coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चरिकोट–खाडीचौर सडक अलपत्र

ठेकेदारको चरम लापरबाही र ढिलासुस्तीले अलपत्र परेको खाडीचौर–चरिकोट सडक।

दोलखा – सरकारी ताकेतालाई बेवास्ता गर्दै निर्माण कम्पनी काममा नर्फकेका कारण चरिकोट–खाडीचौर सडक अलपत्र बनेको छ। सडक विभाग, सडक विस्तार आयोजना र जिल्लाका सरोकारवाला निकायसहित जनप्रतिनिधिले  काममा फर्किन पटक पटक ताकेता गरे पनि दोस्रो खण्डअन्तर्गत मुडे–चरिकोट क्षेत्रको निर्माण कम्पनी काममा फर्किएको छैन।

‘वर्षात सकिएर मध्य हिउँद पुग्न लागिसक्यो,’ आयोजनाका एक अधिकारीले भने, ‘तपाईंकै कारण ठूलो क्षति भइसक्यो, काममा फर्किनुस् भन्दा मान्दैनन्।’ ती अधिकारीका अनुसार राजधानीलाई दोलखासँग जोड्ने यो सडकमा चरम लापरबाही भएको विषयमा उच्च नेतृत्व तहबाट दबाब आउदा पनि निर्माण कम्पनी काममा फर्किने छाँटकाट देखाएको छैन।

सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखा सदरमुकाम चरिकोट हुँदै पर्यटकीय नगरी जिरीसम्म स्विस सरकारले ४० वर्षअघि बनाएको लामोसाँघु–जिरी सडक विस्तार गरेर दोहोरो लेनको बनाउने भन्दै सरकारले भारतीय एक्जिम बैंकको ऋण सहयोगमा पाँच वर्षअघि पहिलो चरणमा खाडीचौर बजारदेखि चरिकोटसम्म ठेक्का लगाएको थियो।

दुई प्याकेजमा ठेक्का लागेको यो खण्डको पहिलो प्याकेजअन्तर्गत खाडीचौरदेखि मुडेसम्म निर्माण गर्ने ठेकेदार कम्पनीले २५ मध्ये १३ किलोमिटर सडक कालोपत्रे गरिसकेको छ। भारतीय ठेकेदारसहित दुईवटा नेपाली ठेकेदारले साझेदारीमा लिएको यो ठेक्कामा नेपाली कम्पनी गौरीपार्वती निर्माण सेवाले काम गरिरहेको छ। उसको कामसमेत सुस्त छ।

यता दोस्रो प्याकेजअन्तर्गत मुडेदेखि चरिकोटसम्मको ३० किलोमिटर खण्डमा भने ठेकेदार कम्पनीले वर्षातअघि नै काम छाडेर हिँडेका कारण अलपत्र छ। एक भारतीयसहित दुई नेपाली कम्पनीले पाएको यो ठेक्कामा शंकर माली निर्माण सेवाले काम गरिरहेको छ।

पटक पटक ताकेता गर्दा पनि शंकर माली काममा नफर्किएको आयोजनाका प्रमुख दिप बाराहीले बताए। ‘काममा फर्किनुस् भनेर ताकेता गरेको ग¥यै छु,’ उनले भने, ‘अर्को साताबाट काम थाल्छु भनेका छन्।’ यो खण्डमा काम नहुँदा सबैभन्दा बढी अस्तव्यस्त छ। यहाँ सडक पूर्वाधारका थुप्रै काम बाँकी छन्। यो खण्डमा ढिलाइ गरेवापत निर्माण कम्पनीले सडक विभागलाई जरिवानासमेत तिरिरहेको बाराहीले जानकारी दिए।

ठेकेदारको ढिलासुस्तीले जिल्ला आउने सडक अलपत्र पर्दा दोलखामा आक्रोश बढ्दो छ। ‘पाँच वर्ष हुन लागिसक्यो सडक यसरी अस्तव्यस्त भएको,’ चरिकोटका होटल व्यवसायी गणेश ठकुरीले भने, ‘पर्यटन, होटल, व्यापार व्यवसाय सबैमा ठूलो घाटा छ।’ उनले काम नगर्नेको ठेक्का तोडेर नयाँ र योग्य ठेकेदारलाई जिम्मा दिनुपर्ने बताए।

आयोजनाका अधिकारीले ठेक्का तोड्दा, ठेकेदारले काम नगर्दा, प्रक्रिया पु¥याएर नयाँ ठेकेदार छनोट गर्दाको समय र झन्झटका कारण झन सडक अलपत्र पर्छ भन्ने कुरामा आफूहरु सचेत रहेको सुनाए। ‘यो कम्पनीले कामै गरेन भने तोडेर कारबाही गर्ने र नयाँ छनोट गर्ने प्रक्रियामा जानुको विकल्प छैन,’ ती अधिकारीले भने, ‘तर त्यो अझ लामो प्रक्रिया हुने भएकाले सकभर यही मार्फत काम गराउने प्रयास गर्छौं, मान्दै नमाने अब कारर्बाही हुन्छ।’

प्रकाशित: २६ कार्तिक २०७६ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App