८ वैशाख २०८१ शनिबार
अन्य

प्रकृतिप्रेमी समूहको १५० औं हाइकिङ

काठमाडौं – नेपालमा स्वास्थ्यबर्द्धक हाइकिङ गराउँदै आएको ललितपुरको प्रकृतिप्रेमी समूहले आफ्नो १५० औं हाइकिङ पुरा गरेको छ। उसले शनिबार दक्षिणी ललितपुरको तिप्चे झरना क्षेत्रमा आयोजना गरेको हाइकिङमा विभिन्न क्षेत्रका २३८ जना पदयात्री सहभागी भएका थिए।

समूहकी हाइकिङविज्ञ एवं ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक रामदेवी महर्जनका अनुसार शनिबारको हाइकिङ कोन्ज्योसोम गाउँपालिका–१ को सिंग भञ्ज्याङदेखि तिप्चे झरना, बाघभैरव, लाँकुरे भञ्ज्याङ, तल्लो फेदी हुँदै नल्लुसम्म करिब ११ किमि पदयात्रा गरेका हुन्।

यात्रामा पदयात्रीहरू पहेंलपुर तोरी बारी, गाउँले जीवनशैली, हरिया डाँडा र झरनाको सौन्दर्यमा रम्ने अबसर पाए। हाइकर्सले ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लेखिएको नीलो क्याप लगाएका थिए।

झरना क्षेत्रमा पदयात्रीलाई ढिँडो, सिस्नु, हरियो तरकारी, गुन्द्रुकको अचार र खुर्पानीको लालमोहन खुवाइएको थियो।

समूहले हरेक महिनाको चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ। ‘हामी जंक फुड र फास्टफुड खाँदैनौं र खुवाउँदैनौं’, महर्जनले भनिन्, ‘स्वास्थ्यका लागि गरिने पदयात्रामा स्वास्थ्यबर्धक खाना मात्र खुवाउँछौ।’  

आफ्नो स्वास्थ्य आफ्नै हातमा लिई सधैं उचित आहार, विहार र विचार जीवनमा लागु गरेमा सधैं निरोगी र आनन्दित रहन सकिन्छ भन्ने स्वास्थ्यको मुल मन्त्र फैलाउने उद्धेश्यले समूहले विगत १३ वर्षदेखि हाइकिङ गराउँदै आएको छ। समूहको हाइकिङमा घुमघामका साथै स्वस्थ कसरी रहने, खानपिन कसरी गर्ने भन्ने ज्ञान पनि पाइन्छ।

समूहको हाइकिङबाट स्थानीय वडाध्यक्ष गोपिलाल सिन्ताङ सहित गाउँलेहरू उत्साहित बनेका छन्। उनीहरूले पदयात्रीको स्वागत गरेका थिए। ‘हाम्रो गाउँपालिकालाई पर्यटन गन्तव्य बनाउन तपाइँहरूसँग हातेमालो गर्न चाहान्छौं’, सिन्ताङले भने, ‘हाम्रो गाउँपालिकामा घुम्न लायक धेरै ठाउँ छन्। फेरिफेरि आउनुस् है।’

प्रकाशित: २६ कार्तिक २०७६ ०४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App