१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

सम्बन्ध विच्छेद र महिला

लक्ष्मी सापकोटा

यो संसार सम्बन्धहरूमै अडेको छ। त्यसैले भनिन्छ– ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गो। त्यत्तिकैमहŒवपूर्ण र सान्निध्यपूर्ण मानिन्छ श्रीमान् र श्रीमतीको सम्बन्ध। तर यस्तो गहन सम्बन्धमा पनि सङ्कट उत्पन्न भइदिन्छ। अनि अनेकौँ कारणले टुट्न पुग्छ। सम्बन्धहरु तोडिनुभन्दा जोडिनु नै धेरै राम्रो कुरा हो। एउटा महिला र पुरुषको विवाह हुनु भनेको ती एक महिला र एक पुरुषको सम्बन्ध जोडिनुमात्र होइन, त्यहाँ त परिवार–परिवारको सम्बन्ध पनि जोडिन्छ। कहिले कहिले त यस्तो विवाहले राष्ट्र–राष्ट्रबीचनै सम्बन्ध जोडिन्छ।सीता र रामको विवाहले नेपाल र भारतको सम्बन्धमा प्रगाढता ल्याएको थियो र छ। त्यस्तै भृकुटी र स्रोङचङ गम्पोको विवाहले नेपाल र चीनबिचको सम्बन्धलाई सुमधुर र दिगो बनाएको इतिहास पनि हाम्रासामु छ।

विवाह भएपछि सानातिना वादविवाद हुन सक्छन्। जसलाई आफैँ समाधान गर्नुपर्छ। यस्ता वादविवादको निष्कर्षकेवल सम्बन्ध विच्छेद बनाउनुहुँदैन। तर चाहँदा चाहँदै पनि परिस्थितिवश कतिपयको वैवाहिक सम्बन्ध वा दाम्पत्य जीवन सुखद् र सफल नहुन सक्छ।त्यस्तो अवस्था कायम रहिरहनु दुवैको जीवनका लागि प्रत्युत्पादक हुन जान्छ। त्यसैले पति र पत्नी एकापसमा विवाहबाट मुक्त हुन सक्छन्। परिणामतः पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति पत्नीको सम्बन्ध विच्छेद गर्न सक्छन्।

कानुनअनुसार पतिले पत्नीसँग सम्बन्ध विच्छेद गर्न सक्ने अवस्था यसप्रकार छन्– यदि कानुनबमोजिम अंश लिइ वा मानो छुट्टिइ पति पत्नी भिन्न बसेको अवस्थामाबाहेक पत्नीले पतिको मन्जुरी नलिइ लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अङ्गभङ्ग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा वा पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा।

विवाह भएपछि सानातिना वादविवाद हुन सक्छन्। जसलाई आफैँ समाधान गर्नुपर्छ। यस्ता वादविवादको निष्कर्ष केवल सम्बन्ध विच्छेद बनाउनुहुँदैन।

त्यस्तै निम्न अवस्थामा पत्नीले पतिसँग सम्बन्ध विच्छेद गर्न सक्छिन्– यदि कानुनबमोजिम अंश लिइ वा मानो छुट्टिइ पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मन्जुरी नलिइ लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पतिले पत्नीको अङ्गभङ्ग हुने वा अरु कुनै ठुलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पतिले अर्को विवाह गरेमा, पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा र पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा।

यदि पतिको कारणबाट पति पत्नीबिच सम्बन्ध विच्छेद हुने अवस्था आएको रहेछ भने अदालतले सम्बन्ध विच्छेद गर्नुअघि पत्नीको अंश छुट्याइ अंशबन्डा गरिदिन्छ। यदि बन्डा नगरीकन एकमुष्ठ रकम वा खर्च भराइ मागदाबी राखेमा अदालतले पतिको सम्पत्ति वा आम्दानीको आधारमा त्यस्ती पत्नीलाई एकमुष्ठ रकम दिलाइदिन वा वार्षिक वा मासिकरूपमा रकम वा खर्च भराइदिन सक्छ।यस व्यवस्थाले पत्नीलाई सम्बन्ध विच्छेद हुनेबित्तिकैको परिस्थतिलाई राहत मिल्छ किनकि अझै हाम्रो समाजमा सम्बन्ध विच्छेद भएर आएकी छोरीलाई छोरासरह अंश दिने चलन छैन।साथै पत्नीको कारणबाट पति पत्नीबिच सम्बन्ध विच्छेद हुने अवस्था आएको रहेछ भने पतिले पत्नीलाई अंश दिनुनपर्ने व्यवस्था छ। यस व्यवस्थाले पुरुषलाई केही राहत मिलेको छ।

हाम्रो समाजले सम्बन्ध विच्छेदलाई धेरै अघिसम्म कल्पना गरेको थिएन। त्यसैले पतिको बहुविवाह हुँदा पनि पत्नीसँगै बस्थिन्। जति अन्याय भए पनि सहेर बस्थिन्।हाम्रो समाजमा घर गरेर खानुपर्छ भन्ने चलन अझ पनि छ। ‘पाले पुण्य ः मारे पाप’ भनेर बाबुआमाले छोरीलाई विवाह गरेर दिने चलन थियो। साथै छोरी मरेपछि माइतीले लास जलाउन नहुने, उनलाई विवाह गरेर दिएको घर अर्थात् पतिको घरबाट दागबत्ती दिनुपर्छ भन्ने भनाइ र प्रचलन थियो र धेरै ठाउँमा अहिले पनि छ। तर पछिल्लो समय अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढेको देखिएको छ।

