coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

कर्णाली जाने यात्रु अलपत्र

कोहलपुर- सिंगल इन्जिनका जहाज दुर्घटना बढेको भन्दै पर्यटन मन्त्रीको निर्देशन र क्याबिनेट बैठकले देशभर उडाउन रोक लगाएपछि कर्णालीका डोल्पा र हुम्लामा हवाई उडान महिना दिनदेखि ठप्प छन्। महिना दिनदेखि यात्रुले आवतजावत गर्न नपाउँदा सास्ती पाएका छन्। यसअघि सिंगल इन्जिनका जहाजले कार्गो र यात्रु दुवै ओसार्थे। तिनले यात्रु लिन बन्द गरेपछि हुम्ला र डोल्पाका यात्रु प्रत्यक्ष मारमा परेका छन्।
गत फागुन १४ गते कालीकोटमा एयर काष्टमण्डपको सिंगल इन्जिनको नाइन एनए जेबी कल साइनको जहाज दुर्घटनापछि पर्यटनमन्त्रीको निर्देशन र क्याबिनेट निर्णयले यात्रु बोक्न रोक लगाएको थियो। सिंगल इन्जिनका पाँचवटा जहाजले एक महिनादेखि यात्रु नबोकेपछि डोल्पा र हुम्ला ओहोरदोहोर गर्ने हजारौं यात्रु अलपत्र परेका छन्। नेपालगन्ज हुँदै कर्णालीमा गोमा एयरका दुई, मकालु एयरका दुई र काष्टमण्डपका एकसहित पाँचवटा सिंगल इन्जिनका जहाजले उडान भर्छन्। डबल इन्जिन भएको ताराको टुइनअटर एक र सिमि्रकको डोर्नियर एउटा जहाजले उडान गरिरहेका छन्। यी दुई जहाजमा ताराले मात्र डोल्पा र हुम्लामा दैनिक एक–एक उडान गर्छ।

सिमि्रकले बाजुरामा मात्र उडान गर्छ। नेपाल एयरलाइन्सले एक महिनादेखि कर्णाली अञ्चलमा जहाज उडाएको छैन। महिनौंदेखि हुम्ला र डोल्पा उड्न नपाउँदा हजारौं यात्रु अलपत्र परेका छन्। नेपालगन्जबाट डोल्पा जुफाल एयरपोर्ट पुग्न एक सातादेखि पालो कुर्दै आएका पदमबहादुर शाहीले जहाज नपाउँदा सयौंको संख्यामा सुरक्षाकर्मी, सरकारी कर्मचारी, सर्वसाधारण अलपत्र परेको बताए। 'विगतमा सिंगल इन्जिनका जहाजले सामान र यात्रु बोक्दा आवतजावतमा समस्या थिएन,' उनले भने, कालीकोटमा काष्टमण्डपको जहाज दुर्घटनापछि यात्रु लिन रोकिँदा असहज भयो।' तारा एयरले दैनिक डोल्पा र हुम्ला उडान गरे पनि त्यो पर्याप्त छैन। यो उडान नियमित छैन। सातामा दुईपटक कर्णालीका जिल्लामा उडान भर्ने नेपाल एयरलाइन्सले एक महिनादेखि उडान नगरेको यात्रुको भनाइ छ।

यस्तै सिमि्रक एयरले बाजुराबाहेक अन्यन्त्र उडान गरेको छैन। उडान नहुँदा एक महिनादेखि अलपत्र यात्रुलाई खान–बस्न समस्या परेको छ। दैनिक बिहान एयरपोर्टमा भीड लाग्ने गर्छ। राँझा विमानस्थलका कार्गो व्यवसायी डिल्ली रेग्मीले डोल्पा र हुम्लामा सिंगल इन्जिनका जहाजले यात्रु बोक्न छोडेसँगै यात्रुको चाप र भीड बढेको बताए। 'विगतमा दैनिक तारा, नेपाल एयरलाइन्स, गोमा, काष्टमण्डप, सिमि्रक र मकालुका सिंगल, टुइननटर, डोर्नियर उडान हुँदा अहिलेको जस्तो समस्या र सास्ती थिएन,' उनले भने, 'सरकारले अन्य विकल्प नसोचेर सिंगल इन्जिनका विमानको उडान रोक्दा महिनौंदेखि यात्रु अलपत्र छन्।' ताराबाहेक अन्य जहाजले डोल्पा र हुम्लामा यात्रु बोकेका छैनन्। सामान लिएर पुग्ने सिंगल इन्जिनका जहाज फर्कंदा रित्तै फर्कन्छन्। एकमात्र ताराको टिकट वैशाख १५ गतेसम्मको अग्रिम बुकिङ भइसकेको छ। यात्रुको खर्च रकम सकिँदा होटल बसाइ र आवतजावत कष्टकर बनेको छ।

मकालु एयर नेपालगन्जका स्टेसन इन्चार्ज चक्र रोकायले एक सातादेखि विमानस्थलमा यात्रुको चाप बढेको र उनीहरु उड्न नपाएको बताए। 'मौसम खराबीले एकमात्र ताराले पनि उडान गर्न पाएको छैन, नेपाल एयरलाइन्सको उडान बन्द छ,' उनले भने, 'भएका पाँचवटा सिंगल इन्जिन जहाजले कार्गोमात्र बोक्छन्।' काष्टमण्डप एयर दुर्घटना र सरकारले कार्गोबाहेक यात्रु बोक्न निषेध गरिएपछि यात्रु डोल्पा र हुम्ला जान नपाएको उनले बताए। यात्रुले सिंगल इन्जिनका जहाजमा बसेर भए पनि आवाजतवात गर्न पाउनुपर्ने माग राख्दै आएको र आफूहरुलाई दबाब दिने गरेको उनको भनाइ छ।

नेपाल एयरलाइन्स राँझा एयरपोर्ट स्टेसन प्रमुख तुल्सी उपाध्यायले पर्यटन मन्त्रालयको निर्णयपछि सिंगल इन्जिन जहाजबाट यात्रु बोक्न बन्द गरेयता डोल्पा, हुम्लासँगै कर्णाली अञ्चलमा यात्रुको चाप बढेको र असहजता सुरु भएको बताए। 'डोल्पामा बन्द एयरपोर्ट कालोपत्रेपछि खुलेको एक महिना भयो। तर नेपाल एयरलाइन्सको केन्द्रबाटै तालिका आएको छैन,' उनले भने, 'हुम्लामा साताको एक उडान छ, त्यो पर्याप्त छैन।' केन्द्रको सर्कुलर र तालिका अनुसार जहाज उडान भर्ने हुँदा कर्णाली अञ्चलमा सातादेखि उडान नियमित नहुँदा यात्रु समस्यामा छन्। कर्णाली अञ्चलका जुम्ला, मुगुमा सडक सञ्जाल पुगेकाले यात्रु गाडीबाट आवतजावत गर्छन्। डोल्पा र हुम्ला जाने एकमात्र उपाय हवाई सेवा नै हो।

प्रकाशित: ८ वैशाख २०७३ ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App