८ वैशाख २०८१ शनिबार
समाज

संगठनलाई धोका दिएको भन्दै मेजरलाई ६ महिना कैद

काठमाडाैं – नेपाली सेनाले विदेश अध्ययनपश्चात पूर्वसर्तअनुसार संगठनमा हाजिर नभएको भन्दै प्राविधिक सेनानी(मेजर) रामचन्द्र तिवारीलाई कारबाही गरेको छ। जंगी अड्डामा गठित समरी जनरल सैनिक अदालतले उनलाई ६ महिना कैद सजाय सुनाएको हो। प्राविधिक सेनानीका रूपमा कार्यरत तिवारीले ०७३ मा दुई वर्ष बेतलवी बिदामा अध्ययनका लागि जापान गए पनि सर्तअनुसार हाजिर नभएको भन्दै सेनाले उनलाई कारबाही अघी बढाएको हो। आफूखुसी भगौडामा परेका उनलाई सेनाले गत भदौ ८ गते पक्राउ गरेको थियो। उनलाई सैनिक ऐन २०६३ अनुसार कारबाही गरिएको सेनाले जनाएको छ।

सेनानी तिवारीले नेपाली सेनाबाट प्राप्त हुने सेवासुविधा तथा सहुलियत लिईसकेपछि आफूअनुकूल जिम्मेवारी नपाएको भन्दै सैनिक संस्थालाई आरोप लगाउदै अर्काे संस्थामा काम गरेको सेनाको अरोप छ। सैनिक अदालतले तिवारीले नेपाली सेनामा कार्यरत अवस्थामा नै थापाथली इन्जिनियरिङ क्याम्पसमा विभागीय स्वीकृति नलिई व्यक्तिगत आर्थिक फाइदा हुने काम गरेको जनाएको छ।

उनले उक्त काम्पसमा पार्टटाइम रिसर्च सुपरभाइजर हुँदै २०७५ कात्तिकबाट प्राध्यापकमा स्थायी नियुक्ति लिएका थिए। उनीमाथि ‘भगौडा र अनुशासन तथा आचरणसम्बन्धी कसुरसमेत गरेको’ भन्दै दोषी ठहर गरिएको हो। सैनिक अदालतले यही कात्तिक १५ गते सैनिक ऐन २०६३ को दफा ४२ को उपदफा १ को खण्ड (ख) दफा ५२ को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा उनलाई दोषी ठहर गरेको हो।

उनलाई पक्राउ परेको मितिदेखि लागू हुनेगरी ६ महिना कैद गर्ने र भगौडा भएको मितिबाट लागू हुनेगरी भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको सेनाले जनाएको छ। सेनाले सैनिक सेवाबाट आफूखुसी भगौडा भएका जोकोहीलाई पनि कुनै पनि बेला पक्राउ गरी सैनिक ऐनबमोजिम कारबाही गर्ने जनाएको छ।

प्रकाशित: २६ कार्तिक २०७६ ०१:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App