१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

लुम्बिनीमा साहित्यिक गोष्ठी

लुम्बिनी – प्रदेश नम्बर ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा राष्ट्रिय साहित्यिक गोष्ठी सुरु भएको छ। सोमबार लुम्बिनीमा प्रदेश वाङ्मय प्रतिष्ठानको सहयोगमा आयोजित गोष्ठीको उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले गरेका थिए।

कार्यक्रममा बोल्दै उनले साहित्यले समाजलाई सही दिशा दिने बताए। ‘लुम्बिनी र यस क्षेत्रसँग जोडिएका सबै क्षेत्रलाई विश्वसामु पस्कन नसके पनि प्रचारको थालनी गरेका छौं। यसको परिणाम राम्रो आउनेछ,’ उनले भने।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले गौतमबुद्धका वाणीहरुमा कथा, कविता र साहित्य भएकाले बौद्ध साहित्यमा कलम चलाउन साहित्यकारहरुलाई आग्रह गरेका थिए। प्रदेशसभा सदस्य फकरुद्धिन खानले साहित्यलाई लुम्बिनीको पर्यटनसँग जोडेर विकास गर्न जरुरी रहेको बताए। ‘लुम्बिनी आउने पर्यटकलाई यहाँको कला संस्कृति देखाउन सक्ने ठाउँ बनाउन आवश्यक रहेकाले प्रदेश सरकारले त्यसतर्फ ध्यान दिनुपर्छ,’ उनले भने। मन्त्रालयका सचिव राधा वाग्लेले साहित्यप्रति धेरैको अभिरुचि हुने भएकाले यसको मार्फत समाजमा सही जानकारी दिन सकिने बताइन्।

गोष्ठीमा ‘बौद्ध दर्शन र साहित्य’ शीर्षकको कार्यपत्र प्रस्तुत गरिएको थियो। कार्यपत्रमाथि संस्कृतिविद् राजेन्द्र आचार्य, हरि तिमिल्सिना र दामु मर्सिफुलले टिप्पणी गरेका थिए। ‘पर्यटन प्रवद्र्धनमा साहित्यको भूमिका’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक हिरण्यलाल ज्ञवालीले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव, लोकपरम्परा झल्कने खालको साहित्य सृजना गर्न सकिए पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए।

गोष्ठीमा साहित्यकार टंकनाथ ज्ञवालीद्वारा लिखित ‘मेरो देश’ नामक कविता संग्रह सार्वजनिक भएको थियो। दुई दिने गोष्ठीमा नेपालसहित सिक्किमका नेपाली भाषी साहित्यकारहरु कमल देवकोटा, गेहराज थापा, महानन्द ढकाल, कविता उपाध्याय, लक्ष्मी कोपिला, गोपाल पन्थी, कृष्णकला भण्डारी, लक्ष्मी ज्ञवाली, श्याम न्यौपाने, जीविका अश्रु र श्यामानन्द सिंह लगायतले कविता वाचन गरेका थिए।

प्रकाशित: २६ कार्तिक २०७६ ०५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App