coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कमलामा अद्भूत भूत मेला

कमला नदीको तटमा तन्त्र विद्या सिक्दै सिकाउँदै धामीझाक्रीहरु। तस्विरःमिथिलेश/नागरिक

सिरहा- 'पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी...’ यस्तैयस्तै आ-आफना इष्ट देवताकोको नाम फलाक्दै धामीझाँक्री मिर्दङ (मादल), झ्याली, ढोल पिपही जस्ता बाजाको तालमा कमला नदीमा सपथ ग्रहण गर्न पुगेका छन्।

धनुषा र सिरहा जिल्लाको सिमाना छुुट्याउने कमला नदीमा कात्तिक शुक्ल पुुर्णिमाको दिन स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ सोमबार रातीदेखि नै मधेसका गाउँगाउँबाट भूतमेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लागेको थियो। कतिपयले कात्त्तिक पूर्णिमाको पूर्वसन्ध्यामा सोमबार कमला नदीको तटमा पुगेर राति बास बसेका थिए। मंगलबार विहान कमला नदीमा स्नान गरेपछि तान्त्रीक विद्या सिद्ध हुने जनविश्वासका साथ उनीहरु घर फर्केका छन्।  

कमला नदीको किनारमा प्रत्येक वर्ष कात्तिक पूर्णिमामा अनौठो तथा भूतमेला लाग्ने गर्छ। धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगर लगायतका स्थानबाट ठूलो संख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गर्दछन्। धामी झाक्री बन्ने विश्वासका साथ उनीहरु देवता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेश्वरी देबीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वास छ।

पहेलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाँडा) र बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याइरहन्छन्। उनीहरु आफूमा आएको देवतालाई सिद्ध गर्न गंगा स्नान गर्न आएका बताउँछन्।

धामीझाँक्री मादल, करताल, झाइल र ढोल पिपहीको सुर र तालबीच यसको कर्कश स्वरले भय उत्पन्न हुने खालको वातावरण अनुभूति गर्न सकिन्छ। स्नानको समयमा मूलधामीले लोक भाकामा गीत समेत गाउने गर्छन्। जसलाई स्थानीय भाषामा ‘महराइ’ भन्ने गरिएको छ।

भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदी र गंगासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन्। मुल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ। तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन छ। मिथिलामा वर्षैंदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहदै आएको छ।

स्नानको समयमा मूल धामीहरुले लोक भाकामा गीत समेत गाउने गर्छन्। जसलाई स्थानीय भाषामा ‘महराई’ भनिन्छ। आफ्नो गाउँमा धामीहरुलाई डोर्‍याएर कमलामा स्नान गर्न ल्याएका सिरहाका धामी रामप्रसाद यादव शरिरमा देवता चढ्नेहरुलाई यहाँ ल्याउने गरिएको बताउँछन्।

तराईमा मन्त्र सिकाउने धामीलाई ‘भगता’ भन्ने गरिन्छ। पवित्र नदीमा प्रथम स्नान गर्ने धामी झाक्रीसँग आशिष थाप्ने श्रद्धालुहरुको संख्या पनि उल्लेखनीय रहने गरेका छन्। देवता खेल्दै आएका महिला पुरुषहरु कमला नदीमा स्नान गरी घर फर्किन्छन्। विशेषगरी ग्रामीण मधेसमा अझै पनि टुनामुनामा विश्वास गर्ने महिला पुरुषहरुको संख्या ठूलो रहेको छ।

 

प्रकाशित: २६ कार्तिक २०७६ १२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App