८ वैशाख २०८१ शनिबार
विचार

नेता र नेतृत्व

नारायण घिमिरे

सबैले सानोमा सुनेको र पढेको खरायो र कछुवाको कथा दोहो-याउन चाहन्छु। एक जंगलमा एउटा खरायो र कछुवा बस्थे। एक दिन खरायोलाई कछुवासँग दौड प्रतियोगिता गरी उसलाई हराएर आफूलाई अब्बल प्रमाणित गरी खिसी गर्ने सनक चढेछ। उसले कछुवालाई १००० मिटर दौड प्रतियोगितामा भाग लिन आमन्त्रण गरेछ। आफ्नो बालसखाले दिएको निमन्त्रणा कछुवाले सहर्ष स्वीकारेछ। दौड प्रतियोगिताको तिथिमिति तय भयो। कछुवा आफ्नो घरतिर लाग्यो।

एक दिन, दुई दिन बित्दै जाँदा प्रतियोगिताको दिन पनि आइहाल्यो। खरायो निकै तामझामका साथ सहभागी बन्यो। कछुवा आफ्नै पारा र मौलिकतामा झुल्कियो। पहिले नै खरायोले बनाएको दौड प्रतियोगिताको सुरुको विन्दुबाट दुवै दौडिने भए। जब सिठ्ठी बज्यो, खरायो यति बेसरी दौडियो कि आधा किलोमिटर पर पुगी हेर्दा कछुवा त सुरुवातको विन्दुको नजिकै घिस्रँदै आफूतर्फ आउँदै रहेछ।

खरायोलाई कछुवाको पारा देख्दा मनभित्रैबाट उसलाई गिज्याउन मन लाग्यो। कछुवा निकै टाढा रहेकाले चिच्याउँदासमेत नसुन्ने अवस्था थियो। कछुवा नजिकै आएपछि जिस्काउने, खिसी गर्ने नियतले एकछिन छेउकै रूखको फेदको छहारीमा खरायो आराम गर्दा निदाएछ। जब निद्रा खुल्यो उसले कछुवा अन्तिम विन्दु पार गरी खरायोलाई नै पर्खी बसेको देख्यो। दौड प्रतियोगिता कछुवाले जित्यो। आफैँलाई धिक्कार्दै खरायोले कछुवालाई विजयको पुरस्कार हस्तान्तरण ग-यो। खरायोको मनोविज्ञान बुझेको कछुवा हतार, हतास र विचलित यात्रा सुस्त तर अविरल यात्राबाट पराजित बनेको महसुस गर्दै थियो।

जहाँ जुन विषयमा जो व्यक्तिको क्षमता र खुबी अब्बल प्रमाणित हुन्छ उसैले आफ्नो खुबी अब्बल रहेको सीमाभित्र नेतृत्व लिएर टोली नेताको भूमिका खेल्नु जरुरी हुन्छ।

घर पुगेपछि खरायोले आफू अपमानित भएको महसुस ग¥यो। कछुवासँग फेरि त्यही दौड प्रतियोगितामा सहभागी भई जसरी पनि जितिछाड्ने अठोट ग¥यो। भोलिपल्ट बिहान झिसमिसेमै खरायो कछुवाकोमा पुगी अर्को दौड प्रतियोगिता गर्ने प्रस्ताव राख्यो। कछुवाले उक्त प्रस्ताव सहजै स्वीका-यो।

यसपटक भने द्रुत गतिमा दौडेको खरायो एकैपटक अन्तिम विन्दुमा पुगेपछि मात्र रोकियो। दौडको अन्तिम विन्दुमा कछुवा २ घण्टामा मात्र पुग्न सकेको थियो। खरायोले जीतको माला पहिरियो। निकै खुसी देखिएको खरायोलाई कछुवाले विजयको रात्रिभोज खुवायो। उच्च गतिको अविचलित यात्राले अविरल अविचलित सुस्त यात्रा सामु विजय प्राप्त गरेको महसुस गर्दै थियो कछुवा।

दुई दौड प्रतियोगिताको नतिजाको प्रभाव नजिकैबाट नियालिरहेको कछुवाको मनमा आफ्नो बालसखे खरायोलाई जीवन उपयोगी शिक्षा सिकाएर असल साथीको दायित्व पूरा गर्ने इच्छा जाग्यो। अर्को हप्ता बिहानै खरायोको निवासमा पुगेर पहिले भए÷गरेका दौड प्रतियोगिताभन्दा उन्नत प्रकृतिको दौड प्रतियोगिता पुनः आयोजना गर्ने प्रस्ताव राख्यो। उन्नत दौड प्रतियोगिता ११०० मिटरको थियो। १००० मिटर पार गरेपछि बीचमा ५० मिटरको नदी पार गरी अर्को ५० मिटर हिँडेपछि मात्र दौडको अन्तिम विन्दु आउँथ्यो। झन् लामो दूरीको दौड नयाँ तरिकाको उत्साहवर्धक हुने भन्दै कछुवाले खरायोलाई सहभागी बन्न आमन्त्रण दियो। खरायोले मिनेट पनि नसोची तुरुन्तै स्वीका-यो।

