४ वैशाख २०८१ मंगलबार
खेल

नेपालको फाइनल सम्भावना सहज

काठमाडौं – नेपालले बंगलादेशको ढाकामा जारी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा दोस्रो जित निकाल्दै फाइनलको यात्रा बलियो बनाएको छ।

सोमबार शाहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा सम्पन्न खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा स्तब्ध बनाउँदै नेपालले फाइनलको सम्भावनालाई सहज बनाएको हो। यसअघि पहिलो खेलमा पनि नेपालले अफगानिस्तामाथि सोझो सेटको सहज जित निकालेको थियो।

उपाधि लक्ष्यसहित ढाका गएको नेपाली टोली किर्गिस्तानलाई दबाबमा राख्न सफल भयो। पहिलो सेटमा सुरुआती चुनौती दिने प्रयास गरेको किर्गिस्तानले एक समय नेपालसँग ८–८ को बराबरी बनाएको थियो। यद्यपि, प्रतिभा मालीको उत्कृष्ट प्रदर्शनपछि नेपाल १८–८ को अग्रता लिन सफल भयो। अन्ततः उक्त सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै नेपालले किर्गिस्तानमाथि दबाब बनायो।

दोस्रो सेटमा भने किर्गिस्तानले चुनौती दिँदै नेपाललाई दबाब बनाउने प्रयास गरे पनि सफल हुन सकेन। प्रतिभा मालीको स्पाइकबाट दोस्रो सेटमा खाता खोले पनि नेपालले तालमेल गुमाउँदा दबाब बेहो¥यो। एक समयमा ११–८ को अग्रता लिएको नेपालले तालमेल गुमाउन पुगेपछि १२–११ ले पछि प¥यो। यद्यपि, नेपालले उक्त सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो। 

तेस्रो सेटमा पनि किर्गिस्तानले चुनौती दिने प्रयास गरे पनि सफल हुन सकेन। किर्गिस्तानका खेलाडीको स्पाइक बाहिरिँदा नेपालले यस सेटमा खाता खोल्दै अग्रता बनाएको थियो। तर, किर्गिस्तानले चुनौती दिँदै नेपालसँग १५–१५ को बराबरी ग¥यो। लगातारका दुई सेटमा सहज जित निकालेर उच्च मनोबलका साथ खेलेको नेपाली टोलीले तेस्रो सेटमा पनि उत्कृष्ट लयलाई यथावत् राख्यो।

तेस्रो सेटमा २५–२० ले आफ्नो पक्षमा बनाउँदै नेपालले सोझो सेटमा जित निश्चित ग¥यो। नेपालका प्रशिक्षक जगदीश भट्टले नियमित खेलाडी सरस्वती चौधरीलाई सुरुआती दुई सेटमा आराम दिएका थिए। तर तेस्रो सेटमा रेश्मा भण्डारीको स्थानमा सरस्वती कोर्टमा उत्रिएकी थिइन्। अरुणा शाहीको कप्तानीमा रहेको नेपालले मंगलबार आयोजक बंगलादेशको सामना गर्नेछ।

च्याम्पियनसिपमा मंगलबार दुई खेल हुनेछ। पहिलो खेलमा अफगानिस्तान र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ। नेपालले बंगलादेशलाई पराजित गरे अंकतालिकाको शीर्ष स्थानमा उक्लँदै फाइनल स्थान पक्का गर्नेछ। नेपालसहित आयोजक बंगलादेश र माल्दिभ्सले पनि फाइनल पुग्ने सम्भावना बलियो बनाएका छन्।

माल्दिभ्सले लगातार तेस्रो जित निकालेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा माल्दिभ्सले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानमाथि ३–० को सोझो सेटमा जित निकालेको हो। पराजित अफगानिस्तान भने अंकविहीन हुँदै च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ। ३ खेलबाट ८ अंकसहित माल्दिभ्स शीर्ष स्थानमा छ।

लगातार दुई खेलमा जित हात पारेको नेपाल ६ अंक जोडेर दोस्रो स्थानमा छ। ३ अंक रहेको आयोजक बंगलादेश तेस्रो तथा १ अंक जोडेको किर्गिस्तान चौथो स्थानमा छन्। तीन खेल नै खेलको अफगानिस्तानले अंकको खाता खोल्न सकेको छैन। नेपालले अन्तिम खेल माल्दिभ्ससँग बुधबार खेल्नेछ।

पाँच टोलीले सहभागिता जनाएको प्रतियोगिताको राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले बिहीबार उपाधिका लागि खेल्नेछन्। सोही दिन तेस्रो र चौथो स्थानको प्ले अफ हुनेछ। च्याम्पियनसिपका सबै खेल शहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा चलिरहेका छन्। नेपालले बंगलादेशलाई पराजित गरे अंकतालिकाको शीर्ष स्थानमा उक्लँदै फाइनल स्थान पक्का गर्नेछ। नेपालसहित आयोजक बंगलादेश र माल्दिभ्सले पनि फाइनल पुग्ने सम्भावना बलियो बनाएका छन्।

 

प्रकाशित: २६ कार्तिक २०७६ ०३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App