सर्वोच्चअदालतको वार्षिक प्रतिवेदन २०७३÷०७४ अनुसार काठमाडौँ जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा२,४३९ फछ्र्यौट भएका थिए र बाँकी १५२ मुद्दा थिए। सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन २०७४/२०७५ अनुसार सबैभन्दा बढी मुद्दाहुने जिल्ला अदालतमध्ये काठमाडौं जिल्ला अदालत हो। जसमासम्बन्ध विच्छेदको मुद्दा २०७४/०७५ मा २,८६३ पछ्र्यौट भएका छन् र बाँकी ६२९ छन्।

झन् २०७५ भदौदेखि नयाँ कानुन मुलुकी देवानी संहिता २०७४ लागु भएको छ। सो कानुनको दफा ९६ बमोजिम सम्बन्ध विच्छेद गर्न चाहने महिला पुरुष दुवैले जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गर्न सक्ने प्रावधान छ। पहिले पुरानो कानुनअनुसार महिलाले मात्र सिधै जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गर्न सक्ने प्रावधान थियो। र, मुलुकी देवानी संहिता २०७४, दफा ९८ बमोजिम यदि पति पत्नीबीच मेलमिलाप हुन नसकेमा सम्बन्ध विच्छेदको मुद्दा परेको १ वर्षपछि अदालतले सम्बन्ध विच्छेद गराइदिने व्यवस्था छ। पुरुषले पनि अदालतबाटनै सम्बन्ध विच्छेद गराउन सक्ने कानुनी व्यवस्था भएकाले सम्बन्ध विच्छेदको मुद्दा बढ्ने अनुमान छ।

महिला सधैँपीडित हुन्छिन् र पुरुष सधँै पीडक हुन्छन् भन्नु गलत हो। केही सम्बन्ध विच्छेदको मुद्दामा पुरुष पीडित र महिला पीडक त केही सम्बन्ध विच्छेदको मुद्दामा महिला पीडित र पुरुष पीडक हुन सक्छिन्। अनि कहिलेकाहीँ महिला पुरुष दुवैजना पीडित, पीडक हुन सक्छन्। नेपालको संविधानले महिला पुरुष समान हो भनी समानताको हकले उल्लेख गरिरहेकै छ, महिलालाई पुरुष समान व्यवहार गर्नुपर्छ भनी उल्लेख गरेको छ। साथै धेरै ठाउँमा सकारात्मक विभेदका आधारमा महिलालाई आरक्षणको सुविधासमेत छ।

सम्बन्ध विच्छेद हुँदा असर महिला पुरुष दुवैलाई हुन्छ तर अनुपातमा भन्नुपर्दा महिलालाई अझ बढी असर पर्छ। कारण सम्बन्ध विच्छेद भएपनि पुरुष आफ्नै घरमा बस्छन् तर महिला कि माइत कि अन्यन्त्र जानुपर्ने हुन्छ। धेरै महिला आफू जन्मेको घर, आफ्नो बाबु आमाको घर वा आफ््नो माइतीको सहारा खोज्छन्। महिलाको थर परिवर्तन हुन्छ, सम्बन्ध परिवर्तन हुन्छ। त्यस्तै सम्बन्ध विच्छेद गर्ने पति पत्नीका छोरा/छोरी रहेछन् भने धेरैको आमासँगनै बस्छन्। सम्बन्ध विच्छेद भएकी महिलालाई ‘विचरी’, ‘च्व् च्व्’ जस्ता शब्द जोडेर कुरा काट्ने गरिन्छ। समाजमा अझ पनि महिलाको गल्ती देखाउने चलन छ र कहिले त महिलाई समाजमा बाँच्न पनि मुस्किल परेको अवस्थापनि देखिँदै आएको छ।

हामी कानुनीरूपमा समानतायुक्त भए तापनि समाजिक व्यवहारमा अझै पनि समस्यामुक्त भइसकेका छैनौँ। सम्बन्ध विच्छेदकै सवालमा, सम्बन्ध विच्छेदपछि पुरुषभन्दा महिलालाई नै बढी कष्टपूर्ण र चुनौती रहिरहन्छन्। त्यस्ता महिलाले आशातीत र सहज किसिमले उन्नति तथा जीवन सञ्चानल गर्न सकेका उल्लेख्य उदाहरण ज्यादै न्यून छन्। उनीहरूले दुःख र पीडा नै भोग्नुपरेका धेरै उदाहरण हामीले देख्दै÷भोग्दै आइरहेका छौँ। त्यसैले सम्बन्ध विच्छेद भएकी महिलालाई घृणा हैन, प्रोत्साहन गर्नुपर्छ। सहयोग गर्नुपर्छ र खासगरी माइती पक्षले हरकुरामा ढाडस दिनुपर्छ।
उपप्रा. काठमाडौ स्कुल अफ ल

प्रकाशित: २६ कार्तिक २०७६ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App