coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दाङकाे चुनावी रणनीतिमा ‘स्थायी राजधानी’

दाङ – प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७४ का बेला सबै दलको एक मात्रै बलियो अजेन्डा स्थापित भयो ‘प्रदेश ५ को राजधानी दाङ।’ हरेक दृष्टिकोणले दाङ राजधानीका लागि उपयुक्त रहेको भन्दै राजधानीका लागि आफूलाई बढी शक्तिशाली देखाउने होड त्यो बेला दलहरूबीच चल्यो।

जनताको मत बटुल्न बलियो अस्त्र बनाइएको यो अजेन्डाबारे दलहरूले गरेको वाचाप्रति मतदाता अधिक विश्वस्त बने। राजधानीको दलीय अजेन्डाकै कारण कुन दलले राजधानी दाङ ल्याउन सक्छ भन्ने मूल्यांकनका आधारमा पनि मतदाता आफूलाई ‘राजधानीवासी’ बनाइदिनसक्ने दल छान्ने निर्णयमा पुगे। राजधानीलाई मुल अजेन्डाका रूपमा मतदातालाई ‘पासा’ फ्याँकेर चुनिएका जनप्रतिनिधि त्यतिबेला मतदाताको नजरबाट केही टाढा बने, जतिबेला अस्थायी राजधानी बुटवल तोकियो। झूठो आश्वासन दिएर आफूहरूलाई चुनाव जित्ने भ-याङ मात्रै बनाएको महसुस गरेका दंगालीले यहाँबाट निर्वाचित हेभिवेटको पुत्ला दहनसम्म गरेका थिए।

बुटवल अस्थायी राजधानी घोषणापछि साम्य बन्दै गएको ‘दाङ राजधानी’को मुद्दाप्रति मतदाताको आशा मत्थर बन्दै गइरहेको थियो। तर अहिले १४ मंसिरमा जिल्ला क्षेत्र नम्बर ३(ख) मा हुने उपनिर्वाचन लक्षित गर्दै दलहरूले मतदातालाई फेरि राजधानीको आश्वासन बाँड्न थालिसकेका छन्। चुनावमा होमिएका दललाई यही राजधानीको नाराले आफ्नो पक्षमा बलियो जनमत बटुल्न सकिन्छ भन्ने लागेको छ।

राजधानीको अजेन्डाबाटै आममतदाताको भोट तानेको नेकपाले यसपटक पनि राजधानीकै अजेन्डा आममतदातासमक्ष स्थापित गर्ने रणनीतिमा देखिन्छ।

उम्मेदवारी दर्ताको अघिल्लो दिन जिल्ला आएका नेकपाका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दाङलाई प्रदेश राजधानीको उच्च सम्भावित जिल्लाका रूपमा उभ्याइदिए। आफूलाई दाङ पहिलेदेखि औधी मन पर्ने जिल्ला भन्दै दाहालले जहिल्यै दाङका लागि आफू चिन्तित रहने र प्रदेशको केन्द्र यही जिल्ला नै बनाउन लागिपरेको बताए। ‘दाङलाई प्रदेशको केन्द्र बनाउने सवालमा म जहिले पनि लागि पर्दै आँए र अहिले पनि लागिरहेकै छु,’ उनले भने, ‘दाङ प्रदेशको केन्द्र बन्नेमा विश्वास पनि दिलाउँछु।’ उनीसँगै रहेका मुख्यमन्त्री शंकर पोखरेललाई पनि पहलकदमीका लागि अग्रसर हुन दाहालले आग्रहसमेत गरे। मुख्यमन्त्री पाखरेल हाँसे मात्रै। पोखरेलले केही समययता राजधानीबारे चुँइक्कसम्म बोल्न छोडेका छन्। उपचुनावको मुखैमा नेकपाका अध्यक्ष दाहालले दाङलाई राजधानीको उच्च सम्भावित जिल्लाका रूपमा औँल्याइनुलाई चुनावमा भोट माग्ने अस्त्रका रूपमा बुझ्न गाह्रो परेन। चुनावको मुखैमा गरिएको खोक्रो आश्वासन भन्दै दाहालको अभिव्यक्तिलाई धेरैले ‘चुनावमा मत फकाउने दाउ’ भन्दै आलोचनासमेत गरे। प्रदेश ५ को राजधानीका लागि उनले विभिन्न स्थानमा दिएको फरकफरक धारणालाई लिएर दाहालले जिल्लामा चुनावी अजेन्डाका रूपमा मात्रै गलत धारणा राखेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो।

तत्कालीन नेपाली कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको भन्दै नेकपाले दाङ राजधानी नहुनुको दोष कांग्रेसमाथि थोपर्दै आएको छ। यसर्थ उसले यो उपचुनावमा पनि राजधानीको मुद्दामा कांग्रेसलाई दोषी देखाएर पुनः यही मुद्दा अघि सार्ने रणनीति बनाएको छ।

यता नेपाली कांग्रेसले पनि दुई वर्षपछि पुनः राजधानीको मुद्दा चुनावी अजेन्डाका रूपमा प्रस्तुत गर्ने भएको छ। राजधानीकै अजेन्डा बोकेर जनप्रतिनिधि चुनिएकाबाट दाङ राजधानी बन्न नसकेको प्रचार गरेर कांग्रेसले आफ्नो जितमा मात्रै त्यो सम्भव हुने र त्यसका लागि आफ्नो जित निर्विकल्प रहने भन्दै मतदाता फकाउने रणनीतिमा छ। नेपाली कांग्रेसबाट उम्मेदवार चुनिएका केशवराज शर्मा आचार्यले आफ्नो चुनावी अजेन्डा राजधानी रहेको बताए। ‘दाङलाई प्रदेशको राजधानी बनाउने पुराना बाचा बाचामै सीमित गराइए,’ उनले भने, ‘यसर्थ मेरो चुनावी अजेन्डा दाङ राजधानी हो, यो अजेन्डा साकार तुल्याउन म लागिपर्नेछु।’

प्रदेशसभामा कुनै एक भेगको पक्षमा दुईतिहाइ बहुमत जुट्ने अवस्था नहुँदा स्थायी राजधानी तोक्न असफल छ। यो सम्भावना नरहेपछि राजधानी र नामका लागि एक विशेष कार्यदलसमेत बन्यो। कार्यदलमार्फत भौगोलिक अवस्थाको अध्ययनका लागि अर्को विज्ञ समूह जन्माइयो। विज्ञ समूहले आफ्नो अध्ययन विशेष कार्यदलमा बुझाएपछि राजधानी र नामका लागि प्रक्रिया अघि बढ्ने बताइए पनि यो विज्ञ समूहले अहिलेसम्म आफ्नो अध्ययन प्रतिवेदन बुझाउन सकेको छैन। जबकी नाम र राजधानी सिफारिस गर्न बनेको कार्यदलको अवधिसमेत पूरा हुन थालिसकेको छ। ‘हामीहरुले तपार्इंहरूको प्रतिवेदन छिटो दिनुस् भनेर विज्ञ समूहलाई भनिरहेका छौँ, उहाँहरूले काम भइरहेको छ भनेर जानकारी दिनु भएको छ,’ विशेष कार्यदलका संयोजक प्रदेशसभा सदस्य दीपेन्द्र पुनले भने। ‘आशा छ कार्यदलको मंसिर महिनासम्म प्रतिवेदन आइपुग्नेछ।’

प्रकाशित: २७ कार्तिक २०७६ ०२:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App