्धी समस्या मेलमिलाप केन्द्रमा छलफल गरी समाधान गर्ने वातावरण बनाउनु आवश्यक छ ।’

स–सानो समस्या मेलमिलापका माध्यमबाट समाधान गर्ने संस्थाको अभावमा सर्वसाधारणले अदालती प्रक्रियामा जाँदा समय र पैसा धेरै खर्च हुने गरेको छ । व्यावसायिक विवादको छिटो, छरितो र मितव्ययी ढंगबाट समाधान नै व्यावसायिक मेलमिलाप भएकाले सर्वोच्च अदालतले पनि व्यावसायिक मेलमिलापलाई उच्च प्राथमिकतामा राख्दै आएको उनले बताए ।

सोही अवसरमा महासंघका अध्यक्ष राणाले मेलमिलापलाई व्यावसायिक विवाद समाधानको उपयुक्त माध्यमका रूपमा आत्मसाथ गर्नुपर्ने बताइन् । ‘मेलमिलापबाट छिटो, छरितो र सजिलोसँग विवाद समाधान हुन सक्ने भए पनि कतिपय व्यावसायिक विवादलाई अनावश्यक रूपमा अदालतसम्म पु¥याउने, विवादलाई इज्जत र प्रतिष्ठाको विषय बनाउने प्रवृत्तिले गर्दा विवादित पक्षले निकै ठूलो नोक्सानि बेहोर्नुपरेको छ,’ उनले भनिन्, ‘व्यावसायिक मेलमिलापलाई विवाद समाधानको महŒवपूर्ण माध्यमको रूपमा निजी क्षेत्रले स्वीकार गर्नुपर्छ ।’

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यावसायिक, आर्थिक कारोबार गर्ने पक्षबीच उत्पन्न हुने विवाद समाधानमा महासंघमा स्थापित केन्द्रलाई प्रभावकारी ढंगमा अघि बढाउने प्रतिबद्धता जनाए । व्यावसायिक मेलमिलाप निजी क्षेत्रको लागि महŒवपूर्ण सरोकारको विषय भए पनि यो पद्धतिलाई व्यापक रूपमा प्रयोग गर्न निजी क्षेत्रमाझ लैजाने योजनामा रहेको समेत उनले बताए ।
 

प्रकाशित: २७ कार्तिक २०७६ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App