वीरेन्द्रनगर- कर्णाली प्रदेशमा गलत संस्कार स्थापित भएका कारण गरिबी बढी देखिएकोे कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन्। संघसंस्थाको प्रवेशपछि यहाँ आर्थिक रूपमा गलत संस्कार बसेको उनले बताए।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको एक कार्यक्रममा उनले उक्त गलत संस्कारले गर्दा कर्णालीबासी गरिबीको भूमिकामा देखिएको बताए। कर्णालीबासी गरिब नभइ जबरजस्त गरिब भएको उनको भनाइ छ। ‘कर्णाली गरिब छैन’ उनले भने ‘कर्णालीलाई गरिब बनाइएको हो।’
‘ठुलठूला सुन लगाएर कर्णालीबासी हिँड्छन्,’ उनी भन्छन् ‘घरमा तामाको थालीमा खान्छन्, अन्नपानी, पानी तामाकै भाडामा राख्छन्।’ ‘यस्तो अवस्थामा कर्णाली र कर्णालीबासी कसरी गरिब भए,’उनले प्रश्न गर्दै भने, ‘संघसंस्थाले गर्दा कर्णालीबासीलाई माग्ने गराएका छन्।’
कर्णालीवासीको माग्ने हैसियत नभएको भन्दै जबरजस्त माग्न बाध्य भएको बताए। यस्तो संस्कार परिवर्तनका लागि कर्णाली प्रदेश सरकार लागिरहेको उनको भनाइ छ। ‘यसलाई नउल्टाएसम्म कर्णालीबासी माग्न छाडँ्दैनन्’ उनले भने ‘यसलाई उल्ट्याउन जरुरी छ।’ अर्काे फरक प्रसंगमा उनले कर्णालीमा भ्रष्टाचार व्याप्त रहेको बताए। ‘केन्द्र र प्रदेश सरकारले दिएको बजेट हेर्ने हो भने सबै जनताको घरघरमा सडक पुगिसक्नु पर्ने हो’ उनले भने ‘तर भ्रष्टाचारले गर्दा उपलब्धि देखिएन।’ भ्रष्टाचार अन्त्य नभएसम्म प्रदेश बनाउन समस्या हुने उनको भनाइ छ।
प्रकाशित: २५ कार्तिक २०७६ ११:३९ सोमबार