योजनाअनुसार फेरि तेस्रो दौड प्रतियोगिता आयोजना गरियो। दौड सुरु भएको छिनभरमै खरायो उच्च गतिमा नदी किनार पुगिहाल्यो। नदी किनार पुगेको खरायो आफ्नो पौडने कला नहुँदा कसरी अर्को किनारा पुग्ने भन्ने अलमलमा प¥यो। उपायको खोजी गर्दैगर्दा २ घण्टा बितिसक्यो ऊसको केही जोर चलेन। उक्त समयमा कछुवा आइपुग्यो र नदीमा हेलिएर पौडिएर सरासर नदी पार ग¥यो। अर्को आधा घण्टामा दौडको अन्तिम विन्दु पुगेर कछुवा विजयी बन्यो। खरायो तीनछक प¥यो। पहिलोचोटि खरायोले कछुवाको नयाँ खुबी महसुस ग¥यो जुन उसमा थिएन। कछुवाले भने समय र परिस्थितिअनुकूल जरुरी पर्ने सिपमूलक खुबीको अभावसामु विजय हासिल गरेको महसुस गर्दै थियो।

कछुवाको खुबीप्रति आकर्षित बनेको खरायो कछुवासँग मिलेर उक्त दौड प्रतियोगिताको पुनरावलोकन गर्न कस्सियो। मात्र १५ मिनेटमा १ किलोमिटर पार गरेको खरायो पौडने क्षमताको अभावमा नदी पार गर्न सकेन। नदी पार हुनासाथ २ मिनेट पनि नलाग्ने दूरीको दौड खरायोले अन्तिम विन्दुसम्म पनि पुग्न नसकेर हार्नुप¥यो। यता कछुवाले नदी त मात्र २ मिनेटमा पार गरेको थियो। जमिनमा भने पुरै २ घण्टा र पारि आधा घण्टा लाग्यो। जम्मा २ घण्टा ३२ मिनेट लगाएरै किन नहोस्, कछुवाले विजयको ताज भने पहिरिन पाएको थियो।

यो यथार्थता बुझेको खरायोलाई कछुवाले फेरि एकपटक उक्त दौड प्रतियोगितामा पुनः भाग लिन अनुरोध गर्दै भन्यो– साथी हामी ३ पटकसम्म दौड प्रतियोगितामा भाग लियौँ। हाम्रा प्रत्येक प्रतियोगिता एकअर्काविरुद्ध लक्षित थिए। हामी फेरि एकपटक यो दौड प्रतियोगितामा पुनः भाग लिउँ। यसपटक भने एकअर्काविरुद्ध लक्षित हैन, दुवै मिलेर दौडौँ। एक अर्काको सहकार्यमूलक। हेरौँ के नतिजा हात लाग्छ। कछुवाको अनुरोधले खरायो ो मन छोयो। एकापसमा विरुद्ध हैन, सहकार्यमूलक दौडमा मिलेर सहभागी हुन दुवै मैदानमा उत्रे।

जमिनमा कछुवा सुस्त देखियो। खरायोले कछुवालाई पीठमा बोकेर दौड्यो। २० मिनेटमा दुवै नदी किनार पुगे। नदीमा कछुवाले खरायोलाई बोक्यो। ३ मिनेटमा दुवै नदी पार भए। पारि पुगेपछि फेरि खरायोले कछुवालाई बोक्यो। २ मिनेटमै दुवै अन्तिम विन्दु पुग्न सके। खरायोका लागि असम्भव देखिएको यात्रा सम्भव बन्यो। कछुवाका लागि २ घण्टा ३२ मिनेट लाग्ने यात्रा मात्र २५ मिनेटमा पूरा हुन पुग्यो। दुवैले केही गुमाए तर दुवैले जीते। दुवैको फाइदाको पक्षमा नतिजा आयो। दुवैको जीतमा कछुवा र खरायो दुवै निकै खुसी देखिए। खुसीमा एक अर्कोलाई लामो समय अँगालोमा बाँधिरहे। उक्त दिन त साँझ पनि तुरुन्तै परेजस्तो भयो। गहु्रँगो मन लिएर दुवै आपसमा बिदा भएर आआफ्नो घर लागे।

साँझ कछुवा गहिरो सोचमा डुब्न पुग्यो। घमण्डले हैन सहयात्रामा जीवन सुखी र सफल बन्छ। नेता र नेतृत्वको गहिरो अर्थ यसैभित्र छ। संसारको निर्माण नै यसरी भएको छ कि कुनै निश्चित ठाउँमा निश्चित व्यक्तिको निश्चित क्षमता तुलनात्मकरूपमा अर्कोको भन्दा बढी प्रभावकारी हुने गरी उपयोगमा आउँछ। जमिनमा कुद्ने खरायोको खुबी थियो। उसले जमिनको यात्राको नेतृत्व लियो। टोली नेता बन्यो। पानीमा पौडन सक्ने कछुवाको क्षमता र खुबी रहेकाले पानीमा उसले नै नेतृत्व लियो। टोली नेता बन्यो।

सबै ठाउँमा एउटै व्यक्तिको क्षमता र खुबी सधैँ अब्बल रहने परिस्थिति हुँदैन वा सम्भव हुँदैन। जहाँ जुन विषयमा जो व्यक्तिको क्षमता र खुबी अब्बल प्रमाणित हुन्छ उसैले आफ्नो खुबी अब्बल रहेको सीमाभित्र नेतृत्व लिएर टोली नेताको भूमिका खेल्नु जरुरी हुन्छ। अन्यथा उक्त यात्राको नेतृत्व गर्नेहरू त हार्छन् नै। अक्षम नेतृत्वले उक्त यात्रामा सहभागी सम्पूर्णलाई नै भड्खालोमा जाकिदिन्छ। सामाजिक कार्यमा यस्ता कुरामा ध्यान पुग्न सकेन भने सम्पूर्ण समाज नै पीडित बन्छ। यस्तै सोच्दासोच्दै कछुवा भुसुक्कै निदाएछ। कछुवा घुर्दै थियो– क्वार्र...।
(क्यानडा निवासी खाद्य वैज्ञानिक।)

प्रकाशित: २६ कार्तिक २०७६ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App