८ वैशाख २०८१ शनिबार
समाज

उपचारको क्रममा युवतीको मृत्यु, मेडिकल कलेजमा तनाव

मृतक लक्ष्मी रसायली। तस्विर : नागरिक

पाल्पा- एपेन्डिक्सको अप्रेशनको क्रममा एक युवतीको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका–८, की १७ वर्षीय लक्ष्मी रसायलीको मृत्यु भएको हो। लुम्बिनी मेडिकल कलेज, पाल्पामा शनिबार उपचारका लागि आएकी युवतीको भैरहवा मेडिकल कलेजमा सोमबार मृत्यु भएको बताइएको छ।

उनको आइतबार लुम्बिनी मेडिकलमा अप्रेशन गरिएको थियो। मेडिकल कलेजमा अप्रेशन गर्दा नसाबाट ब्लिडिङ भैरहेका कारण थप उपचारका लागि भैरहवा लगिएको थियो तर उनीलाई बचाउन नसकिएको मेडिकल कलेजका प्रवक्ता कृष्ण पराजुलीले भने।

कलेजका वरिष्ठ सर्जन डा. राजकुमार क्षेत्रीले अप्रेशन गरेर एपेन्डिक्स निकालिएको बताए। उनी भन्छन्, ‘उहाँको नसाबाट रगत बगिरहेको रहेछ। बाहिरी पेट खोलेर एपेन्डिक्स निकालियो। नसा फूटेको थियो जसलाई हाम्रो पहलमा भैरहवा विशेषज्ञकोमा पुर्‍याउँदापनि सफल हुन सकेनौं।’

मृतकका आफन्तहरु मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको बताएका छन्। उनीहरुले कलेजले गरेको अप्रेशन सफल नभएर भैरहवा पुर्‍याउँदा मृत्यु भएको आरोप लगाए। मृतककी आमा रेश्मा विश्वकर्माले सामान्य पेट दुखेर अस्पतालमा ल्याउँदा छोरी गुमाउनु परेको बताइन्।

उनी भन्छिन्, ‘सामान्य अप्रेशन गर्न भनेर लगेकी छोरीमा अन्य समस्या देखियो भनेर डाक्टरले लापरवाही गरेका छन्, दोषीलाई कारवाही हुनुपर्छ।’ आफन्त टिकाराम विश्वकर्माले नसा फूटेको अप्रेशनका कारण हुनुपर्ने भन्दै पूर्व जानकारी नदिईएको बताए। ‘समस्या जटिल भएपछि भैरहवा लगियो। लैजाँदा आफन्तहरुसँगै जान दिईएन। डाक्टरहरुले नै एम्बुलेन्समा राखेर लैजानु भयो, विश्वकर्माले भने, साधारण एपेन्डिक्समा बिरामीको अप्रेशन जटिल बनाईएको छ।’

मृतकका आफन्तहरुको ठूलो समूहले लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै लुम्बिनी मेडिकल कलेजसँग न्यायको माग गरिरहेका छन्। मृतक लक्ष्मीको शव भैरहवा मेडिकल कलेज, रुपन्देहीमा रहेको छ। दुई पक्ष बीच वार्ताका माध्यमबाट समस्या समाधानका लागि छलफल भैरहेका लुम्बिनी मेडिकल कलेजका प्रवक्ता कृष्ण पराजुलीले बताए।

 

 

प्रकाशित: २५ कार्तिक २०७६ १२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App