८ वैशाख २०८१ शनिबार
अर्थ

उद्योगी पक्राउमा निजी क्षेत्रको आपत्ति

काठमाडौं – नेपाल–चीन उद्योग वाणिज्य संघले वरिष्ठ उद्योगी तथा व्यापारी रुप ज्योतिको गिरफ्तारीप्रति आपत्ति जनाएको छ। संघले सोमबार विज्ञप्ति जारी गर्दै संघका सल्लाहकार तथा मुलुककै प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना ज्योति ग्रुपका उपाध्यक्ष रुप ज्योतिलाई विदेशबाट फर्कने क्रममा विमानस्थलबाटै पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

ज्योतिले नेपाल तथा चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापार प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएको संघले जनाएको छ। ‘एक प्रतिष्ठित उद्योगी, व्यापारी तथा मुलुककै ख्याति प्राप्त लगानीकर्ताप्रति भएको अमर्यादित व्यवहार खेदजनक छ,’ संघले भनेको छ, ‘उक्त कार्यबाट लगानीकर्ता हतोत्साहित भई निजी क्षेत्रमा नकारात्मक सन्देश प्रवाह भएको छ।’

संघले एक प्रतिष्ठित व्यवसायप्रिति राज्यबाट सम्मानजनक व्यवहार गर्न र विस्तारै तंग्रिन लागेको उद्योग, व्यापार तथा लगानीको वातावरणलाई नखल्बल्याउन भनेको छ।

त्यस्तै, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले संस्थाका पूर्वअध्यक्ष तथा ज्योति समूहका उपाध्यक्ष रुप ज्योति तथा उनकी पुत्री सुरुचिलाई आर्थिक लेनदेनको विषयलाई लिएर केही दिनअघि गरिएको गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

उद्योग, व्यवसाय गर्ने सन्दर्भमा गरिने सम्झौता एवं  आर्थिक कारोबारमा उत्पन्न हुने विवादको समाधान देवानी दायित्वअन्तर्गत अधिकारप्राप्त निकायबाट उपचार खोजी विवादको समाधान गर्ने विकल्प हुँदाहुँदै पनि पक्राउ गरी म्याद थप गर्ने, थुनामा राख्ने जस्ता काम हुँदा नेपालको समग्र निजी क्षेत्र हतोत्साहित भएको एसोसिएसनले जनाएको छ।

जाहेरीमा उल्लिखित व्यहोरा बमोजिम दुई पक्षबीच लेनदेन कारोबार भएको र पहिले नै विवाद भई सम्मानित अदालतमा धरौटी रकम समेत राखिसकेको अवस्थामा उनीहरुलाई थुनेर अनुसन्धान गर्नुपर्ने अवस्था नरहेको एसोसिएसनको भनाइ छ।

 

 

प्रकाशित: २६ कार्तिक २०७६ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App